पोखरा: सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गर्ने भएको छ । प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कार राशि नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्र छ । पोखरामा मंगलबारदेखि सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन अवसरमा फुटबल खेलाडी घलानलाई सम्मान गरिने क्लब अध्यक्ष केशवराज बरालले बताए । राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका वडा १८ का हुन् । निकै मेहनति उनले अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको छ । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् । माघ ९ देखि २० सम्म पोखरा रंगशालामा हुने यस वर्षको आहा रारा पोखरा गोल्डकपमा आयोजकसहित १२ टिमले भाग लिएका छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषदले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सम्बन्धित सङ्काय र अध्ययन संस्थानका डीन बसेर शैक्षिक क्यालेन्डर बनाइएको परिषद्का सदस्य सचिव एवम् परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक प्रणालीअन्तर्गत चार वर्षका लागि पहिलो वर्षको परीक्षा वि.सं.२०८१ भदौको दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ असोजको दोस्रो साता र परीक्षा २०८२ असारको दोस्रो साता तोकिएको छ । त्यस्तै तेस्रो वर्षको भर्ना २०८२ असारको दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ । यसैगरी स्नातक तहको सेमेष्टर प्रणाली अन्तर्गत पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा, दोस्रो सेमेष्टरको २०८१ असोज, तेस्रो सेमेष्टरको २०८१ चैत, चौथो सेमेष्टरको २०८२ भदौअसोजमा तोकिएको छ । स्नातक तर्फको पाँचौ सेमेष्टरको २०८२ चैतमा, छैटौँ सेमेष्टरको २०८३ असोज, सातौँ सेमेष्टरको २०८३ चैत र आठौँ सेमेष्टरको २०८४ असोजमा तोकिएको छ । स्नातकोत्तर तर्फको प्रथम सेमेष्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेष्टरको २०८१ माघ, तेस्रो सेमेष्टरको २०८२ असार र चौथो सेमेष्टरको २०८२ पुसमा तोकिएको परीक्षा नियन्त्रक जोशीले बताउनुभयो । सेमेष्टर र वार्षिक प्रणालीमा एक सय दिनभित्र नतिजा निकाल्ने गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
दैलेख: दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको भू–भागमा कति मात्रामा पेट्रोलियम पदार्थ र ग्यास छ भनेर अन्तिम अन्वेषणका लागि भैरवी गाउँपालिका–१ भिरखेतमा ४५ रोपनी जग्गा अधिग्रहण गरी स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको छ । अहिले उक्त क्षेत्रमा रिग हाउस अर्थात ड्रिल गर्ने मुख्य पोइन्ट निर्माणको ८० प्रतिशत काम सकिएको खानी तथा भूगर्व विभागका आयोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए । उनका अनुसार कामदार बस्ने क्याम्प लगायतका काम तीव्र गतिमा भइरहेका छन् । नेपालको दैलेखमा रहेको भू–भाग पेट्रोल र ग्यासको स्रोतका रुपमा विश्वकै महत्त्वपूर्ण स्थान हुनसक्ने अहिलेसम्मका अध्ययनले देखाएको प्रमुख नापितले जानकारी दिए । अन्तिम ड्रिलिङबाट के कति परिमाणमा ग्यास र पेट्रोल छ भनेर पत्ता लाग्ने जनाउँदै यसले देशकै आर्थिक अवस्था सुधार गर्ने महत्त्वपूर्ण स्रोत प्राप्त हुनेमा आशावादी भएको उनले बताए । नापितका अनुसार जमिनमुनि चार किलोमिटर डिल गरेर अध्ययन गरिने छ । “ड्रिलिङका लागि ठूलो मेसिन चीनबाट मागाइएका छ । त्यहाँबाट कलकत्ता बन्दरगाहासम्म आउन एक महिना लाग्दछ । कलकत्ताबाट १५ दिनभित्र दैलेख आइपुग्छ”, उनले भने । ठूला सवारीसाधन ल्याउनका लागि कर्णाली राजमार्ग र साँगेतडाको सडक निर्माण पनि तीव्र गतिमा भइरहेको आयोजना कार्यालयले जनाएको