पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

पोखरा:    गण्डकी प्रदेशको सरकारी कामकाजको भाषामा गुरुङ र मगर भाषालाई कार्यान्वयन गर्न माग गरिएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ कास्कीले गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न माग सहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो । नेपालमा बोलिने ११ भाषालाई भाषा आयोगले भदौ २१ मा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउन सिफारिस गरिसकेको छ । उक्त सिफारिसलाई ध्यानाकर्षण गराउँदै गण्डकीमा गुरुङ र मगर भाषा प्रयोगमा ल्याउनुपर्ने अध्यक्ष आशबहादुर गुरुङले बताए । ‘केही प्रदेशमा मातृभाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग भैसकेका छन् । गण्डकीमा यसको सुरुआत भएको छैन,’ उनले भने, ‘तत्कालै यसको व्यवस्था सरकारले गर्नुपर्छ ।’ गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले बहुजातीय विविधतालाई सरकारले संवेदनशील भएर सोच्नुपर्ने बताइन् । मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रममै यो विषय समावेश गरिसकेकाले छिट्टै कानुन बनाएर कार्यान्वयन गर्ने बताएका छन् । ‘नीति कार्यक्रममा आइसकेको छ । सरकार गम्भीर पनि छ,’ उनले भने, ‘अब कानून मार्फत व्यवस्थित गर्छौं । तपाईंहरुको मागप्रति सरकारले ध्यान दिन्छ ।’

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गरे । प्रधानमन्त्री दाहालले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको बताए ।   देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै उल्लेख गर्दै उनले विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्ने बताए । विश्वविद्यालयले देशैभरि सबै प्रदेशमा आङ्गिक कलेज स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशमा आठवटा कृषि सङ्काय र एक वनविज्ञान सङ्कायअन्तर्गतका कलेज र दुईवटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गर्दै उनले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरु गर्न सुझाव दिए । प्रधानमन्त्री दाहालले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवं गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवर्द्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने बताए ।

