म्याग्दी: गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रव झाले बताउनुभयो । “छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएको छ ।” रु। सात अर्ब ५५ करोड लागत अनुुमान गरिएको योजनाका लागि आव २०७९र८० सम्म रु। छ अर्बभन्दा बढी खर्च भएको छ । पर्वतको मालढुङ्गा–बेनी, म्याग्दीको राहुघाट–दाना, मुस्ताङको खन्ती–जोमसोम, जोमसोम–कागबेनी खण्डमा कालोपत्र र चराङ–छोसेर खण्डमा ग्राभेल गर्ने ठेक्काको काममा ढिलासुस्ती भएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । “सङ्घीय सरकारका विभागीय मन्त्री, प्रधानमन्त्री, आयोजनासँग समन्वय गरेर निर्माण व्यवसायीलाई तीन–चार वर्षपछि काममा फर्काइएको छ”, उहाँले भन्नुभयो, “नदीजन्य निर्माण सामग्रीको व्यवस्थापन र निर्माणस्थलमा देखिएका समस्या समाधानका लागि स्थलगत अध्ययन गरेर पहल थालेका छौँ ।” सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुुर गर्बुजा ९खम्बिर०, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतको टोलीले शनिबार सडकको म्याग्दी खण्डको अनुुगमन गरेको छ । नदीजन्य निर्माण सामग्रीको अभाव र प्रतिकुूल भूूगोल चुुनौती बनेको छ । सर्वोच्च अदालतको विसं २०७८ असार २९ गतेको आदेशका कारण कालीगण्डकी करिडोरअन्तर्गत गण्डकी प्रदेशमा सञ्चालित पूूर्वाधार आयोजनामा नदीजन्य निर्माण सामग्रीको अभाव भएको छ । सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा निकासीमा रोक लगाएपछि विकास आयोजना निर्माण प्रभावित भएको हो । मन्त्री ज्वालाले स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या समाधानका लागि जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको र मन्त्रालय तहबाट गर्नुपर्ने पहलका विषयमा तत्कालै सहजीकरण गरिने र सडक निर्माणले गति लिने वातावरण बनाउने बताउनुभयो । टोलीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी र सिरुवारीस्थित पहिरोग्रस्त क्षेत्रको पनि अनुगमन गरेको थियो । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिबाट वडा नं ६ पोखरेबगर र भुरुङ तातोपानी क्षेत्रमा तीन किलोमिटर सडक कालोपत्र गर्न थालिएको छ । रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो । मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माणकार्य विसं २०७७ हिउँददेखि सुस्ताएको थियो । शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दूरीमा सबबेस र बेस राख्ने काम सकिएको बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको राहुपारेबाट बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गाबाट काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सुरु भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाबाट वडा नं ३ को काभ्रे खण्डमा सडक निर्माणको काम गत महिनादेखि सुरु भएको हो ।
स्याङ्जा: रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका–१४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव आउने सम्भावना नदेखेपछि परिवारले अन्तिम संस्कार गरेको हो । वालिङ नगरपालिका १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले परिवारले राम्दीस्थित कालीगण्डकी तटमा कुशको शव बनाएर अर्यालको अन्तिम संस्कार गरेको जानकारी दिए । परिवार शव आउँछ कि भन्ने आशामा बसेको थियो, त्यस्तो नभएपछि अन्तिम संस्कार र किरियाकर्म सुरु गरेको वडा अध्यक्ष कुँवरको भनाइ छ । परराष्ट्र मन्त्रालयले डिसेम्बर ३ मा घटना भएको भन्दै वडा कार्यालयमार्फत डिसेम्बर २८ मा परिवारलाई खबर गरेको थियो । नेपाली सेनामा भर्ती भएका अर्याल झन्डै तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुग्नुभएको थियो । गत कात्तिक ३ गते दुबईबाट रुस पुग्नुभएका अर्यालको युद्धमा परेर ज्यान गएको हो । अविवाहित अर्यालको घरमा बुवा, आमा र दुई भाउजू छन् । दुई जना दाजु रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् । हरिका माइलोबुवा हुमकान्त अर्याल हिन्दु संस्कार अनुसार किरिया बसेको परिवारले जनाएको छ । यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्कीको पनि शव नआएपछि परिवारले कुशको शव बनाई अन्तिम संस्कार गरेको थियो । जिल्लाबाट रुसी सेनामा भर्ती भएका दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं: आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह ुडीु मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । नेपालले १९ वर्षमुनिको विश्वकप आठौँ पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा खेलेको थियो । नेपालले न्युजिल्यान्डसँग सन् २०१६ मा र २००६ मा गरी दुई पटक खेलेकोमा पछिल्लो खेलमा ३२ रन र पहिलो खेलमा एक विकेटले हराएको थियो । नेपालले १९ वर्षमुनिको विश्वकपअघि चार अभ्यास खेल खेलेको छ । जसमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हरायो भने वेस्ट इन्डिजसँगको खेल वर्षाको कारण रद्द भएको थियो । प्रतियोगितामा आजै श्रीलङ्का र जिम्बावे पनि खेल्दैछन् । हिजो भएका खेलमा भारतले बङ्गलादेशलाई ८४ रनले हरायो । यस्तै, इङ्ग्ल्यान्डले स्कटल्यान्डलाई सात विकेटले र पाकिस्तानले अफगानिस्तानलाई एक सय ८१ रनले हराएको छ ।