छ । दैलेखमा विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को काम सुरु भएको थियो । नेपाल सरकार, खानी तथा भूगर्व विभाग र चीनको जिओलोजिकल सर्वे कम्पनीबीच रू दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो । चीनको प्राविधिक टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटटेल्युरिक र जिओ केमिकल सर्वे सम्पन्न गरेपछि अन्वेषणका लागि थप बाटो खुलेको थियो । दैलेखको विभिन्न स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक जग्गाको मुआब्जा विवाद रहेकामा सोको समाधान गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए । भुषालको अगुवाइमा सबै पक्षसँग समन्वय गरेर समास्या समाधान गरिएको थियो । जिल्लामा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले भैरवी–१ भिरखेतका २७ घरपरिवारको ४५ रोपनी जग्गाका लागि प्रतिरोपनी रू एक लाख ७५ हजारका दरले मुआब्जा दिएर अधिग्रहण गरिसकेको छ ।
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् । हेर्नुहोस् परीक्षा तालिका
काठमाडौं: राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन । यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ । राष्ट्रिय सभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । ६ बर्से कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । २० जनाको कार्यकाल सकिए पनि एक जना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।
नवलपुर: नवलपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका–६ बिरुखर्क बस्ने ३३ वर्षीय शेरबहादुर लम्का मगर रहेका छन् । उनले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्कामगरको हत्या गरेको प्रहरीले जनाएको छ । शेरबहादुरले आफ्नै श्रीमतीलाई गएराति कोदालो र खुर्पा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । सो विषयमा अहिले थप अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ । उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।
पोखरा: वर्षदिनको मेसो पारेर शमशेर गुरुङ गाउँ फर्किरहन्थे । गाउँघरमा आफ्ना इस्टमित्र भेटेपछि फेरी उही काठमाडौं नै फर्कन्थे । काठमाडौंमा विभिन्न पेशा व्यवसाय सञ्चालन गरेर उतै भुलिरहेका थिए गुरुङ । तर अहिले उनै गुरुङ पोखरा महानगरपालिका १६ को रिंजे नाँसा (रन्जित गाउँ) मै भेटिन्छन् । यतिबेला उनलाई गाउँ ब्यूताउने मात लागेको छ । बसाइसराईले रित्तिएको गाउँमा पर्यटकको ओइरो लगाउने भुत चढेको छ । त्यसैले उनी अहिले रिंजे नाँसा होमस्टेको मालिक भएर दौडधुप गरिरहेका छन् । हरेकवर्षझैं उनी २०७५ सालमा गाउँ पुगेका थिए । त्यसपछि गुरुङलाई काठमाडौं फर्किन मन लागेन । घरको आँगन सिस्नु र तितेपातीले ढाकेको थियो जहाँ गुरुङ सानो छदा घाम तापेर पढ्ने गर्थे । ‘बसाइसराइले गाउँ रित्तो बनाएको सुनिन्थ्यो । अहिले रन्जित गाउँ पनि अछुतो रहन सकेन, गुरुङ भन्छन्, ‘पेशा व्यवसायकै कारण म पनि काठमाडौमा एक दशक बढी बिताए । हरेक वर्ष गाउँमा आइरहन्थे । त्यै २०७५ सालको कुरा हो, घरको आँगनमा पुरै पाती र झाँडीले कब्जा जमाएको देखे । त्यसपछि म गाउँघर ब्यूताउन भनेर यही बसे ।’ गुरुङले अहिले रिंजे नाँसामा होमस्टे सञ्चालन गरिरहेका छन् । पोखरा महानगरपालिका भित्रै पर्ने यस गाउँमा गुरुङ र तामाङ जातिको बसोबास छ । \ उनले गाउँ फर्किएपछि प्रचारप्रसार गर्ने लक्ष्यसहित गाउँ चिनारी गीत र चलचित्र समेत निर्माण गरे । यद्यपी सोचेजस्तो प्रतिफल पाइनन् । त्यसपछि होमस्टे सञ्चालन गरेको उनी बताउछन् । ‘गाउँबाट पैसा कमाउन म पनि शहर पसेको हो, पोखरादेखि काठमाडौंसम्म विभिन्न पेशा व्यवसाय सञ्चालन गरे । अलिअलि पैसा पनि कमाएर गाउँ फर्किए, उनी भन्छन्, ‘हामी विभिन्न देश विदेश गएर पैसा कमाउछौं अनि शहर नै रोज्छौं । अब पैसा कमाएर गाउँमा उत्पादनको स्रोत खोज्नु पर्छ भनेर होमस्टे सञ्चालन गरेको हुँ । पछिल्लो समय रिंजेनाँसाको प्रवद्र्धनमा यसले निकै सघाएको छ ।’ उनले होमस्टेसँगै बाँझो रहेको खेतबारीमा स्थानीय स्तरमा उत्पादन हुने अन्नवालीसमेत लगाउँदै आएका छन् । त्यहीबाट बनेका परिकारहरु होमस्टे पुगेका पाहुनालाई पस्किने गरेको उनी सुनाउछन् । ‘गाउँ रित्तिएपछि खेतबारी जम्मै बाँझो बन्यो, अहिले त्यहाँ कोदो, मकै, सागहरु रोप्ने गरेको छु, होमस्टेमा आउने पाहुनाहरुलाई त्यहीबाट बन्ने लोकल परिकारहरुको स्वाद चखाउने गरेको छु,’ उनले भने । युवाहरुलाई उत्पादनमा जोड्न कफी र किवी खेती बसाइसराईको कारण गाउँको खेतबारी सिस्नो र झाँडीले भरिन थालेपछि युवाहरुलाई उत्पादन र रोजगारमा जोड्न कफी र किवी खेतीको सुरुवात गरेको शमशेर बहादुर गुरुङ सुनाउँछन् । ‘युवाहरु विदेशीएसँगै शहर झर्दा गाउँको खेतबारी बाँझो पल्टिएको छ । युवाहरुलाई गाउँमै उत्पादन र रोजगारसँग जोड्न कफी र किवी खेतीको सुरुवात गरेका छौं, गुरुङ थप्छन्, ‘विदेशमा मास्टर डिग्री गरेर छोरो पनि यसै कफी र किवी खेतीमा जोडिएको छ ।’ गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय युवाहरुलाई रोजगारसँग जोड्न विभिन्न व्यवसायकोसमेत सुरुवात गरेको उनी बताउँछन् । ‘होमस्टे भनेको गाउँलाई उत्पादन र विकाससँग जोड्ने माध्यमको रुपमा बुझेको छु, उनी भन्छन्, ‘गाउँका युवाहरुलाई रोजगारसँग जोड्नका लागि बाख्रा पालनदेखि विभिन्न व्यवसायमा जोड्न प्रेरित गरेको छु ।’ गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनका लागि झरनामा क्यानोनिङ, गाउँमा साइकल लेनकोसमेत योजना रहेको छ । रिंजे नाँसा कसरी जाने ? पोखरा महानगरपालिका–१६ महेन्द्रगुफा बाट माथि उक्लेपछि रिंजे नाँसा पुग्न सकिन्छ । धार्मिक आस्था राख्ने र नयाँ पर्यटकीय ठाउँमा रमाउन चाहाने पर्यटकहरुका लागि रिंजेनाँसा नयाँ गन्तव्य बन्न सक्छ । जहाँ जान महेन्द्र गुफाबाट आधा घण्टाको बस यात्रापश्चात रिंजेनासा पुग्न सकिन्छ भने पैदल पनि जान सकिन्छ । पर्यटकका लागि सो गाउँमा मुलकोट भूमी मन्दिर र पार्केडाँडा नाँगीडाँडाबाट हिमशृङ्खलाको अवलोकन, मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । यस्तै धार्मिक आस्था राख्ने पर्यटकहरुका लागि होमस्टे नजिकै रहेको नौधारे सिद्ध बराह मन्दिरको पनि दर्शन गर्न सकिन्छ । जहाँ माघेसंक्रान्तिको दिन मेला र पुजासमेत हुने गर्छ ।
जनकपुरधाम: भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको उत्सवमा जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालेर उत्सव मनाउने तयारी गरिएको छ । प्राणप्रतिष्ठानको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा रहेको जानकी मन्दिरमा सवा लाख दियो बाल्न लागिएको हो । भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा भएको दिन आज बेलुका १ लाख २५ हजार दियो बाल्नुकासाथै विशेष आरतीको आयोजना गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । राम मन्दिरको उद्घाटन विशेष महत्त्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ । राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भगवान रामको ससुराली जनकपुरबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूललगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइ सकिएको छ। प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्त, साधुसन्त यसअघि नै अयोध्या पुगिसकेका छन् । यसैबीच, राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