ढोरपाटन:    एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो ।  जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छैन । अहिले कच्ची भए पनि सडक पुगेको छ । सामान्य भए पनि होटल तथा होमस्टे (घरबास) ठाउँ–ठाउँमा छन् ।  सडक र होटल सञ्चालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन् । यहाँ दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आएका छन् । होटल सञ्चालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नुपरेको छैन । काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन् । स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन् ।  ढोरपाटनमा आएको परिवर्तनले स्थानीय बूढापाका द्ग छन् । पहिले सामान्य झुपडी रहेको बस्तीमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल सञ्चालनमा आएका छन् । चिसो ठाउँ भएको हुँदा न्यायो हुनेगरी यहाँका भवन निर्माण भएका छन् । ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा होटल निर्माण भएको पाइन्छ । कच्ची भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको सङ्ख्या बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुनमगरले बताए । पहिले ढोरपाटन आउँदा बास बस्न र खानाको ठूलो समस्या हुने हुँदा कम मात्रामा पर्यटक आउने गरेको उनको भनाइ छ । अहिले टोलटोल र बस्तीबस्तीमा होटल तथा घरबास सञ्चालनमा आएको हुँदा एक रातमा करिब छ सयको हाराहारीमा पाहुना राख्ने क्षमता रहेको अध्यक्ष पुनमगरले बताए । हाल ढोरपाटन उपत्यकामा करिब ३४ वटा होटल र घरबास रहेको उनको भनाइ छ । सञ्चालनमा आएका होटल सहरबजारका जस्ता व्यवस्थित नभए पनि खाना बस्नका लागि भने उपयुक्त रहेको पुनमगरले बताउनुभयो । पछिल्लो समय धेरैले होटललाई व्यवस्थित बनाउँदै गएको उनी बताउछन् । “चार वर्ष अगाडिसम्म ढोरपाटन आउने पर्यटकलाई कहाँ बस्ने, कहाँ खाने भन्ने समस्या थियो, सामान्य गोठमा स्याउला बिछ्याएर चिसोमा रात बिताउनुपर्ने अवस्था थियो, खाना खाने व्यवस्था थिएन, तर अहिले त्यो समस्या पूर्णरूपमा समाधान भएको छ, दुई–तीन वर्षको अवधिमा यति धेरै होटल र होमस्टे सञ्चालनमा आए”, उनले भने, “सहरको जस्तो सुविधासम्पन्न त नहोलान् तर भोक टार्न र रात बिताउनका लागि होटल भने प्रशस्तै छन् ।” ढोरपाटन नगरपालिका–९ पाखाथरका स्थानीय गङ्गा भण्डारीले यो क्षेत्र निकै परिचत भए पनि विकासका हिसाबले पछाडि रहेको बताए । स्थानीयको पहलमा ढोरपाटन क्षेत्रमा केही परिवर्तन भए पनि राज्यको नजर भने पुग्न नसकेको गुनासो पोखे । हिउँदमा बेँसी ९बोबाङगाउँ० र बर्खामा लेक ९ढोरपाटन०मा बस्ने स्थानीय अहिले उपत्यका क्षेत्रमै स्थायीरूपमा बसेर होटल व्यवसाय गर्न थालेको उनको भनाइ छ । गाउँलेले आगन्तुकका लागि बस्न र खानका लागि राम्रो व्यवस्थापन गर्दै गएको तर सडकका कारण सोचेअनुसार पर्यटक ल्याउन नसकेको भण्डारीले बताउछन् । उनले भने, “यो ठाउँका अधिकांश मान्छे बुकी जाने, वस्तुभाउ चराउने र खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए, व्यापार व्यवसाय गर्ने वातावरण थिएन, अहिलेका जस्ता घर पनि थिएनन्, विस्तारै बाटो आयो, मोटरगाडी आउन थालेपछि घर पनि राम्रा बन्न थाले, होटल भन्ने थाहा हुँदैनथ्यो, सहरबजार जाँदामात्रै सुनिन्थ्यो, अहिले त यहाँ पनि धेरै होटल खुलेका छन्, यस क्षेत्रका जनतालाई सबैभन्दा बढी समस्या बुर्तिबाङबाट यहाँसम्म आउने बाटोको छ, धेरै वर्ष भयो बाटो खुलेको तर अहिलेसम्म राम्रो बन्न सकेको छैन ।” ढोरपाटन पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष बेगबहादुर विश्वकर्माले एक दशक अगाडि यहाँ आउने पर्यटकको सङ्ख्या निकै न्यून रहेको भन्दै पछिल्लो समय बढ्दै गएको बताए । पहिले ढोरपाटन आएका पर्यटकले गोठमा बसेर आलुको ढिँडो, आलुकै खोले खानुको विकल्प नभएको भन्दै अहिले पाहुनाले चाहेअनुसारको ठाउँमा बस्न र स्थानीय उत्पादनका परिकार खान पाउने उनको भनाइ छ । ढोरपाटन आउने अधिकांश पर्यटक उपत्यका क्षेत्रमा मात्रै डुलेर जाने गरेको विश्वकर्माले बताए ।  उपत्यकाभन्दा बुकी क्षेत्र, जलजला, छुन्तुङलगायत माथिल्लो क्षेत्र निकै रमणीय रहेको उनको भनाइ छ । होटल तथा घरबास सञ्चालनमा आएपछि पर्यटक आगमनमा निकै वृद्धि भएको अध्यक्ष विश्वकर्माले बताए। अहिले चिसोका कारण पर्यटक आउन छाडेको भन्दै सिजनमा दैनिक करिब तीन सयदेखि पाँच सयसम्म आउने गरेको उनको भनाइ छ । बुर्तिबाङ बजारबाट करिब ३२ किलोमिटर उत्तर पश्चिममा रहेको ढोरपाटन उपत्यका कच्ची सडकका कारण गाडीमा करिब दुई घण्टा लाग्छ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडक विसं २०६६ देखि निर्माण सुरु भएको थियो । बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिका लागि अघिल्लो वर्ष कात्तिकमा ठेक्का प्रक्रियामा गए पनि अपेक्षितरूपमा काम हुनसकेको छैन । 

पोखरा:   पोखरामा जारी २३औं आहा! रारा पोखरा गोल्डकपमा आज सेमिफाइनलको पहिलो खेल हुँदै छ । पहिलो सेमिफाइनल खेलमा आज थ्रीस्टार र जावलाखेल युथ क्लब खेल्दै छन् ।  उक्त खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।  खेलको विजेता टोली फाइनलमा पुग्नेछ ।  आहा! रारा इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन् ।  यस्तै दोस्रो सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।  माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन्

