पोखरा: जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्द संघर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । पोखराको रङ्गशालामा आज भएको क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई सोमबार सडन डेथमा पराजित गर्दै जावलाखेल सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित तथा अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाईब्रेकरमा पुुगेको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडन डेथबाट निर्णय भयो । दुवै टिमका ९ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल सडन डेथमा ७–६ गोल अन्तरले विजयी भयो । नवौं पेनाल्टी सुटरका रुपमा आएका एमएमसिका पोखरेली फुटबलर रन्दिप पौडेलको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिश देउलाले बचाएपछि जावलाखेलले सेमिफाइनलको यात्रा पक्का गर्याे । सेमिफाइनलमा अब जावलाखेलले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार हुने चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीचको विजेता टोलीसँग भिड्नेछ । आहा! रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
बागलुङ: प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी कप–२०८० अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रेस चौतारी बागलुङले सोमबार पत्रकार सम्मेलन गरी प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङमा प्रेस चौतारी कप गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सिर्जना पन्तले पत्रकारका साथै विद्यालय र विद्यार्थीहरुलाई खेल र खेल पत्रकारितासँग जोड्नको लागि प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो । ‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्गम स्थल विद्यालय हो, विद्यालय केन्द्रित प्रतियोगिता नियमित आयोजना हुनुपर्छ,’ अध्यक्ष पन्तले भन्नुभयो,‘चौतारीले यो प्रतियोगिता यहि हेतुका साथ गर्न लागेको हो, पत्रकारका साथै विद्यालय र विद्यार्थीलाई समेत खेल र खेल पत्रकारितासँग जोड्नुपर्छ ।’ अध्यक्ष पन्तले केन्द्रीय मूलधारको मिडियामा बिट पत्रकारिता हुने र मोफसलमा सबै बिधामा उत्तिकै पोख्त हुनुपर्ने बाध्यता रहेको बताउँदै जिल्ला स्तरमा हुने दुर्लभ प्रतियोगिता र त्यसको रिर्पोटिङमा देखिने यथेष्ट अभ्यास, ज्ञान र अनुभवको कमीलाई पुरा गर्न ठोस पहलकदमी कसैले नउठाएका कारण चौतारीले अग्रसरता देखाएको बताउनुभयो । उहाँले यस प्रतियोगितालाई सामाजिक, सांगठनिक उत्तरदायित्व नै ठानेको बताउनुभयो । प्रतियोगिताले फुटबल प्रतियोगिता सहित समग्र खेल रिपोर्टिङमा समेत टेवा पुग्ने अपेक्षा लिएको अध्यक्ष पन्तको भनाई छ । उहाँले प्रतियोगितामा जित हारको सूचना समाचार मात्र नभई जिल्लाको खेलकुद पत्रकारितालाई खेल र नतिजालाई रिपोर्टिङ भन्दा फराकिलो दायरामा लैजानु अपरिहार्य रहेको बताउँदै खेल पूर्वाधार, खेलाडी प्रोफाइल, खेल सम्भावना, खेल एकता र जिलला भित्रको फुटबलको समग्र विकास जस्ता विषय पनि समेट्ने प्रेरक परिवेश तयार गर्नका लागि प्रतियोगिता सिद्ध हुने बताउनुभयो । प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने सचिव अर्जुन कार्कीले बताउनुभयो । उहाँले प्रतियोगितामा ४ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि जिल्ला फुटबल संघ बागलुङ र जिल्ला खेलकुद विकास समिति बागलुङको प्राविधिक सहयोगका साथै विभिन्न संघ, संस्था, बैंक तथा स्थानीय तहहरुले सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो । प्रतियोगितामा १५ भन्दा बढी विद्यालयहरुको टिमले सहभागिता जनाउने अपेक्षा गरिएको उपाध्यक्ष तथा टिम व्यवस्थापनका संयोजक खेमराज गौतमले सुवासले जानकारी दिनुभयो । टिम दर्ताको लागि माघ १७ गतेसम्मका समय रहेको र दर्ता शुल्क पाँच हजार रुपैयाँ रहेको उहाँको भनाई छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिता सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर खेलमैदानमा हुनेछन् । माघ २२ गते २६ औं स्थापना दिवसको मुल समारोहमा प्रतियोगिताको फाइनल खेलका साथै प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी युवा क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तारानाथ आचार्यले जानकारी दिनुभयो ।
पोखरा: अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुईवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ । प्रहरीले हिजो (आइतबार) अवैध रुपमा नदीजन्य पदार्थ लोड गरेर पोखरातर्फ आउँदै गरेका ग २ ख ३०९ र लु २ च ८९६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर महानगरपालिकामा बुझाएको हो । पोखरा महानगरपालिका–१ जौवारीबाट अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुई वटा टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि महानगपालिकामा बुझाएको हो ।
