काठमाडौं: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने बताउनुभयो । “खर्बौंको ‘डिलिङ’ क्रिप्टोमार्फत भइरहेको सूचना छ, सरकारले त्यसलाई अवैध मानेको छ, हुण्डी र विदेशी मुद्राको कारोबार नयाँ ढङ्गले भइरहेको छ, प्रतीतपत्र (एलसी) खोल्नेमा नयाँ प्रवृत्ति देखिएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “यसले अर्थतन्त्रमा नयाँ समस्या पैदा गरेको छ, ठूल्ठूला अपराधकर्ममा क्रिप्टोकरेन्सीको प्रयोग भइरहेको छ, हालैको सुन काण्डमा पनि क्रिप्टोको प्रयोग भएको देखिएको छ, यसलाई कुनै हालतमा नियन्त्रण गर्नुपर्छ ।” क्रिप्टोकरेन्सीको अनुसन्धान गर्न दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले यसका लागि कानुनी प्रावधानको कमी सरकारले महसुस गरेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सहकारी आफ्नो मूल मर्मबाट विचलित भएर वित्तीय संस्थाका रुपमा परिणत हुनुले समाजमा वित्तीय अपराध र ठगी बढ्दै गएको बताउनुभयो । सहकारी ठगीलाई नियन्त्रण गर्न सरकारले कानुन निर्माण गर्ने तयारी गरेको उहाँको भनाइ छ । “कानुन संशोधन गरेर सहरकारीलाई पुनःपरिभाषित गर्ने र त्यस आधारमा सहकारी सञ्चालन गर्नुपर्छ, सहकारीलाई बैंक जस्ता संस्थाका रुपमा गतिविधि गर्न पाइँदैन”, श्रेष्ठले भन्नुभयो, “गठन आदेशद्वारा नियामक निकाय गठन, बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई प्रभावकारी बनाउने सरकारको निर्णय छ ।” सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गर्दै उहाँले त्यस्ता सहकारीका कारोबारका बारेमा चाँडै अनुसन्धान थालिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचतकर्तालाई न्याय दिने प्रक्रिया अघि बढेको बताउनुभयो । “सरकारले बचतकर्तालाई न्याय दिनेछ, सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाइनेछ”, उहाँले भन्नुभयो । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पछिल्ला दिनमा आर्थिक अपराधका शृङ्खला बढेको अवस्थामा यससम्बन्धी अपराधको अनुसन्धान गर्न विशिष्टकृत संरचना बनाउनुपर्ने बताउनुभयो । उहाँले वैज्ञानिक, वस्तुनिष्ठ र विश्वसनीय प्रमाणका आधारमा अनुसन्धान, अभियोजन र न्याय निरुपण हुने प्रणालीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले आर्थिक अपराधको अनुसन्धान गर्न विशिष्टीकृत ब्युरो स्थापनाका लागि गृहकार्य थालेको बताउनुभयो । अपराध अनुसन्धानप्रति प्रहरी गम्भीर रहेको उल्लेख गर्दै उहाँले प्रविधिमैत्री अनुसन्धानलाई अगाडि बढाउन प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले विद्युतीय अपराधले सिर्जना गरेका चुनौती समाना गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गरिनुपर्ने बताउनुभयो । साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्तिको विकास गर्नुपर्छ भनेर कामपाले छात्रवृत्तिमा तालिम दिन लागेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ । उनको नियुक्ति बदरको माग राखेर भरत मरासिनीले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कार्यकारी निर्देशकका रूपमा कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा तत्काल प्राप्त प्रमाणबाट पुनको योग्यता पुगेको नदेखिएको भन्दै उनलाई कार्यकारी निर्देशकका रुपमा कामकाज नगर्न र नगराउन अन्तरिम आदेश जारी भएको हो । यसअघि गत पुष २९ गते न्यायाधीश जनक पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । गत पुस ४ गते पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि योग्यतामा प्रश्न उठाउँदै मरासिनीले रिट दायर गरेका थिए ।
काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा अखाद्य रंग भेटिएकाले नखान सरकारले आग्रह गरेको छ । विभागका अनुसार खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको छ । विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाइन बी प्रयोग भएको पाइएको हो । त्यसैले विभागले सूचना जारी खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ । साथै अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि विभागले भनेको छ । यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ । रोडामाइन बी एक केमिकल हो । खाद्य पदार्थको रंग परिवर्तन गर्न, सौन्दर्यका प्रशोधन, आतसबाजी, कालो मरिच लगायतका मसला लगायतमा पनि उपयोग हुने गरेको छ ।
पोखरा: सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका– ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा तीन–तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुगिसकेका छन् । आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन् । आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताए । बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन् । प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका– २३ का जीवनाथ लामिछाने प्रथम भएका छन् । त्यस्तै पोखरा– ३० खुदीका वसन्त पौडेल द्वितीय र पोखरा– २७ का विक्रम अधिकारी तृतीय बने । पोखरा– ३१ की सृजना लामिछाने महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बनेकी थिइन् । कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर सिध्याएका थिए । विजयीलाई मह प्रदान गरी पुरस्कृत गरिएको थियो । प्रथम हुनेलाई एक केजी महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो । नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको जनाउँदै उहाँले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताए । उनले मह प्रतिकिलोग्राम एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिए । वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको बताउँदै उनले अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको जानकारी दिए ।
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटी रहेका छन् । पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल गएराति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको थियो ।
थाइल्यान्डबाट रसियाको मस्को जाँदै गरेको एअरएम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । एअर एम्बुलेन्समा रहेका ६ जनामध्ये चार जनाको जीवितै उद्धार भएको छ भने दुईजना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरुको बारेमा जानकारी सङ्कलन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एअरपोर्टमा रोकिएकाले शुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि अस्ति शनिवार विमान उडेको थियो । यसअघि रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित एअर एम्बुलेन्स बेपत्ता भएको बताएका थिए ।
तनहुँ: तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् । तनहुँ देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २:३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको हो । चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ । भूकम्पपीडितको सहयोगार्थ १२८ भन्दा बढी संस्था र व्यक्तिहरूले उक्त रकम कोषमा जम्मा गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको छ । गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो । ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो । भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितको सहयोगार्थ कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो ।
बर्दियाबाट काठमाडौं जाँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको हो । दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो। चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

