पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुन लागेका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुन लगेकी हुन् । पुरस्कृत पत्रकारहरुलाई माघ १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिईन् । उनीहरुसँगै सोही दिन पत्रकार टंक अधिकारी र दिनानाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने उनले बताइन् ।
पोखरा: नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ । १८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चुप्सको सौजन्य गरेका हुन । साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले उनलाई पोखरामा स्वागत समेत गरेका छन् । १८ औं संस्करणलाई पुर्ण प्रविधीमैत्री बनाउन यश पटक सबै इभेन्टमा चिप्सको प्रयोग गरिदै छ । चिप्स जडानले प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकको विस्वास रहेको छ । मञ्चका अध्यक्ष हरि पराजुलीले आफुहरुलाई आवश्यक पर्ने चिप्स आएको सुनाए । उनले यसले म्याराथनको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउन मद्दत मिल्ने बताए । प्रतियोगिता संयोजक दिल बहादुर गुरुङले खुल्ला म्याराथन, पगण्डकी प्रदेशस्तरीय म्याराथन, महिला हाफ म्याराथन, १० किमि (महिला/पुरुष), ५ किमि (छात्र/छात्रा) दौडमा चिप्सको प्रयोग हुने जानकारी दिए । ह्विलचियर, दृस्टीविहिन र भेट्रान दौडमा चिप्सको प्रयोग हुने छैन । संस्थाका निवर्तमान अध्यक्ष तेज गुरुङले अन्तर्राष्ट्रिय म्याराथनको अनुसरण गर्दै चिप्स प्रयोगलाई अघि बढाउने प्रयास अघिल्लो वर्षबाट सुरु गरि यस पटक पुरै दौडमा प्रयोग गरिने बताए । चिप्सले धावकको समयको गणना गर्नेछ । स्टार्टिङ र इन्डिङ पोइन्टमा सेन्सर जडान हुनेछ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा बसेको परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषदको निर्देशन अनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेश गरेको सुझाव र प्रतिवेदनका आधारमा प्रदेश खेलकुद परिषदको अर्को निर्णय नभएसम्मको लागि रंगशालाको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै रंगशालाबाट प्राप्त आम्दानी तथा खर्च ३/३ महिनामा परिषदबाट स्विकृत गराई खर्च गर्न सक्ने गरी जिल्ला खेलकुद विकास समिति कास्कीको प्रस्तावित निर्णयलाई परिषदको बैठकले अनुमोदन र समर्थन गर्ने निर्णय गरेको छ । यो निर्णय संगै रंगशालाको सरसफाई, मर्मत सम्भार, सूरक्षा व्यवस्थापन, पानी र विद्युतीकरणलगायत सम्पूर्ण खेल संघहरुलाई सबै खेलका प्रशिक्षणहरु रंगशाला केन्द्रितको व्यवस्था मिलाउन समेत जिल्ला खेलकुद विकास समिति कास्कीलाई जिम्मेवारी दिने गरी निर्णय गरेको छ । साथै योग खेलको विकास र प्रवद्र्धनका लागि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्यतर्फले योग अभ्यास र आर्यूवेद सञ्चालनका लागि उपयूक्त कोठा उपलव्ध गराउने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनका लागि पोखरा रंगशाला ब्वयस्थापन सहजीकरण समितिलाई जिम्मेवारी समेत तोकेको छ । पोखरा रंगशालाको ब्यवस्थापनको जिम्मेवारी जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिइएको बारे जिल्ला प्रशासन कार्यालय, कास्की, पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, कास्की र राष्ट्रिय खेलकुद परिषदलाई बोधार्थ पत्रबाट जानकारी दिएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति वितरणमा यस कार्यालयमा कार्यरत प्रहरीलाई कारवाही गरेको देखि विभिन्न सफल अनुसन्धानमा समेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले कात्तिकदेखि पुष मसान्तसम्म ५ जना सहायक हवल्दारसहित ८ जना प्रहरी कारवाहीमा परेको डिएसपी एवम् कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार कास्की प्रहरीमा कार्यरत खराव आचारण व्यवहारका कारण ५ जना प्रहरी सहायक हवल्दार, १ जना प्रहरी हवल्दार, १ जना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी निरीक्षकलाई कारवाही गरिएको हो । यस्तै कास्की प्रहरीले एकजना प्रहरी नायव उपरिक्षकलाई पुरस्कृत समेत गरेको छ । कास्की प्रहरीले बल प्रयोगको सिद्धान्त तथा हातहतियार प्रयोग सम्बन्धी ३५ जना प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । भने, भिड नियन्त्रण विशेष घुम्ति अनुशिक्षण तालिम समेत दिएको छ । कास्की प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत २ सय ३४ वटा विभिन्न सचेतना मूलक कार्यक्रमसेत सञ्चालन गरेको छ । ट्राफिक जनचेतना जगाउन कास्की प्रहरीले सर्वसाधारणदेखि सवारी चालक तथा व्यवसायीहरुलाई विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरेको छ । जसमा कास्की प्रहरीले ५० जना विद्यार्थीहरु, ७३ हजार सवारी चालक तथा व्यवसायीहरु, ४ हजार ८ सय ५५ जना सर्वसाधारण नागरिक र २१ हजार ६सय ७७ जना यात्रु तथा चालकहरुलाई ट्राफिक जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।
पोखरा: पोखरामा आजदेखि सुरु भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ । थ्री स्टार क्लबले आयोजक सहारा क्लबलाई २–१ गोल अन्तरले हराउँदै आहा! रारा पोखरा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । थ्री स्टारको जीतमा योगेश गुरुङ र एञ्जल महर्जनले समान १÷१ गोल गरे भने सहाराका लागि आशिष गुरुङले सान्त्वना १ गोल फर्काए । पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टारले थप १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाएका छन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
काठमाडौं: सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका–२ घर भएका २४ वर्षीय भिमसेन भट्ट रहेका छन् । रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्बिर तथा श्रव्य–दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । भट्ट उपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा: सहारा क्लबले यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आयुष घलानलाई नगदसहित सम्मान गरेको छ । पोखरामा आजदेखि सुरु भएको २३ औं आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहारा क्लबले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलानलाई नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको हो । राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका वडा १८ का हुन् । निकै मेहनति उनले अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले वर्षेनी सम्मान गर्दै आएको छ । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानि भइसकेका छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकूलपतिका लागि दरखास्त दिने अन्तिम मिति हिजो सोमवारसम्म ४३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा अहिलेका निमित्त उपकूलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकूलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्य हुनुहुन्छ । यस्तै, मध्यपश्चिम विश्वविद्यालयका अहिलेका उपकूलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकूलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेल लगायतले पनि उपकूलपतिका लागि आवेदन दिएका छन् । उपकूलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार आवेदनको मूल्याङ्कन गरेर केही दिनभित्रै सर्टलिस्ट अर्थात् अल्पसूची प्रकाशन हुनेछ । त्यसपछि विज्ञ समितिबाट अल्पसूचीमा परेका बीच प्रतिस्पर्धा गराएर एक जनालाई उपकूलपतिमा छनोट गरिनेछ ।
काठमाडौं: यही माघ ११ गते हुने राष्ट्रि यसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यस निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।