पोखरा: पोखरामा एनएमबी बैंकको एटिमएम तोडफोड गरेको आरोपमा प्रहरीले राजकुमार भन्ने टिकाराम पौडेललाइ प्रकाउ गरेको छ । पोखरा–५ जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा राजकुमारलाई प्रहरीले हिजो (सोमबार) प्रकाउ गरेको हो । पैसा चोरी उद्धेश्यले पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम मेशिन तोडफोड गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनलाई प्रकाउ गरेको हो । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थायी घर भई पोखरा १७ विरौटा बस्दै भएका २७ वर्षीय राजकुमार भन्ने टिकाराम पौडेल एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रकाउ परेका हुन् । प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयक कास्कीले जनाएको छ ।
काठमाडौं: आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। होटल याक एन्ड यतीमा माघ १२ गते भएको उक्त समारोहमा ३१९ जना विद्यार्थीहरू दीक्षित भएका छन्। नेपालका लागि बेलायती राजदूत रोब फेनको प्रमुख आतिथ्यतामा सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अविभावकको उपस्थितिमा सम्पन्न उक्त दीक्षान्त समारोहमा बिबिए, बिएचएम, बिएससी, आइटी ९सिएसइ० मा उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका हुन्। आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गर्दै आइरहेको छ।
काठमाडौं: माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म ‘दयारानी’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार हाइलाइटस नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ। बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ। मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ। फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ।
काठमाडौं: नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेको छ । सोमबार मुलपानीमा भएको खेलमा गण्डकी प्रदेश विरुद्ध ६ विकेटको जित दर्ता गरेको पुलिसले लगातार सातौँ जित सहित दुई खेल खेल्नु अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यसपटक शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्ने समीकरण रहेको छ । हाल पहिलो स्थानमा रहेको पुलिसले अहिलेसम्म खेलेका सबै खेलमा जित हासिल गर्दै १४ अंक जोडेको छ । अब त्रिभुवन आर्मी क्लब बाहेक अरु कुनै टोलीले १४ अंक पुर्याउन सक्ने छैनन् । १२ अंक जोडेका बागमती र मधेशले सबै खेल खेलिसकेका छन् । ७ खेलमा ८ अंक सहेको एपिएफ पनि फाइनल पुग्ने होडबाजीमा छ । पुलिसले आज गण्डकी प्रदेशले लिएको १७१ रनको लक्ष्य २४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि ओपनर दिलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्का सहित ५७ रनको विष्फोटक इनिङ खेले । यस्तै अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । अर्कातिर आरिफ शेखले २२ बलमा २७ रन बनाएर नटआउट रहे । ओपनर कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्का सहित २२ रन बनाएर आउट भएका थिए । गण्डकीका लागि सन्दिप पराजुलीले २ विकेट लिए भने कमल परियार र बिपिन खत्रीले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा समेटियो। गण्डकीका लागि अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित ५० रनको आक्रामक अर्धशतकिय इनिङ खेले । यस्तै करन पंगेनी र कमल परियारले समान ३०÷३० रन बनाउँदा समिर कंडेलले २९ रन बनाए । पुलिसका लागि राशिद खान एक्लैले ६ ओभरमा २५ रन दिँदै ५ विकेट लिए । यस्तै करन केसी र ललित राजबंशीले समान २÷२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।
पोखरा: पोखरामा शनिबार राति दम्पत्ती सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतिको मृत्यु भएको छ । लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग १४ प १५८५ नम्बरको मोटरसाइकल रुपा ६ स्थित घिमिरेथरमा दुर्घटना हुँदा ३० वर्षीय कृष्णमाया न्यौपाने गम्भीर घाइते भएकी थिईन् । गम्भीर घाइते भएकी न्यौपानेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक (श्रीमान) ३५ वर्षीय बरुण न्यौपाने भने सकुुशल छन् ।
रुकुमपश्चिम: रुकुमपश्चिममा ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा ५ का २२ वर्षीय कैलाश पुरी र वडा ६ का एक जना १५ वर्षीय बालक रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट सोमबार बिहान प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आइतबार बेलुका रुकुमपश्चिमकोे बाँफिकोट –३ स्यार्पुमा प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । आक्रमणमा परेर ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका छन् । आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि आइतबार राति जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । घाइतेहरुलाई थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । प्रहरीका अनुसार स्थानीय युवाविचमा विवाद भएको थियो । विवादपछि होहल्ला गर्दै हिडेका युवालाई सम्झाइ बुझाइ गर्न खोज्दा केही युवाहरुले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । युवाहरुले प्रहरीमाथि हातपात गर्दै ढुङगा प्रहार गरेर घाइते बनाएको प्रहरीको भनाइ छ । प्रहरीमाथि हातपात तथा कुटपिट गर्ने अन्य व्यक्तिहरु फरार रहेको र उनीहरुको पनि खोज तलास भइरहेको प्रहरीको भनाइ छ ।

