पोखरा: गण्डकी प्रदेश पुरुष भलिबल टोलीका सदस्य घनश्याम चौधरी र राजन दर्लामीलाई समेट्दै तेस्रो मुख्यमन्त्री कप भलिबल खेल्न गण्डकीको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय स्तरको तेस्रो मुख्यमन्त्री कपमा सहभागी जनाउन गण्डकी प्रदेश भलिबल संघले हरि पाण्डेका कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । घरेलु भलिबल प्रतियोगितामा गण्डकी प्रदेशबाट खेल्दै आएका घनश्याम चौधरी र राजन दर्लामी लामाचौर कप, सुर्खेतमा सम्पन्न भएको राष्ट्रिय भलिबल र पोखरामा सम्पन्न भएको टाइगर भलिबलमा टोली बाहिर थिए । सुदूरपश्चिम खेलकुद परिषद्ले माघ १४ देखि २० गतेसम्म आयोजना गरेको तेस्रो मुख्यमन्त्री कपमा गण्डकी प्रदेशसहित सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने जनाइएको छ । गण्डकीको टोली: गण्डकी प्रदेश भलिबलको कप्तानमा खोमप्रसाद पाण्डे (हरी, स्याङ्जा), सुजन चोखाल (म्याग्दी), विवश आले मगर (तनहुँ), इन्द्रबहादुर विक, रवि केसी, कुञ्जन शाही, जीवन सुनार, सन्तोष विक (बागलुङ),विश्वास अधिकारी, घनश्याम चौधरी, किरण गुरौं, हिमाल सुनारी, सरोज बर्देवा (नवलपुर), राजन दर्लामी (स्याङ्जा), प्रशिक्षकमा रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् ।
काठमाडौं: आईसीसी यू–१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरीसकेको छ । यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।
काठमाडौं: नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको काँग्रेस पार्टी सचिवालयले जनाएको छ ।
पोखरा: पोखराको राष्ट्रबैंक चोक स्थित एक खाजा घरमा जुवातास खेलिरहेका एक विदेशी नागरिकसहित ६ जना जुवाडेलाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनापछि खटिएको प्रहरीको टोलीले ६ जना जुवाडेलाई बिहीबार बेलुका प्रकाउ गरेको हो । बागलुङको तमानखोला गाउँपालिका घर भई राष्ट्रबैंकचोकमा खाजा घरका संञ्चालक ४५ वर्षीय समिता आले, भारत घर भई पोखरा–७ बस्ने ४५ वर्षीय रमेश वारिक, गोरखाको गण्डकी गाउँपालिका घर भई पोखरा–७ बस्ने ४७ वर्षीय सागर थापामगर, पोखरा–१५ बस्ने ३२ वर्षीय नविन रिंजाली, पोखरा–७ बस्ने ५२ वर्षीय सुकबहादुर मगर र गोरखा सुलिकोट गाउँपालिका घर भई पोखरा–७ बस्ने ४२ वर्षीय डिलबहादुर मगरलाई जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट तास र ४३ हजार ६ सय ५५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
म्याग्दी: म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ। बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरले जानकारी दिए। डिएसपी कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको टाउको र छातीमा चोट लागेको छ। थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
विराटनगर: राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए । एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ र पालिकाका पदाधिकारीको ६१ मत परेको छ । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ । एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।
दाङ: राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबारको भएको निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित भएकी छिन्। उनले नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित गरिन्। केसीले एक हजार ५३७ मतभार प्राप्त गरिन्। अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए। सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरे। जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय १२ मतभार प्राप्त गरे। १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
पोखरा: पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब अन्तिम आठमा प्रवेश गरेको छ । पोखरा रङगशालामा आज (बिहीबार) भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जाउलाखेल क्वाटरफाइनलमा पुगेको हो । जाउलाखेलको जीतमा हिसुब थपलियाले पहिलो हाफको ३८ औं मिनेटमा गोल गरे । सोही गाेल नै निर्णायक बन्दै थपलिया म्यान अफ द म्याच घोषित भए । अब जाउलाखेलले आगामी १५ गते मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
पोखरा: नेपाल मगर संघ बागलुङले फागुन ११ देखि १५ गतेसम्म तेस्रो लखन कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा बागलुङमा फागुन ११ देखि १५ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भबिल लगायतका विविध कार्यक्रम आयोजना गरेको कोषाध्यक्ष प्रकाश थापामगरले बताए । ‘नेपाल मगर संघको स्थापना दिवसको अवसरमा हामीले तीन वर्ष यता प्रथम शहिद लखन थापा मगरको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छौं’, थापामगरले भने, ‘यसवर्ष तेस्रो लखन कप फागुन ११देखि १५ गतेसम्म सञ्चालन गर्दै छौं ।’ उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ८१ हजार १ सय ८१, उपविजेता हुने समूहले ४१ हजार १ सय ४१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै महिलातर्फ पालिकास्तरीय भलिबलको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । नेपाल मगर संघ बागलुङका कोषाध्यक्ष थापा मगरले तेस्रो लखन कपमा ताराखेल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता (मगर संस्कृति भित्रका गीत) र रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र घैटोफोड प्रतियोगिता आयोजना गरेको बताए ।

