राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

पोखरा:   अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोडा सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोशाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा सोमबार देखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता समेत सुरु भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बेसलाईन एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ । बेसलाईन एकेडेमीले बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सवमा सोमबार लोकदोहोरी गायक राजु परियार र सिम्रन परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । युवा पुस्तालाई सिम्रन परियार र बृद्धवृद्धाहरुलाई राजु परियारको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । राजु र सिम्रन संगै प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगाएतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभब्याण्ड तर्फ लाहुेर एण्ड द ब्याड कम्पनीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । यसैगरि महोत्सवमा मंगलबार रचना रिमाल, पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्डमा श्री३ को प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:    नेपाल एपिएफ क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । समूह बी को खेलमा एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ । खेलको पहिलो सेट एपिएफले २५–१९ को अन्तरले जितेको थियो । दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै खेल बराबरी गर्ने संकेत देखाएको थियो । तर २४–२० को अग्रतामा रहेपनि पुलिसले अग्रता सदुपयोग गर्न नसक्दा ३३–३१ को अन्तरमा दोस्रो सेट एपिएफको पक्षमा गयो । एपिएफले तेस्रो सेट २५–१७ ले जित्दै प्रतियोगितामा पूरा ३ जोड्दै सुरुवात गर्यो । पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् । आज हुने अन्तिम खेलमा समूह ए मा आर्मी र गण्डकी खेल्नेछन् । त्यसअघि पोखरा रंगशालामा भएको महिलातर्फ समूह ए को पहिलो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पाँचौ सेटमा पराजित गरेको थियो । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।  महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् । समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४४ खेल हुनेछन् । तेस्रो स्थान र फाइनलको दिन भने २–२ खेल हुनेछ । महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखरा:  पोखरामा यति एयरलाइन्सको ९ एएनसी एटीआर–७२ को विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ ।  काठमाडौंबाट ७२ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको विमान सेती खोँचमा माघ १ गते दुर्घटना भएको थियो । सेती खोँचमा विमान दुर्घटनामा हुँदा चालक दलसहित ७२ जनाको नै ज्यान गएको थियो  ।  पोखरा महानगरपालिकाले विमान दुर्घटनाको भएको एक वर्षपछि दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा स्तम्भ निर्माण गरेको छ ।  विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुका सम्झनामा वार्षिक स्मृति सभा गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मृतकको सम्झनामा पार्क र पुल निर्माण गर्ने बताए ।     ‘दुर्घटनालाई हामी सम्झन चाहान्नौ तर दिवंगतहरुको सम्मान स्वरुप स्मृति पार्क र झोलुङ्गे पुल निर्माण गर्नेछौ,’ उनले भने । उनले मानवीय त्रुटीकै कारण विमान दुर्घटना भएको प्रतिवेदनले उल्लेख गरेको स्मरण गर्दै आगामी दिनमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने धारणा राखे । ‘हामीले नचाहदाँ नचाहदैँ गतवर्ष विमान दुर्घटना भयो, विमान सवार चालकदलसहित सबै यात्रुलाई गुमाउन पुग्यौ, दुर्घटनाको अन्तिम प्रतिवेदन पनि आएको छ’, मेयर आचार्यले भने, ‘प्रतिवेदनमा मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको भन्ने आएको छ, अब यस्ता दुर्घटना हुन नदिन सरकार र एयरलाइन्सले दुवैले ध्यान पु¥याउन आवश्यक छ ।’ उनले विमान दुर्घटना स्थलमा मृतकको सम्झनामा स्मृति पार्क र सेती खोँचलाई जोड्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने बताए ।  ‘हामीले यस दुर्घटना स्थलमा वारिपारि गर्न मिल्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने तयारी छौं’, उनले भने, ‘पुल र पार्क निर्माण गर्न यति एयरलाइन्ससँग पनि समन्वय गरेर अगाडि बढ्ने छौं ।’

पोखरा:    माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए।   श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँ मै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन ।   परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए।   उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०:५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए । दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन । “उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ”, प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।” दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन”, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।” प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ ।  दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ”, प्रतिभाले पीडा सुनाइन् । सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन्। “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उनले भनिन्, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन्।  अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए। अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए।  प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन्।  दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो ।   पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ ।  आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । 

पोखरा:  पोखरामा आजदेखि सुरु भएको चौथो टाइगर भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपिएफ क्लबले महिलातर्फको पहिलो खेलमा जित हासिल गरेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को सेटमा जित निकालेको हो । चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ । पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो । सम्पन्न पहिलो खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् । यस्तै दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु  डायमण्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै ३ अङ्क प्राप्त गर्न सफल भएको छ ।  न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मीलाई २५–२०, २५–१७, २४–२६ र २५–१५ ले पराजित गरेको हो ।   तस्वीरः बसन्त शेर्पा नेपाल भलिबल संघको स्विकृतीमा सुरु भएको चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन बिभागिय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुबन क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको सहभागिता छ । त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब तीन जना पाकिस्तानी खेलाडी सहित मैदानमा उत्रिने छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ समेत तीन भारतीय खेलाडी सहित मैदानमा छ । तीन बिभागिय टोली नेपाली सेनाको त्रिभुबन क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सोमबार दिउसो २ बजे गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुषतर्फको पहिलो खेल दुई विभागिय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका क्लबबीच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुनेछ । उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दानआदि गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेको कार्यक्रम गरेर माघे सक्रान्ति मनाइँदै छ । पोखराको ढुङ्गेसाघुमा माघे सक्रान्तिको अवसरमा मेला नै लागेको छ । ढुङ्गेसाघु स्थित सेती नदीमा स्नान गर्न भक्तजनको भीड लागेको छ ।  नदीमा स्नान गर्न गएका भक्तजनहरुलाई स्थानीय आमा समुहले घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खुवाएका छन् ।    सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।    फोटो फिचर ​                                             ​                          

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताएका हुन् ।  संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए । माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक(अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । नेपाल भौगोलिक रूपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रूपमा रहेको उनको भनाइ छ । उनले माघे सङ्क्रान्ति पर्व खस(आर्य, मगर, राई, थारु, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रूपमा रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले माघी पर्वले नेपालको सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई प्रमाणित गरेको बताए । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । तिल, तरुल, घिउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुनःमिलन गर्ने पर्वका रूपमा माघीलाई लिइन्छ ।

काठमाडौं:     प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।   माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।  सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।  मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । 

पोखरा:    अमरसिंह मैदानमा जारी पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्बिर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा भोली माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले जनाएको छ ।   महोत्सवमा आइतबार समिक्षा अधिकारी संगै राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए भने सांझको लाइभ ब्याण्डमा रकहेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सोमबार देखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने भएको छ । १७ टिमको प्रतिस्पर्धा रहने उक्त प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि विच प्रतिस्पर्धा रहने छ । त्यसैगरी माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा, राष्ट्रिय मावि र पटनेरी मावि बिच प्रतिस्पर्धा रहनेछभने माघ ६ गते कास्की मोर्डनाइज्ड, अक्सफोर्ड, ज्ञानज्योती, अमरसिंह अंग्रेजी स्कुल, र अञ्जुली बार्डिङ स्कुल बिच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिए । महोत्सवमा माघ १ गते लोकदोहोरी तर्फ सोमबार राजु परियार, सिम्रन परियार, प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपालीको प्रस्तुती रहनेछभने सांझको लाइभ ब्याण्ड तर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुती रहने छ ।