पोखरा: भावना रानाभाटले कौसी क्विन पोखरा २०८० को उपाधि जितेकी छिन् । शनिवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले १८ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै पोखरा ६ कि कौसी कृषक रानाभाटले कौसी क्विन प्रतियोगिता २०८० को उपाधि जितेकी हुन् । विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै नगर रु १५ हजार, ट्रफी, कौसी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन । प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छिन् । यस्तै पोखरा ८ की कान्ति कुमारी अधिकारी तेस्रो र पोखरा १७ की गायत्री अर्याल सान्त्वना भएकी छिन् । उनीहरूलाई क्रमशः नगद रु।१० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाण पत्र र कप पुरस्कार स्वरूप प्रदान गरिएको छ । प्रतियोगितामा कौसी खेतीमा संलग्न १९ जना कौसी कृषकहरूले भाग लिएका थिए । यस्तै शनिवार नै भएको वडा स्तरीय कौसी बाली प्रतियोगितामा पोखरा ८ प्रथम भएको छ । वडा स्तरीय कृषि सञ्जालका बिचमा भएको उक्त प्रतियोगितामा कृषि सञ्जाल पोखरा ८ प्रथम भएको हो । उसले नगद रु१० हजार पुरस्कार प्राप्त गरेको छ । कृषि सञ्जाल पोखरा १७ दोस्रो, पोखरा ७ तेस्रो र पोखरा ९ सान्त्वना भएका छन् । उनीहरूलाई क्रमशः नगद रु७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको छ । विजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा विजेताहरूलाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख धनराज आचार्यले तरकारीको आयातलाई प्रतिस्थापन गर्न यस प्रकारको गतिविधि निकै प्रभावकारी हुने बताउनुभयो । पोखरा महानगरपालिकाको सहरी वडाका करिब ३० हजार घरधुरीमा कौसी खेती गरिएको उहाँले बताउनुभयो । यसले ३० हजार परिवारलाई विशेष परिस्थिति बाहेकको अवस्थामा तरकारीमा आत्मनिर्भर बनाएको र अर्ग्यानिक उत्पादनको प्रयोगले स्वास्थ्यमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको उहाँले बताउनुभयो । कृषकहरूको अर्थोपचार र कृषि उपजको बजार सुनिश्चितता सहित उनीहरूका समस्याहरू समाधानका सम्बन्धमा पोखरा महानगरपालिका गम्भीरताका साथ लागिरहेको उहाँले बताउनुभयो । बाँदर नियन्त्रण राष्ट्रिय स्तरमा समेत चर्चाको विषय बनेको उल्लेख गर्दै उहाँले बाँदरका कारण समस्या झेलिरहनु भएका कृषकहरूलाई विशेष व्यवस्था सरकारको तर्फबाट हुने विश्वास दिलाउनु भयो । कृषिजन्य उत्पादनमा महानगरपालिकालाई आत्मनिर्भर बनाउने कार्यमा कृषकहरूको उल्लेखनीय भूमिका रहने बताउँदै उहाँले कृषियोग्य भूमिलाई बाँझो नराख्न र सम्भव भएसम्म कौसी र करेसाहरूमा समेत तरकारी लगाउन आह्वान गर्नुभयो । महानगरले कृषकहरूलाई मल, बिउ र घाँस लगायतमा अनुदान र साझेदारी कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कौसी करेसा खेतीले पोखराको आर्थिक विकासमा मत्वपुर्ण टेवा पुगेको बताउनुभयो । क्लिन सिटी ग्रिन सिटीको अवधारणालाई सार्थक बनाउन कौसी करेसा कृशहरूको भूमिका उल्लेखनीय रहने उहाँले बताउनुभयो । महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले कौसी खेतीले स्वच्छ उत्पादन र स्वस्थ उपभोगमा जोड दिने बताउनुभयो । वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बराल र वडा नं.९ का दीपेन्द्र मर्सानीले कौसी खेतीले महिला दिदीबहिनीहरूलाई तरकारीमा आत्मनिर्भरता र फोहोर व्यवस्थापनमा प्रोत्साहन मिलेको बताउनुभयो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कौसी करेसा खेतीमा संलग्न कृषकहरूको हौसलाका लागि यस प्रकारको कार्यक्रम गरिएको बताउनुभयो । पोखरा नगर क्षेत्रमा कौसी करेसा खेती गर्ने कृषकहरूका लागि मल, बिउ र तालिम लगायतका कार्यक्रमहरूमा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताको मुल्याङकन समितिमा कौसी खेती विज्ञ नारायण अधिकारी, कृषि विज्ञ लेखनाथ आचार्य, प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ रहनुभएको थियो । यस्तै कृषि सञ्जाल तर्फ बागवानी स्रोत केन्द्र मालेपाटनका प्रमुख गोविन्द कोइराला, कृषि विकास अधिकृत दामोदर अधिकारी र महानगरको सरसफाइ शाखा प्रमुख कल्पना बराल रहनु भएको थियो । कार्यक्रममा सयपत्री फुलको ७ हजार मालाको प्रतिगोता रु २० का दरले १ लाख ४० हजार उपलब्ध गराइएको छ । महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङले कृषकहरूलाई सो समर्थन मूल्य प्रदान गर्नुभएको हो ।
