म्याग्दी: मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताए । “चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो”, उनले भने, “तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।” मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकामा पूर्ववडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गरे। खोंचभित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ । बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङ्ग्या गाउँका पासाङ छिरिङ गुरुङले बताए । “पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झैँ गर्छ”, उनले भने, “मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।” तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ । बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ । ढि गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साविक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन् । उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढि खोलाको तातोपानी नयाँ आकर्षण बन्नसक्ने सम्भावना छ । दिगोरुपमा बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पूर्ववडाध्यक्ष गुरुङले बताए । स्थानीयवासीका अनुसार मुस्ताङको पूर्वराजपरिवारका सदस्य स्नानका लागि ढि खोलामा आउने गर्दथे । उनीहरुले मुहान नजिकै स्नानका लागि आउनेहरुका लागि आश्रयस्थल बनाइदिएका थिए । स्थानीयवासीहरु हिउँदयाममा ढि खोलाको तातोपानी नुहाउन जान्छन् । व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले ढि खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताए ।
पोखरा: पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ । आहा! रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।
काठमाडौं: सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा लिटरको ४ रुपैयाँले र मट्टितेलमा लिटरको २ रुपैयाँले मूल्य बढेको छ । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरकफरक हुनेछ । यसका लागि निगमले ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र बीरगञ्ज क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५७ रूपैयाँ पर्नेछ । तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५८ रूपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य भने देशभर एक सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ पर्ने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
पोखरा: लेकसाइडमा पर्यटकलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले लेकसाइड हल्लनचोकमा पर्यटकलाई अभद्र व्यवहार गरेको आरोपमा हिजो (मंगलबार) प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित हल्लनचोकमा पर्यटकहरुलाई बाटो छेक्ने, झोला तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने, सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्य गरेको सूचनाको आधारमा ६ जनालाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । लेकसाइड बस्ने २२ वर्षीय सुदिप अर्याल, २६वर्षीय संदिप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्र बहादुर प्रधान, २३ वर्षीय सुशिल महतो र २६ वर्षीय राजन पौडेल अभद्र व्यवहार गरेको आरोपमा प्रकाउ परेका हुन् । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भेट्रानतर्फ सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ एक खेल सम्पन्न भएका हुन् । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । पोखरा भेट्रानले २५–१८, २५–७ र २५–१८ को सहज जित निकाल्दै फाइनल पुगेको हो । दोस्रो सेमीफाइनल खेलमा गगनगौडाले रामबजार भेट्रानमाथि पनि ३–० कै सोझो सेटमा जित हासिल गरेको हो । गगनगौडाले २५–२३, २५–२२ र २५–२३ को जित निकाल्दै पोखरा भेट्रानसँगको भेट पक्का गरेको हो । यस्तै महिलातर्फ दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । पहिलो खेलमा नवलपुरले मध्य नेपालमाथि २–० को सोझो सेटमा हराएको हो । नवलपुरले २५–१७ र २५–१७ को जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा कर्पाकेली समाजले पुन क्लबलाई २–१ को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । कर्पाकेलीले २५–१३, २३–२५ र २५–१० को सेटमा हराउँएको हो । यस्तै पुरुषतर्फ पनि एक खेल सम्पन्न भएका छन् । छन्त्याल समाज ‘ए’ ले भुक देउरालीलाई २–१ को सेटमा हराएको हो । छन्त्याल ‘ए’ले २५–२२, २५–२७ र २५–१८ को जित निकालेको हो । जारी प्रतियोगितामा क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ । समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बोलेरो जीप नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले अवैध काठसहित लामाचौरतर्फ आउँदै गरेको बोलेरो जीप नियन्त्रणमा लिएको हो । पोखरा महानगपालिका–१९ भुनपुरेस्थित पुरनचौरबाट लामाचौरतर्फ आउँदै गरेको ग २ च ५३५७ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा पठाएको कास्की प्रहरीले जनाएको छ । २ सय ७२ थान चिरुवा काठ (फल्याक) लोड गरेर लामाचौरतर्फ आउँदै गरेको जीप प्रहरीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा बुझाएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा थ्रीस्टारक्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई गोलमा परिणत गरेका हुन् । थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा! राराको उपाधि जितेको छ । थ्रीस्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ । भोलि अन्तिम सेमिफाइनल अन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।
चितवन: नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो । बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नं। १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए । उनी कांग्रेसको महासमिति सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ ।
बुटवल: कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । मन्त्री गुरुङले बुधबार प्रेस युनियनले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले मन्त्री फेर्ने बताए पनि अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको बताएका हुन् । गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको भोटक्रसले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने बताए । कोशी घटनाका विषयमा गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको भन्दै उनले यसको च्याप्टर छिटै क्लोज हुने जिकिर गरे । मन्त्री गुरुङले देशको आर्थिक संकट तंग्रिँदै गएको बताउँदै श्रीलंकाजस्तो अवस्था पुग्ने भनेर गरिएका प्रचार अनावश्यक भएको बताए । कांग्रेस उपसभापति समेत रहेका गुरुङले कांग्रेसका भ्रातृ संगठन भद्दा र ठूला बनेको भन्दै भीड बढाउँदै पार्टी बन्न नसक्ने धारणा राखे । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको उनले बताए।

