राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

पोखरा:    पोखरामा कारको ठक्करबाट मृत्यु  भएका एक पैदल यात्रीको दुईसाता बितिसक्दा पनि अझै सनाखत हुन सकेको छैन् । बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले दुईजना पैदल यात्रीलाई गत पुस ९ गते मध्यरातमा पस्र्याङचोकमा ठक्कर दिएको थियो ।  कारले पैदल यात्रीलाई ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो ।  कारको ठक्करबाट मृत्यु  भएका बागलुङको ढोरपाटन नगरपालिका घर भई पोखरा बस्ने ढालेन्द्र छन्त्यालको शव केही दिन पछाडि परिवारले बुझेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले सुनगाभा न्यूजलाई जानकारी दिए ।  यस्तै कारको ठक्करबाट मृत्यु  भएका अन्दाजी ३०/३५ वर्ष जस्तो देखिने पुरुषको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।   कारको ठक्करबाट मृत्यु  भएका पैदलय यात्रीको शव पोष्टमार्टम पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।     कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङले चलाएको  बा १३ च ३७२१ नम्बरको कारले गत पुस ९ गते मध्यरातामा दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो ।  पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौं:    नेपाल विद्युत् प्राधिकरणले बिजुली उपभोग गरेका उपभोक्तालाई बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउने सम्बन्धी सूचना निकालेर आजदेखि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर आवेदन दिन भनेको हो । प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ । डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहक र प्राधिकरणबीच बक्यौता विद्युत् महसुलको विवाद छ । प्राधिकरणले महसुल नबुझाउने उद्योगको विद्युत् लाइन काटेको छ । बक्यौता रहेका केही उद्योगले महसुल रकम बुझाउन थालेपछि उनीहरुको लाइन जोडिएको छ ।

इलाम:   इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए । ३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बेनी:    बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको बताउनुभयो । “अहिले आलु गोडमेल गरिरहेका छौँ, आगामी माघमा आलु खनेर बजार पठाउने तयारी छ, बोट राम्रो भएकाले फल पनि राम्रो हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो । सिङ्गाको डाँडाखेत, फुर्केसल्ला, राक्सेलगायतका बस्तीमा हिउँदे आलुको व्यावसायिक खेती गरिएको छ । जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष २०८०र०८१ मा जिल्लामा आठ सय रोपनी बढीमा हिउँदे आलुखेती गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत हिउँदे आलुुमा आत्मनिर्भर बनाउने तयारी गरेको हो । विगतका वर्षहरूमा गहुँ, जौँलगायतका खाद्य बाली लगाउने भए पनि यस वर्ष खायन आलु प्रवर्द्धन कार्यक्रमले किसानलाई अनुदान दिएपछि आलुखेतीलाई व्यावसायिकरूपमा लगाएको ठूलोखोकी अगुवा किसान मैना खड्काले बताउनुभयो । हिउँदमा आलुको आयात घटाउने र आत्मनिर्भर गराउने लक्ष्यअनुसार खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष हिउँदे आलुको खेती विस्तार गर्न २० वटा समूह र एक सहकारी खायन आलुको अनुदानका लागि छनोट भएका थिए । “म्याग्दी बर्खे आलुमा आत्मनिर्भर बनेर यहाँ उत्पादन भएको आलु बाहिर निकासी हुने गर्छ, अहिलेसम्म हिउँदको समयमा बाहिरका जिल्ला र भारतबाट समेत जिल्लामा आलु आयात हुँदै आएको छ, खायन आलु प्रवर्द्धन कार्यक्रमबाट अब हिउँदे आलुमा म्याग्दी आत्मनिर्भरोन्मुख बन्ने देखिएको छ”, उहाँले भन्नुभयो । यस कार्यक्रमअन्तर्गत जिल्लामा थप एक हजार रोपनीमा बर्खे आलुुखेती विस्तार हुनेछ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ र उपकरण खरिदमा प्रतिरोपनीमा रु १० हजारका दरले अनुदान दिएको कार्यालयले जनाएको छ ।  कार्यालयबाट खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत हिउँदे आलुमा बेनी नगरपालिका, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानले अनुदान पाएका छन् । बर्खे आलुमा रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेत समेटिने कार्यालयले जनाएको छ । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बीउ बाहिरबाट बढी ल्याउने गरेका छन् । बीउ आलुमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष २० रोपनीमा बीउ आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन भएको केन्द्र प्रमुख बाँस्तोलाले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा जिल्लामा छ दशमलव ३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको थियो । अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको सिङ्गा, भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् । जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको बर्खे आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बर्खे आलुमा उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको हो । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । 

काठमाडौं:   नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जीन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिए ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जीन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो ।  कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।  डा.प्रकाश बुढाथोकीले कोरोना संक्रमण फैलन नदिन भीडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गरेका छन् ।  मन्त्रालयले नयाँ सब भेरिएन्टको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरुमार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

