राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

म्याग्दी:    म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मंगला(५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए । ‘चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो’, उनले भने, ‘पुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो ।’ उनका अनुसार उक्त खेलमैदानमा पुस १५ देखि १७ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न एक हजार पाँच सयले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाइएको छ । बाबियाचौर, पीपलबोट, रणवाङका युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए । बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका थिए । गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाएको छ । जमिन सम्याउन डोजर भाडा र स्टेज बनाउन रु पाँच लाख बराबरको खर्च भएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले जानकारी दिए । ‘झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ । खेलमैदानले स्वरुप लिएको छ’, उनले भने । गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो ।  खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो । गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ ।व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए । कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उनको भनाइ थियो ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् ।    उनले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार खर्च गर्ने प्रक्रियामा रहेर मात्रै यो रकम खर्च हुने बताए ।  आज बसेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने विषय नरहेको बताए ।  भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा हिजो काठमाण्डौमा रहेको भारतीय दूतावासले सिधै २० करोड रुपैयाँका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताए। 

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा ९२० अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको छ । दरखास्त सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र पेस गर्नुपर्नेछ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्नेछ । रिक्त उपकुलपति सिफारिसका प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले गएको कात्तिक तेस्रो हप्ता शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको थियो । त्रिविका उपकुलपति डा। धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १६ गते सकिएको थियो । बास्कोटाको कार्यकाल सकिएपछि रेक्टर शिवलाल भुसालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान सम्बन्धी मुद्धाका फरार व्यक्तिलाई प्रकाउ गरेको छ ।   कास्कीको मादी गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका १३ काहुँखोला बस्ने ४४ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई ज्यान सम्बन्धी मुद्धामा प्रहरीले प्रकाउ गरेको हो ।  जिल्ला अदालत कास्कीले गएको भदौ १८ गते क्षेत्रीलाई ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवना फैसला गरेको थियो ।   जिल्ला अदालत कास्कीले ज्यान सम्बन्धी कसूरमा गरेको फैसालाको ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान बाँकी रहेको समयमा प्रतिवादी क्षेत्री हालसम्म फरार थिए ।  ज्यान सम्बन्धी कसूरमा प्रकाउ परेका क्षेत्रीलाई जिल्ला अदालत कास्कीले कारागार चलान गर्न आदेश दिएको छ ।   

पोखरा:   पोखरा महानगरपालिका– वडा १ को खेलकुद विकास समितिले यही (२१ गते) शनिबारदेखि व्यायाम अभियान सुरु गर्ने भएको छ ।    वडाका सम्पूर्ण नागरिकहरुलाई स्वस्थ्य राख्न, शारीरिक व्यायाममा जागरुक बनाउने उद्देश्यसहित ‘आऔं, खेलौं, स्वस्थ्य बनौं’ भन्ने नारासहित पोखरा–१ मा सामूहिक व्यायाम सुरु गरिने खेलकुद विकास समितिका अध्यक्ष विष्णुकुमार गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।    उनका अनुसार सो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म राष्ट्रिय माविको प्राङ्गणमा सञ्चालन हुने छ ।   ‘विश्वव्यापी विकवित प्रविधि, सामाजिक परिवर्तन र संस्कृतिमा भएको परिवर्तनले मानिसहरुको दैनिकीलाई व्यस्त बनाएको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यमा दिनानुदिन थपिदै गएको चुनौतीहरुलाई मध्यनजर गर्दै पोखरा–१ मा साप्ताहिक रुपमा शारीरिक व्यायाम सञ्चालन गर्दैछौं ।’   उनले वडावासीलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउने बताउदै हरेक शनिबार बिहान २ घण्टा शारीरिक व्यायाम कार्यक्रम सञ्चालन गर्न लागेको दोहोर्याए ।   उनका अनुसार उक्त २ घण्टाको समयावधिमा जुम्बा,  योगा र ध्यान हुनेछ ।   ‘हामीहरुले पोखरा–१ का नागरिकहरुलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउन पनि प्रत्येक शनिबार शारीरिक व्यायाममा जोड्न लागेका हौं’, उनले भने, ‘हामीले शनिबार करिब २ घण्टा जुम्बा विज्ञ र योगा प्रशिक्षकबाट व्यायाम गराउने छौं ।’   अध्यक्ष गुरुङका अनुसार जुम्बाका लागि प्रशिक्षक तमन्ना गुरुङ  र योगातर्फ भगवती सुवेदीले नेतृत्व गर्नेछिन् ।    पोखरा–१ को खेलकुद विकास समितिले आयोजना गर्ने सो कार्यक्रममा वडाको बजेट नभई विभिन्न व्यवसायीहरुको सहयोगमा खर्च जुटाइएको वडाध्यक्ष साहारा प्रधानले बताए ।   उनले वडाका नागरिकहरुलाई स्वस्थ्य बनाउनका लागि अभियान नै सञ्चालन गरेको जानकारी दिए ।   कम्तिमा  ६ महिनामा २४ दिन चल्ने सो कार्यक्रममा करिब ३ सय देखि ५ सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।  

गोरखा:   गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बीच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए। संस्थाले गण्डकी, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक र चुमनुब्री गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको उनले बताए । अहिले वितरण गरिएका एम्बुलेन्स ‘ख’ वर्गका हुन् ।  संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत संयुक्तरुपमा साँचो हस्तान्तरण गरेर उपलब्ध गराए । एम्बुलेन्ससँगै संस्थाले पालिकालाई औषधिसमेत उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए। एम्बुलेन्स तथा औषधिसहित संस्थाले पालिकालाई करिब रु दुई करोड ८० लाख बराबरको सामग्री वितरण गरेको हो । संस्थाले पालुङटार नगरपालिकालाई पनि केही समयपछि एम्बुलेन्स उपलब्ध गराउने उनको भनाइ छ  । यसअघि पनि संस्थाले गोरखा विभिन्न पालिकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।