काठमाडौं:    आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।  यता, बङ्गलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

पोखरा:    १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा (संख्या) निर्धारण सँगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनएका छन् । १८ औं संस्करणको तयारीमा जुटिरहेको मञ्चले नेपालमा नै पहिलो पटक हरेक इभेन्टमा चिप्सको ब्यवस्था गरेको छ । यस अघि म्याराथमा सिमित चिप्सको प्रयोग १८ औं संस्करणको खुल्ला म्याराथन संगै हाफ म्याराथन महिला, १० किमि महिला÷पुरुष दौड र ५ किमि छात्र÷छात्राको दौडमा समेत चिप्सको प्रयोग हुने भएको अध्यक्ष पराजुलीले जानकारी दिए । “अब सबै दौडहरुको सहि समय र दुरी मापन हुन्छ” उनले भने–“कुनै पनि धावकले रुट भन्दा बाहिर भागबाट छलेर दौड पुरा गर्न पाउने छैनन् । यसले खेलाडीमा समेत् हौसला बढ्नेछ भने आफ्नो टाइमिङकोस्तर के हो भन्ने विषयमा स्पष्ट हुन सकिनेछ ।” गत वर्षबाट खुल्ला म्याराथनबाट सुरु गरिएको चिप्सको प्रयोग नेपाल रन युकेको सहकार्यमा भएको हो । १८ औं सस्करणका लागि भने सबै टेक्निकल डिभाइस (चिप्स)हरु करिब ३ हजार थान गैर आवाशिय नेपाली संघ (एनआरएनए) आइसिसी र पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेको सहकार्यमा भएको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“नेपाली खेलकुदको इतिहासमा यो नयाँ फड्को हो । जहाँ म्याराथन मात्रै नभई १० किमि र ५ किमिमा समेत चिप्सको प्रयोग हुँदैछ । यसले नेपाली खेलकुदलाई प्रविधीमैत्री बनाउनु पर्छ भन्ने बलियो सन्देश समेत दिनेछ ।” नेपाली सिटी म्याराथनको इतिहासमा नै पहिलो पटक हामी कोटा निर्धारण गर्दैछौं” ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङले भने–“यसले खेलाडीलाई अन्तिम समयमा आएर दर्ता गर्ने परिपाटी समेत निराकरण गर्नेछ भने सहभागि हुने हरुलाई समेत आफ्नो भूमिका के हुनुपर्छ भन्ने विषयमा प्रष्ट्याउँछ ।” सबै इभेन्टमा टेक्निकल डिभाइस ९चिप्स०को प्रयोग हुने भए पछि आयोजकले माघ २८ गते सम्म अन्तिम दर्ता तोकेको छ । तर यस अघि दौडको अघिल्लो दिन सम्म धावकहरु दर्ताका लागि आउने गरेको अध्यक्ष पराजुलीले बताए । उनले विगतका वर्षहरुलाई सम्झिंदै भने–“विगतमा खेलाडीको दर्ता अन्तिम समयमा हुँदा हामीले निकै ठूलो समस्या भोग्नु परेको थियो । तर यो वर्षबाट त्यो समस्या हट्नेछ संख्या अनुसार खेलाडीहरुको सहभागिता हुनेछ भने अन्यलाई हामीले ‘रन फर फन’मा जोड्ने छौं । ‘रन फर फन’को संख्या १० हजारको हाराहारीमा हुनेछ ।” उनका अनुसार खुल्ला म्याराथन ४२.१९५ किमि–१६० जना, महिला हाफ म्याराथन– ५० जना,१० किमि पुरुष–४५० जना,१० किमि महिला–१५० जना,५ किमि छात्र–१२०० जना,५ किमि छात्रा–७०० जना,५ किमि भेट्रान पुरुष– ५० जना र ५ किमि भेट्रान महिला–२५ जनाको सहभागिता रहनेछ ।  अपाङ्गतर्फको दौडमा भने चिप्सको प्रयोग हुनेछैन ।  पोखरा म्याराथनको मुख्य प्रायोजकको रुपमा सुजल डेरीको उत्पादन सफल दुध रहेको छ । यसै गरी गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, पोखरेली मञ्च युके, गैर आवाशिय नेपाली संघ, तमु धिं युके, सहारा युके, बगर भाइ खलक युके, नेपाल रन युके, नेपाली समाज अस्ट्रेलिया, अमेरिका, वि विल राइज फाउन्डेशनलागयतको मुख्य सहयोग रहनेछ । पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशी भएको म्याराथन समेत हो भने १८ औं सस्करणमा ४१ जना विभिन्न इभेन्टमा बिजेता प्रतियोगीहरुलाई १८ लाख १६ हजार नगद प्रदान गरिनेछ ।

