निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

मनाङ:   प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ ।  जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२:३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो ।  कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।

बाजुरा:  बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका(८ को मतदान केन्द्र, बुढीनन्दा ५ र स्वामिकार्तिक खापर गाउँपालिका ४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

डडेल्धुरा :   प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’

काठमाडौं:   प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका आज आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो । यसैक्रममा अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि क मतदान गर्नुभयो । सोही पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ–१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज बिहान ७ः३० मा मतदान गर्नुभयो ।   सोही पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ स्थित बागेश्वर आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ । सोही पार्टीका उपमहासचिव वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रमा मतदान गर्नुभयो । उहाँ रोल्पाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ को राप्ती–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँ चितवन क्षेत्र नं १ मा एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ । सोही पार्टीका सचिव योगेश भट्टराईले मैवाखोला गाँउपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा पहिलो मतदान गर्नुभयो । उहाँ ताप्लेजुङमा एमालेका उम्मेदवार हुनुहुन्छ । नेकपा (समाजवादीका सचिव रामकुमारी झाक्रीले गुल्मीको मदाने गाँउपालिका–४ म्यालपोखरीको मेहलपोखरी मावि मतदान केन्द्रमा ले मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले आज बिहान तिलोत्तमा नगरपालिका–९ को गौतमबुद्ध आधारभूत विद्यालयमा मतदान गर्नुभयो । उहाँ रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । 

तनहुँ:  तनहुँको घिरिङ गाउँपालिका(  मा प्रहरीले पक्राउ गरेका दुईजना एमाले कार्यकर्तालाई रिहा गर्ने सहमति पछि घिरिङ गाउँपालिका१ पुट्टारस्थित कृष्ण मावि केन्द्रमा मतदान सुरु भएको छ । त्यहाँ साढे ९ बजेपछि मात्र मतदान सुरु भएको हो । हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा एमालेले मतदान सुरु गर्न दिएको थिएन् ।   पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि भने मतदान सुरु भएको छ ।

हुम्ला:  हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका छन् । बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो । पाँच कैदीबन्दीको मतदाता नामावली गाउँमै रहेको उहाँको भनाइ छ ।  कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी कर्मचारीलगायत मतदान गर्ने निर्वाचन अधिकारी रानाको भनाइ छ । यस्तै म्यादी, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले मतदान गरिरहेका छन् ।

काठमाडौं:  अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरु धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठूलो छ । त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरु भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् । मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार कांग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा।शेखर कोइराला, डा।नारायण खड्का, अर्जुननरसिंह केसी लगाायत सात जना उम्मेदवार ७० वर्ष कटेका छन् । एमालेमा ओलीसहित तीन जना उम्मेदवार ७० वर्ष कटेका छन् । पार्टी प्रवेश गराएर उम्मेदवार बनाइएका जालिम मिया र मंगलप्रसाद गुप्ता ७० भन्दा माथिका नेता हुन् । अरु एमाले उम्मेदवार ७० वर्ष मुनिका छन् । माओवादी केन्द्रबाट भने कोही पनि उम्मेदवार ७० वर्ष कटेका छैनन् । तर माओवादी केन्द्रको चुनाव चिन्हबाट भाग लिएका महिन्द्रराय यादव ८५ वर्ष पुगेका छन् । जसपाका तीन र लोसपाका चार उम्मेदवार ७० वर्ष माथिका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । यो चुनावमा सवैभन्दा जेष्ठ उम्मेदवार भने नेपाली कांग्रेस (वीपी) ले उठाएको छ । गोरखा–२ बाट उम्मेदवार बनेका टीकादत्त पोखरेल ९९ वर्ष कटेका छन् । नेपाली कांग्रेस कृष्णप्रसाद सिटौला (७२) झापा–३ डा।शेखर कोइराला (७२) मोरङ–६ डा।नारायण खड्का (७३) उदयपुर–१ पद्यनारायण चौधरी (७४) सिरहा–१ अर्जुननरसिंह केसी (७५) नुवाकोट–२ रामचन्द्र पौडेल (७८) तनहुँ–१ शेरबहादुर देउवा (७८)डडेलधुरा एमाले केपी शर्मा ओली (७०) झापा–५ जालिम मिया (७५) पर्सा–४ मंगलप्रसाद गुप्ता (७७) कपिलवस्तु–३ माओवादी केन्द्र महिन्द्रराय यादव (८५) सर्लाही–२ नेकपा एकीकृत समाजवादी झलनाथ खनाल (७२) इलाम–१ जसपा राधा थापा (७०) झापा–१ बीरबहादुर राई (७०) झापा–३ नबलकिशोर साह (७३) सप्तरी–१ आनन्द यादव (७३) धनुषा–२ लोसपा महन्थ ठाकुर (८०) महोत्तरी–३ लक्ष्मणलाल कर्ण (७५) पर्सा–१ सर्वेन्द्रनाथ शुक्ल (७२) रुपन्देही–४ जनमोर्चा चित्रबहादुर केसी (८०) बाग्लुङ–१

तनहुँः तनहुँ घिरिङ१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।   शनिबार घिरिङका दुई जना एमाले कार्यकर्ता पक्राउ परेको भन्दै अहिले त्यहाँ मतदान सुरु हुन नसकेको हो । शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको बताइएको छ ।   एमाले तनहुँका नेता विष्णुभक्त सिग्देलका अनुसार दुई जना एमाले कार्यकर्ता पक्राउ परेको र उनीहरुको रिहाइ नभएसम्म मतदान रोकिएको हो ।