पोखरा:  बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक आयोजना हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको छ ।   चङ्गा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते शनिबार (जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।    उनका अनुसार फेस्टिबलमा प्रजिना, जोन चाम्लिङ राई र स्रिजल विक्रम भण्डमारी (स्रेगो)ले विशेष प्रस्तुती दिनेछन् भने हुबाको टिमले फेसन शो प्रस्तुत गर्नेछ ।    निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै मोडलहरुले फेसन शो गर्ने बताए ।    ‘यस्तो कार्यक्रम पोखरामा पहिलोपटक आयोजना गर्दैछौ, निर्देशक गुरुङले भने, ‘यसले हाम्रै पोखराको र नवदीत कलाकारहरुलाई एक्सप्लोर गर्ने छ । त्यसैले हामीले आर्ट र म्युजिकलाई जोडेर फेस्टिबल आयोजना गरेका हौं ।’ उनले म्युजिक फेस्टिबलको माध्यमबाट संगीत र कलासँग जोडिएका संस्कृतिहरुको प्रर्वद्धन गर्ने विश्वास लिएको बताए ।   हुबा ब्राण्डले विगत दुई बर्षदेखि विभिन्न प्रकारका कपडालाई ब्राण्ड गर्दै आएको छ । युवाहरु मिलेर सञ्चालनमा ल्याएको हुबाले चङ्गा प्रोडक्सनसँग सहकार्य गर्न पाएकोमा हुबाका क्रियटिम म्यानेजर सुशिल सापकोटाले खुशी व्यक्त गरे । ‘चङ्गासँग हाम्रो पहिलोपटक अफिसियल्ली सहकार्य यो इभेन्टका लागि भएको छ, सापकोटाले भने,  ‘यहाँहरुको इभेन्ट पृथक भएकाले पनि हामी चङ्गासँग कोल्याब्रेट गरेका हौं ।’   सापकोटाले अरुबेला हुने फेसन शो भन्दा चङ्गा फेस्टिबलमा फरक खालको शो हुने जानकारी दिए । ‘अरु बेलाको फेशन शो भन्दा यो इभेन्टमा फरक खालको शो देख्न पाउनुहुनेछ । म्युजिकमा र्याम्प वाक मात्र नभएर एक्टिङलाई पनि स्पेस दिएका छौ, उनले भने ।   सो फेस्टिबलमा द इन्फ्लेम ब्यान्ड, द अदृश्य किरण एण्ड मोर लगायतले सांगीतिक प्रस्तुती दिनेछन् ।   यस्तै सो फेस्टिबलमा विभिन्न आर्ट लगायत पोखरेली ब्राण्डहरुका करिब ४० वटा स्टल रहने छन् भने टिकट पृथ्वीचोकको कुन्तीमलस्थित बक बक क्याफेमा उपलब्ध रहेको छ ।    ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ युवाहरुको सशक्तिकरणमा टेवा पुर्याउने लक्ष्यसहित आयोजना गरेको बताइएको छ ।  

पोखरा:   पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । बगर भाइ खलकको आयोजनामा पोखरा टुँडिखेलको खेलमैदानमा १३ औं संस्करणको बगर भाइ खलक तथा दोस्रो हिमालयन ब्रअरी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुन लागेको हो ।  प्रतियोगिताको मुख्य संयोजकमा इश्वर गुरुङ रहेका छन् । प्रतियोगिताका तयारीका लागि विभिन्न १३ वटा उपसमितिहरु बनाइएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिएका छन् ।  उनका अनुसार तीन वटा उमेर समुह ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि खेलाडीहरु बिच प्रतियोगिता हुनेछ । ४० वर्षमाथि उमेर समुहको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एकलाई रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड्फिल्डर, फरवार्ड र प्रशिक्षकले समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।    ५० वर्षमाथि उमेर समुहको विजेताले नगद एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६० वर्ष माथि उमेर समुहका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ प्रप्त गर्नेछन् ।  प्रतियोगिताको मुख्य प्रायोजकमा हिमालयन ब्रुअरी रहेको छ भने सह–प्रायोजकमा प्रदेष खेलकुद परिषद गण्डकी, बगर भाइखलक युके र पोखरा महानगरपालिका रहेको छ ।  विशेष सहयोगी संस्थामा सहारा युके, पोमनपा वडा न १ को कार्यालय, कृषि बिकास बैंक र सफल दुध रहेका छन् ।  माघ २१ देखि माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा युके, देहरादुन, कलकत्ता, काठ्मान्डौ, ललितपुर, हेटौडा , नवलपरासी, बुटवल, सिमरा, वीरगंज, चितवन, पोखरा लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि करिब ३० टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ।

पोखरा:   फेवातालस्थित फुटट्र्याकमा फोटोग्राफी काम गर्नेसँग रकम उठाई ठगी गरेको प्रकरणमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पोखरा महानगरपालिका ६ बैदाम बस्ने वर्ष ४० का मिलन पहारीलाई  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।    विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीका आधारमा पहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई मंगलबार पक्राउ गरि बुधबार अदालत पेस गरिएकोमा बयान नसकिएपछि हिरासतमै राखिएको प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । यसअघि यसै प्रकरणमा पक्राउ परेका वडा सदस्यसहित चार जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।