पोखरा:     प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव अधिकारीले जानकारी दिए । पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पुर्‍याइएको उनले बताए । प्रेस चौतारी कास्कीले लामो समयदेखि बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो । चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए ।  यस वर्ष सम्मानित हुन लागेका मीना गुरुङ लामो समय सञ्चारकर्मममा योगदान गरी राजनीतिमा क्रियाशील छन् । साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा लामो सयमदेखि अनवरत योगदान दिएका छन् । यस वर्ष पुरस्कृत बराल दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । प्रेस चौतारी कास्कीका निवर्तमान अध्यक्ष बराल प्रेस चौतारी र प्रेस सेन्टर एकीकरण भएर बनेको प्रेस संगठन, कास्कीको पनि संयोजक बने । हाल नेपाल पत्रकार महासंघ कास्कीका सचिव बरालले २०५९ सालबाट पत्रकारिता थालनी गरेका थिए । पोखरा हटलाइनबाट पत्रकारितामा छिरेका बरालको गगन दैनिक, सन्ध्याकालीन दैनिक, माछापुच्छ्रे एफएम, धौलागिरी एफएम रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका, समाधान दैनिक, अन्नपूर्ण पोष्ट र पब्लिक टिभीमा काम गरेको अनुभव छ । उनले पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीको प्रेस संयोजकको भूमिका पनि निर्वाह गरेका छन् । बरालले २०६८ सालममा जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यस्तै, २०६६ मा अन्नपूर्ण एफएमबाट बेस्ट न्यूज पर्सन अफ दि इएर लगायतका आधा दर्जन पुरस्कार प्राप्त गरिसकेका छन् । बराल प्रेस चौतारीको अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभाग संयोजक छन् । मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दै रहेका बरालको स्थायी घर पोखरा २८, कालिका हो । उनी पोखरा १४ चाउथेमा बस्दै आएका छन् । गत वर्ष एकसाथ ५ पत्रकारहरु पुरस्कृत भएका थिए । २०७५ देखि २०७९ सम्मका पुरस्कारबाट क्रमशः अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भए । त्यसअघि, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भएका थिए । यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ । उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन समिति, उपाध्यक्ष तारा पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । कोषाध्यक्ष गिरीधारी पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । कार्यसमितिका सबै सदस्यहरु उपसमितिहरुका सदस्य छन् ।

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाटेडले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे । खेलमा पहिलो हाफ गोलरहित भएको थियो । दुवै टिमले गोल गर्न पटकपटक मौका पाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा चर्चब्वाइजले नेपाल पुलिसलाई दबाबमा राख्न सफल भएको थियो भने दोस्रो हाफमा पुलिस केही लय सुधारेर मैदान प्रवेश गरेको थियो । तर, गोल गर्न नसक्दा नतिजा उल्ट्याउन भने सकेन । आज चर्चब्वाइज विजयी भएसँगै पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्कडपको सेमिफाइनल पूरा भएको छ । २३ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् । अब चर्च ब्वाइजले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । पहिलो सेमिफाइनलमा भोलि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा:    पोखरामा निर्माणधिन घरको छतबाट खसेर एकजना इन्जिनियरको मृत्यु भएको छ । निर्माणाधिन घरको ५ औं तलाको छतबाट खसेर गम्भिर घाइते भएका इन्जिनियर भट्टराईको उपचारको क्रममा मृत्यु वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित चिनिमाया भण्डारीको निर्माणाधिन घरको छतमा तातोपानी सर्बे गर्ने क्रममा  लिफ्ट राख्ने स्थानबाट खस्दा इन्जिनियर भट्टराई गम्भिर घाइते भएका थिए ।  पोखरा महानगरपालिका–८ रत्नचोक बस्ने ३७ वर्षीय इन्जिनियर भट्टराई छतबाट खसेर गम्भिर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए  । इन्जिनियर भट्टराई पोखरा–९ न्यूरोडस्थित मुक्ति ईनर्जी प्रालिमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।