बागलुङ:    बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोडको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र १० करोडको कारोबार भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।  सङ्घको आयोजनामा सम्पन्न भएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्पदाको उजागर गरिएको सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । महोत्सवमा एक सय २० व्यापारिक कक्ष, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री कक्ष तथा लुकेर रहेका पर्यटकीयस्थल चिनाउन फोटो प्रदर्शनी गरिएको थियो ।  महोत्सवमा घरेलु उत्पादन सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो, टिमुर, आलु, भुटेको मकै, अल्लोबाट उत्पादन गरिएको कपडा बिक्री गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन मुला, फर्सी, टमाटरलगायत कृषिउपजको प्रदर्शनी गरिएको थियो । “महोत्सवले निराशातर्फ गएको बागलुङको व्यापारलाई माथि उठायो, धेरै व्यापारिक कक्ष खाली नै हुनेगरी व्यापार भयो, बागलुङ बजार आसपासका क्षेत्रका नागरिकसमेत किनमेलका लागि आउनुभयो”, अध्यक्ष कँडेलले भन्नुभयो, “महोत्सवको आकर्षणका रूपमा फोटो प्रदर्शनी र स्थानीय उत्पादन प्रभावकारी रहे । महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, महोत्सवले बागलुङको पर्यटन र व्यापारमा एउटा इँटा थपेको छ ।” कोरोनापछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी भएको सङ्घका महासचिव ऋषिराम गौतमले जानकारी दिनुभयो । “मुख्य मञ्च, व्यापारिक कक्ष, रमाइलो मेलालगायतले धेरैलाई आकर्षण गरेको थियो, दुलही जस्तै सिँगारिएको बागलुङ बजारले व्यापार व्यवसायलाई फस्टाउन मद्दत गरेको थियो”, गौतमले भन्नुभयो, “महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा आयोजना गर्नु ऐतिहासिक उपलब्धि भएको छ ।” महोत्सवका अवसरमा खुला रिले दोहोरी तथा प्रत्यक्ष दोहोरी गीत प्रतियोगिता, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता सम्पन्न गरिएको छ । सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकम सदस्य कल्याणकारी कोषमा पाँच लाख जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रवृत्ति कोषमा सहयोग गरिने, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासङ्घको संस्थागत विकासमा सहयोग गरिने जनाइएको छ ।

काठमाडौं:     त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो । यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुुष्पकमल दाहाल प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज नहुनेगरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो । आज प्रकाशित भएको दोस्रो सूचनामा उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्तिबाट ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम १५ दिनभित्र दरखास्त दिन भनिएको छ ।  

काठमाडौं:   राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।   ७ वटै प्रदेश सदरमुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ बताइएकाे छ ।   यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् ।   कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।   निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।   उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ ।   आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।   यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।   मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ ।   यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

पोखरा:  म्याक्सन फोर डि स्टुडियोको चौथो प्रस्तुती मगर कथानक चलचित्र ‘मिसार’ पोखरामा दोस्रो पटक प्रदर्शन गरिएको छ । पोखराको बाराही हलमा शनिबार मगर कथानक चलचित्र ‘मिसार’ दोस्रो पटक  प्रदर्शन गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।  ‘म्याक्सन फोर डि स्टुडियो चौथो प्रस्तुती मगर कथानक चलचित्र मिसार गण्डकी प्रदेशको विभिन्न जिल्ला र स्थानमा प्रदर्शन गरेका छौं’, निर्देशक मगरले भने, ‘पोखरामा हामीले पहिले पनि प्रदर्शन गरेका थियौं, अहिले नेपाल मगर संघ कास्कीको समन्वयमा पुनः प्रर्दशन गरेका हौं ।’ उनले मिसार चलचित्रमा मगर समुदायको कला, संस्कृति, भेषभुषासँगै शिक्षा  र व्यवसायलाई समेटेको बताए ।  यता मगर चलचित्र संघका केन्द्रिय अध्यक्ष रहेका भिम रानामगरले मगर कथामा आधारित चलचित्रलाई अन्य चलचित्र जस्तै प्रचारप्रसारमा ध्यान दिन आवश्यक रहेको बताए ।  ‘जति पनि मगर कथामा आधारित चलचित्र बनेका छन्, सबै मगर समुदायमा मात्र केन्द्रित भएर प्रचारप्रसार गरिएको छ’, रानामगरले भने, ‘अन्य चलचित्र जस्तै सबै समुदायमा सम्म पुग्ने गरी चलचित्रको प्रसारप्रचार गर्न आवश्यक छ ।’ उनले मगर चलचित्रलाई नेपाली चलचित्रलाई जस्तै गरी प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राखे ।  ‘मगर समुदायमा आधारित चलचित्र भएपनि मेन स्ट्रिमको चलचित्रलाई जस्तै गरेर प्रमोसन गर्न आवश्यक देखिएको छ,’ उनले भने ।  चलचित्र मिसारको लेखन, छायांकन, सम्पादन र निर्देशनमा शेर बहादुर पिठा मगर ‘सन्तोष पिठाकोटे’ ले गरेका हुन् ।  मिवाट पिठाकोटे मगरको प्रस्तुती, भेष गुरुङ्ग र सुजन थापा मगरको सह–निर्देशन रहेका छन् । कलाकारहरु रबिन्द्र थापा मगर, देबेन्द्र थापा मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, भेष गुरुङ्ग, भेष बहदुर पिठाकोटे मगर रहेका छन् ।   त्यसैगरी कोट बहादुर बाचे मगर, निशा थापा मगर र पबित्रा थापा मगर लगायतका कलाकारहरु पनि अभिनय देख्न सकिन्छ ।  यस्तै कलाकारहरु पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ्ग, रेशम आले मगर, यम सारु मगर, उषा गुरुङ्गको स्वर रहेका छन् ।  नृत्य निर्देशनमा राहुल थापा मगर, सृर्जन थापा मगर, केशव आले मगर गोबिन्द पुन मगर रहनुभएको छ । छवि राना मगरको कलरिङ मिक्सिङ र डबिङ रहेको छ । चलचित्र निर्माण गोविन्द थापा मगर, सबिता थापा मगर, मस्राङी ब्रोदर्स हङकङ, कोट बहादुर बाचे मगर, मुक्त गुरुङ, प्रेममाया आले मगर र पबित्रा थापा मगरले गरेका हुन ।