पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

काठमाडौं:     नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो । नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरेका थिए । नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए । नेपाललाई ओपनर अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि १३.२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए । राज लिम्बानीको बल पुलसट खेल्ने चक्करमा एज लागेर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । उनले ४२ बल ३ चौका हानेका थिए । त्यसपछि मैदान आएका उत्तम थापा मगर ३० बलमा १ चौकासहित ८ रनमा क्याच आउट भए । त्यो समय नेपाल २१।५ ओभरमा ६५–२ को अवस्थामा थियो । एक समय नेपाल २३ ओभरमा ७१–२ को अवस्थामा थियो । स्पिनर सौम्य पाण्डेको लेन्थको बल मिस गर्दा अर्जुन कुमाल बोल्ड आउट भए । अर्जुन आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । विशाल विक्रम केसी र गुलशन झा १–१ तथा दीपक डुम्रे र दीपेश कँडेल खाता खोल्न नसक्दा नेपाल २७।५ ओभरमा ७७–७ को दयनीय अवस्थामा पुगेको थियो । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए । त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए । एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ओपनर आदर्श सिंह २१, आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए । नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए । नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो । नेपाल समूह चरणमा पाकिस्तानसँग ५ विकेट र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अव नेपालको समूहबाट सेमिफाइनलमा पाकिस्तान र बंगलादेश मध्य एक टोली पुग्नेछन् । यी दुई टोलीबीच भोलि आज हुनेछ । पाकिस्तान विजयी भएमा सोझै सेमिफाइनल खेल्नेछ । तर बंगलादेश विजयी भएमा दुबै टोलीको ६–६ अंक हुने हुँदा नेटरनरेटमा भर पर्नेछ । अर्को सुपर सिक्सबाट अष्ट्रेलिया शीर्ष र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

पोखरा:    मञ्जुश्री संवत २८६० औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज ( शनिबार) पोखराको पोखरा सभागृहमा हुने भएको छ । प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रतियोगिको रुपमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् ।  मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र  तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान जित्ने छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार  प्राप्त गर्ने बैदाम तामङ समाज अध्क्षय ज्याक तामाङले जानकारी दिए । सहभागीहरुलाई ४५ दिन लामो तालिम दिइएको थियो । तामाङतामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियर सम्बन्धी तालिम, साइबर सेक्युरिटी, आत्मविश्वास, सौन्दर्यकला सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गरेका थिए । तालिममा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेशका पूर्व सदस्य एवम सौन्दर्यविद मिना गुरुङ्ग, चिनु गुरुङ्ग, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, दिपेन्द्र पहारी, नोभेल एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्य, नेपाल तामाङ्ग घेदुङ्ग का उपाध्यक्ष दीपक वाइवा तामाङ्ग, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, कलाकार माओत्से गुरुङ्ग,  नेपाल तामाङ्ग घेदुङ्गका पूर्व अध्यक्ष धनप्रसाद तामाङ्ग, खोजराज गोले, विश्व दोङ्ग लगायतले तालिम प्रदान गरेका थिए । ग्राण्ड फिनालेका लागि मुख्य निर्णायकमा क्याप्टेन विजय लामा रहनुहुनेछ । गायक संगीतकार राजनराज शिवाकोटी र संजिव वाइवाको प्रस्तुति पनि उक्त दिन रहने छ । साथै कार्यक्रमको सञ्चालन आवाजको दुनियाको साथी सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले गर्नुहुनेछ । कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य माननिय राधिका तामाङ्गको प्रमुख आतिथ्यतामा हुनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस  तामाङ पोखरा  तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको यस वर्ष गर्ने मिस तामाङ पोखराको आठौं संस्करण हो ।

पोखरा:     त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपिएफले फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले आर्मीलाई २५–२०, १४–२५, २८–३०, २५–१४ र १५–१३ को सेटमा पराजित गर्यो । अब एपिएफले उपाधिका लागि शनिबार गण्डकी प्रदेशसँग खेल्नेछ । आर्मीले तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । यसअघि शुक्रबारै भएको पहिलो सेमिफाइनलमा गण्डकीले पुलिसमाथि २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । चौथो हुने टिमलाई सान्त्वना स्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका छन् ।

काठमाडौं:    दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको हो ।  भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेले । सचिनले एक सय १६ रन बनाए । उनले १ सय एक बलमा ११ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । उदयले १ सय ७ बलमा ९ चौकाको सहयोगमा शतक बनाए ।  यस्तै ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाए । बलिङमा नेपालका गुलशन झाले तीन तथा र अकाश चन्दले एक विकेट लिए । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । सुपर सिक्सको खेल अघिनै सेमिफाइनल दौडबाट बाहिरिएको नेपाल आज भारतलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।  भारतसमेत पराजित रहँदै तीन खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । भारत पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ । 

पोखरा:    गण्डकी प्रदेश महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई पहिलो सेमिफाइनलमा ३–२ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  गण्डकीले नेपाल पुलिस क्लबलाई २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  माघ १४ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसँगै ७ प्रदेशका गरी १० वटा टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

सर्लाही:    सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका–२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका(७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।           ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र ०२–०२७ प ४२५६ नम्बर र बिआर ३० एसी ८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा प्र ०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी ८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।  संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।         

पोखरा:   बेलायतको स्कटल्यान्ड एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीको निधन भएको छ । ब्याक हिल्टन रोडमा बस्दै आएका पोखराका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो । उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदीको छोरी हुन् । आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीको मृत्यु भएको प्रहरील बताएको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा भने समुन्द्री तटमा काम गर्थिन्।

सर्लाही:   जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।  उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो । ट्राफिक कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए। उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ ।  छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रनि थापाले जानकारी दिए।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताएका छन् ।  शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने सन्दर्भमा छलफल भएको बताए । अध्यक्ष ओलीले विधेयकलाई राम्रोसँग छिटो टुङ्ग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए ।  उनले भने, ‘‘शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुङ्ग्याऔँ भन्ने छलफल भएको हो । टिआरसीको बारेमा एमालेको अडान यथावत् छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’’ अध्यक्ष ओलीले टिआरसीसँग सम्बन्धित विधेयकमा पीडितमैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत् रहेको पनि बताए ।