पोखरा: पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो । घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको हो । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर १२ निवासी दिपेन्द्र घिसिङ तामाङले सानैदेखि पाइलट बन्ने सपना बोकेको भएतापनि परिवारबाट सहयोग नपाएपछि सरकारी निकायहरु हुदै २२ सय वढी नेताहरु समेत हार गुहार गर्दा सम्पूर्णबाट आश्वनमात्रै पाएको र आफ्नो सपना पुरा गर्नका लागि एक रुपैया अभियान सञ्चालन गर्दै आएका छन । पोखराको अमरसिंह मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबका पदाधिकारीहरुले महोत्सवकै बीच घिसिङलाई नगद ५० हजार रुपैया प्रदान गरेको हो । दिपेन्द्र संगै विभिन्न पाँचवटा क्यान्सरबाट पिडित पोखरा १७ बिरौटाकी लक्ष्मी शर्मा पोखरेललाई समेत नगद २५ हजार प्रदान गरेको छ । सो अवसरमा वोल्दै पाइलट बन्नका लागि एक रुपैया अभियानका अभियनता दिपेन्द्र घिसिङले आफु सानै देखि पाइलट बन्ने सपना देखेर अगाडि बढेको भएतापनि घरपरिवारमा समस्या उत्पन्न भइ सहयोग नपाएको, विभिन्न सरकारी निकाय संग सहयोग माग्दापनि पाइलट बन्ने विषयमा कहीकतैबाट सहयोग गर्न नसकिने भन्दै फर्काएको र विभिन्न २२ सय बढी नेताहरुलाई भेटेर आफ्नो कुरा राख्दा पनि आश्वसन मात्रै पाएपछि एक रुपैया संकलन अभियानमा हिडेको बताए । नेपालमा रहेका डेढ करोड जनता संग एक रुपैया उठाएरै आफु पाइलट बन्ने अठोटका साथ अगाडि बढिरहदा पोखरा महोत्सवमा आयोजकले नगद ५० हजार रुपैया सहयोग पाउदा आफ्नो अभियानमा थप इट्टा थपिएको समेत बताए । घिसिङले हाल सम्म ६० लाख रुपैयाँ संकलन गरिसकेको समेत बताए । त्यस्तै विभिन्न पाँच वटा क्यान्सरबाट प्रभावित लक्ष्मी शर्मा पोखरेलले पोखरा महोत्सव आयोजक यूनाइटेड क्लबले आफुलाई नगद सहयोग गरी हौसला प्रदान गरेको बताइन । शर्माले कुनैपनि रोग संग लड्नका लागि आत्मबल बलियो हुनुपर्ने बताउदै आफुहरुलाई धेरै पहिलेनै भारतको मेदान्त अस्पतालले मृत्युको डेट दिएको भएतानि सम्पूर्णको हौसला र साथले आफ्नो आत्मबल वढेकाले रोग संग लडेर अगाडी वढिरहेको बताइन । महोत्सवमा शनिवार पछिल्लो समय चिर्चित लोकदोहोरी गायक प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । दुतराज संगै महोत्सवमा सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहेको थियो भने सांझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिए । महोत्सवको एघारौँ दिन आइतबार लोकदोहोरी तर्फ ज्योति मगर, जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लागेको छ । महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको समेत सुनारले जानकारी दिए । महोत्सवमा जारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी, सरस्वती आवासिय मावि, मेरिगोल्ड र ज्ञानज्योती विद्या सदन फाइनल राउण्डमा प्रवेश गरेको छ । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनल आइतबार दिनको एक बजे हुने विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताका संयोजक विष्णु गुरुङले जानकारी दिए ।
म्याग्दी: भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुभएको छ । बेनी(जोमसोम(कोरला सडक म्याग्दी खण्डको आज निरीक्षणका क्रममा उहाँले मन्त्री ज्वालाले निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । “राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनामा भएको ढिलासुस्तीले सबैको ध्यान तानेको छ”, उहाँले भन्नुभयो, “कतिपय स्थानमा काम भएको पनि देखिएको छ । कतिपय स्थानमा अझै ठेकेदारले ढिलासुस्ती गरेको देखियो । स्थानीयस्तरमा कतै निर्माण सामग्रीको अभाव पनि देखिएको छ । किन ढिलासुस्ती भयो भन्नेबारे हाम्रो अनुगमन केन्द्रित भएकाले यसबारेमा सम्बन्धित निकायसँग चाँडै छलफल गर्दछौँ ।” मन्त्री ज्वालाले यहाँबाट फर्किएपछि तुरुन्तै सबै पक्षसँग बसेर एउटा निष्कर्ष निकाली सडक निर्माणलाई गति दिने