काठमाडौं: एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो। नेपालका सीता राना मगरले अविजित ३२ र रुविना क्षेत्रीले अविजित १७ रन बनाइन । कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भइन । नेपालले ११ रन अतिरिक्त पाएको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । भुटानका नवाङ छोडेनले २५ रन जोडिन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रन बनाइन । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो । नेपालको २ खेलमा ४ अङ्क भएको छ । पर्सि मंगलवार माल्दिभ्ससँग हुने खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । त्यस्तै फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।
झापा: झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं। ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न।को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका लागि अस्पताल पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ बर्सिया लीला गौतम घाइते भएका छन् । दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले बताएका छन् ।
पोखरा: १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको १८०० मिटर दौडमा सुरेश कुमार गौली पहिलो भएका छन् । उनले उक्त दौड पुरा गर्न ७ मिनेट ४१.३ सेकेण्डमा दुरी पार गरे । यस्तै दोश्रो भएका भरत अधिकारीले ७ मिनट ५७.३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेण्डमा पार गरे । यस्तै महिलातर्फको ह्विल चेयर दौड काठमाण्डौकी ऐश्वर्य कुमारी कुमालले जितेकी छन् । उनले १००० मिटरको दौड ४ मिनेट ९।८ सकेण्डमा पार गरिन् । यसै गरी महिलातर्फ काठमाण्डौकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेटमा दौड पुरा गरी दोश्रो भइन् भने पोखराकी अञ्जु बराल तेश्रो भइन् । उनले उक्त दुरी ६ मिनेट ४४.५ सेकेण्डमा पार गरिन् । पुरुष १०० मिटर दृष्टिबिहिन दौडमा आशिक खडगी १३.४ सेकेण्डको समय लिदैं प्रथम भएका छन् भने दोश्रो भएका विरेन्द्र लामिछानेले १३.४ सेकेण्डमा दुरी पार गरे । त्यस्तै टुल्का डाँगी तेश्रो भए भने प्रमोल दाहाल र सुशिल गोदारले चौथो र पाँचौ हुँदै सान्त्वना स्थान प्राप्त गरे । महिला १०० मिटर दृष्टिविहिन दौडमा बिनिता पुन पहिलो भएकी छन् । उनले उक्त दुरी १२.२ सेकेण्डमा पार गरिन, दोश्रो भएकी सिर्जना परियारले १३.८ सेकेण्डमा दौड पुरा गरिन । त्यस्तै १५.२ सेकेण्डमा दुरी पार गरेकी मायाँ गौतम तेश्रो भइन् भने प्रतियोगितामा पुर्णिमा गुरुङ चौथो र मोनिका थापाले पाँचौ स्थान हासिल गरे । बिजेता ह्विल चेयर र दृष्टिविहिन महिला तथा पुरुषतर्फ पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश जनही नगद रु १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे भने दृष्टिविहिन पहिलो, दोश्रो तथा तेश्रो र सान्त्वना भएका दृष्टिविहिन महिलारपुरुष खेलाडीहरुलाई सेतो छडी सिविआरएसको सहयोगमा प्रदान गरिएको थियो । ह्विल चेयरतर्फ पहिलोल दोश्रो र तेश्रो भएका महिला र पुरुष खेलाडीहरुलाई रोटरी क्लव ३२९२ को तर्फबाट एक–एक थान ह्विलचेयर प्रदान गरिएको छ । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, प्रतियोगिताका पा्रयोजक दुर्गा गुरुङ ९यूके०, मेजर लक्ष्मी प्रसाद गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गिय गंगा गुरुङका छोरा मनोज गुरुङ, रोटरी क्लवका एजी पुरन कुंवर, डायमण्ड वुद्धिस्ट यूकेका अध्यक्ष योगेश गुरुङ, सिबीआरएसका कार्यालय ब्यवस्थापक कृष्ण लामिछाने, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटलगायतले मेडल, नगद, प्रमाणपत्र तथा सेतो छडी प्रदान गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पोखरा: बगर भाइ खेलकको आयोजना जारी भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो । शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो भने, बगरले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै अत्यन्तै रोमाञ्चक बनेको ४० वर्षमाथि समूहको फाइनल खेलमा जोरपाटीले नागस्वेती भेट्रान हेटौंडालाई सडन डेथमा ८–७ ले हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी भएपछि सडनडेथमा ८–७ को जित निकालेको हो । सडनडेथसम्म पुग्दा कुल १०–१० पेनाल्टी प्रहार गरेका थिए । उपाधिसँगै जोरपाटीले दुई लाख रुपैयाँ हात पार्दा नागस्वेतीले एक लाख रुपैयाँ प्राप्त ग¥यो । नागस्वेतीका कृष्ण शाक्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक जोरपाटीका छिरिङ लामा घोषित भए । उनी प्रतियोगिताको म्यान अफ दी म्याच समेत घोषित भए । टोलीलाई उपाधि चुमाउन फाइनलमा उनको खेल निकै प्रसशां योग्य थियो । उत्कृष्ट मिडफिल्डर जोरपाटीकै रन्जित लामा घोषित भए । प्रशिक्षकतर्फको समेत जोरपाटीकै पोल्टामा रह्यो । बुद्ध लामा उत्कृष्ट प्रशिक्षण घोषित भए । उत्कृष्ट फरवार्ड नागस्वेतीका निमा लामा घोषित भए । डिफेन्डरमा नागस्वेतीका सन्तोष बस्नेत उत्कृष्ट घोषित भए । विधागततर्फका सबै विजेताले ट्रफीसँगै नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरे ।
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो । क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २–० ले सिरिज जितेको हो । पहिलो खेलमा विहीबार नेपाल ७ रनले विजयी भएको थियो । अब अन्तिम खेल सोमबार हुनेछ । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १(१ विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १(१ विकेट रह्यो ।
काठमाडौं: नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ९६ खानीलाई उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिङ्क एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् । घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । ‘नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो’, उनले भने । यस्तै विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ ।
पोखरा: गण्डकी प्रदेश सभाका सांसद विन्दुकुमार थापाले पाएको तलब भत्ता विकास निर्माणदेखि विभिन्न सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सांसदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थापाले एक वर्ष सम्म पाएको पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसबाट दोस्रो पटक निर्वाचित थापाले ०७९ पुस २५ देखि पाएको ८ लाख ९६ हजार १ सय ६० मा रकम थप गरेर ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको सांसद थापाले बताए । गण्डकी प्रदेश सभाको पहिलो कार्यकालमा पनि सांसदले पाउने तलब भत्ता विकास निर्माणमा नै खर्च गरेका सांसद थापाले दोस्रो कार्यकालको तलब भत्तालाई विकास निर्माणमा खर्च गर्ने बताएका हुन् । सांसद थापाले प्रदेश सभाको विभिन्न बैठकभत्तादेखि मासिक पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् । सांसद थापाले पोखरा महानगरपालिका–१६ शान्ति टोलका ५ जनाको घरमा खानेपानीको धारा जडानदेखि विभिन्न बिरामीलाई आर्थिक सहयोग र विकास निर्माणमा खर्च गरेका हुन् ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ। त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो। माघ १२ गते विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। उक्त घटनापछि विमानस्थल सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा बुझाएका थिए। तर उनको राजीनामा फिर्ता गरी प्रहरी प्रधान कार्यालयले उनलाई प्रदेश समन्वय विभागमा सरूवा गरेको थियो।

