काठमाडौं: कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
झापा: झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार, ओलीले १२ हजार १८६ मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले जनाएको छ । २४ हजार ४५१ मत गणना सकिएको छ ।
गोरखा: गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् । उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।
पोखराः कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले मतान्तर बढाएका छन् । एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ४ हजार ८ सय ५१ मत रहेकाे छ । उनलाई पछ्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ४ हजार ४ सय ७ मत पाएका छन् । यसैगरि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामजी प्रसाद बराल जीवनले ३ हजार २ सय ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । भने अन्य उम्मेदवार उनीहरको तुलनामा कम मत प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर ३ मा ६८ हजार ६सय ३२ मत खसेको थियो ।
काठमाडौँ: प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ । उहाँले पाँचहजार ४६२ मत लिनुभएको छ । निर्वाचन कार्यालयद्वारा उहाँ औपचारिक रूपमा विजयी हुन बाँकी छ । यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले तीनहजार ६७०, सूर्य चिन्हका नेकपा (एमाले) का उम्मेदवारले तीनहजार ८१० र हलो चिन्ह भएको राप्रपाका उम्मेदवारले दुईहजार ९५५ मत प्राप्त गर्नुभएको छ ।
डोटी: डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । ११ हजार ४८ मत गणना हुँदा आलेले ६ हजार २३१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९ ल्याएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्काले ४८८, राप्रपाका अंकबहादुर खड्काले १४३ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट प्रेमबहादुर आलेले निर्वाचित भएका थिए ।
सप्तरी: मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी २ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने,’संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’ उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।
गोरखा: गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि सुरु भएको छ । मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ । सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो । गोरखा१ मा कुल ५९ हजार ८९ मत खसेको छ ।