वातावरण बनाउने बताउनुभयो । “कोरिडोर आयोजना निर्माणमा देखिएका समस्यालाई स्थलगतरूपमा नै अध्ययन र अनुगमन गर्न सडक विभागको टोलीसहित आएको छु”, उहाँले भन्नुभयो, “सडक निर्माणमा देखिएको समस्याबारे तुरुन्त समाधान गरेर निर्माणलाई गति दिन्छौँ ।” त्यस अवसरमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी(जोमसोम(कोरला सडक आयोजना प्रमुख ध्रुव झा, प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतले सडक निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो । सो टोली म्याग्दीको रघुगङ्गा गाउँपालिका(२ बैसरी र सिरुवारीस्थित पहिरोग्रस्त क्षेत्रको पनि अनुगमन गरेको हो । म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन सात अर्ब ५५ करोडलागत अनुमान गरिएको योजनाका लागि गत आर्थिक वर्ष २०७९र८० सम्म छ अर्बभन्दा बढी खर्च भइसकेको छ । हालसम्म छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुई वटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । अठार वटा पक्की पुल र तीन वटा बेलीब्रिज निर्माण सकिएको आयोजना प्रमुख ध्रुव झाले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिसहित दुई लेनको कालोपत्र र ग्राभेल गर्न आव २०७३र७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । तेह्र वटा खण्डमध्ये आठ खण्डको निर्माण सकिएको छ । कमजोर भूगोल, प्राकृतिक प्रकोप र निर्माण व्यवसायीको ढिलासुस्तीका कारण म्याग्दी खण्ड र पर्वतको मालढुङ्गादेखि बेनीको खण्डमा अपेक्षा गरेअनुसार निर्माणले गति लिन नसकेको विषयमा गण्डकीका भौतिकमन्त्री जुग्जालीले सङ्घीयमन्त्री ज्वालाको ध्यानाकर्षण गराउनुभएको थियो । सर्वोच्च अदालतको वि।सं।२०७८ असार २९ गतेको आदेशका कारण कालीगण्डकी कोरिडोरअन्तर्गत गण्डकी प्रदेशमा सञ्चालित पूर्वाधार आयोजनामा नदीजन्य निर्माण सामग्रीको अभाव र ढिलासुस्ती भएको उहाँले बताउनुभएको थियो । सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा निकासीमा रोक लगाएपछि विकास आयोजना निर्माण प्रभावित भएको छ ।
पोखरा: पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट भएका दुवै खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे । टाइगर ग्रुप अफ पोखरा नेपालले सञ्चालन गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस्तै विधागत महिलातर्फ विगागीय क्लबको दवदवा रह्यो । एएिफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट,एपिएफकी सरस्वती चौधरी स्पाइकर, न्यु डायमण्डकी बाल्मिका आचार्य सर्भर, एपिएफकी जस्ना महतो सेटर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का ब्लकर, न्यु डायमण्डकी सलिना श्रेष्ठ लिब्रो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । यस्तै पुरुषतर्फ हेल्प नेपालका फरकउद्दिन सर्वोत्कृष्ट, हेल्प नेपालका मजहर अली स्पाइकर, गण्डकीका हिमाल सुनारी सर्भर, हेल्प नेपालका मोहम्मद सेटर, गण्डकीका रामश्वामी अगामुटो ब्लकर, हेल्प नेपालका दीपक थापा लिब्रो र हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा महिला÷पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको थियो । पुरुषपतर्फ हेल्प नेपाल काठमाडौं र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका छन् ।
पोखरा: पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालले गण्डकी प्रदेशलाई २५–१३, २५–१८, २४–२६ र २५–१७ ले पराजित गरेको हो । हेल्प नेपाललाई लिगचरणको खेलमा गण्डकी प्रदेशले ३–२ को सेटमा पराजित गरेको थियो । यस्तै महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधिमा हयाट्रिक गरेको छ । एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । एपिएफ क्लब प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौंथो टाइगर कप भलिबल प्रतियोगिताको महिला तर्फ विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबले ह्याट्रिक गरेको छ । अघिल्ला दुुई संस्करण जितेको एपिएफले शनिबार भएको फाइनलमा न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपिएफले उपाधि रक्षा गरेको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो । एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले हराएको हो । उपाधीसँगै एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जितेको छ भने दोस्रो भएको न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ । महिला तर्फ पुलिसलाई हराएर आर्मी तेस्रो भएको आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

