डडेल्धुरा: डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ५ सय मत गन्दा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन् । यस्तै कांग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् । प्रदेशसभा –१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन् । यसैगरी प्रदेशसभा –२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीलगायत छन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको रफ्तार झन् तीब्र भएको छ । हालसम्म गणना भएको २५ सय मतमा पौडेलले १ हजार २४ मत ल्याएका छन् । यता, नेकपा एमालेका दामोदर वैरागीको ८ सय ३८ मत ल्याएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रका रामजी बराल ४ सय ३८ मतकासाथ तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।
तनहुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ मा प्रारम्भिक अग्रता लिएका छन् । १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले २९ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् । सोमबार दिउँसोसम्म ८०० मत गणना हुँदा उनले २७८ मत ल्याएर अग्रता लिएकी हुन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १६६ र तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १२८ मत पाएकी छन् । राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ७८ मत पाएकी छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।
रुपन्देही: रुपन्देही(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । अहिलेसम्म भएको गणनामा उनले १२६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णु पौडेलले ८३ मत पाएका छन् । सत्तारूढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन्। उनले ७८ मत पाएका छन् ।
इलाम: इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याउँदा नेम्वाङले २७६ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत प्राप्त गरेका छन् ।
मुस्ताङः नेकपा एमालेका गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट पराजित भएका छन् । विष्टलाई मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङले पराजित गरे । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मतमात्र प्राप्त गरे । मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा (२)को मतगणना चलिरहेको छ ।
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो । प्रनाउ शाहका अनुसार हेलिकप्टरमा प्रति पटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार पटकमा ल्याइएको हो । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा वडा नम्बर १ को खरिखोलाका दुईवटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी लयाइएको छ भने नौवटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइएको हो । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हिमाली भेगमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाँच हजार नौ सय ८७ मतदाता मध्ये दुई हजार ६४७ अर्थात ४४.२१ प्रतिशत मत खसेको छ । लिखुपिके गाउँपालिकाबाट गाडीमा ल्याइएको तर आइपुग्न बाँकी रहेको र अन्य क्षेत्रका मतपेटिका गाडीबाट जिल्ला सदरमुकाम सल्लेरीको मतगणनास्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आठ पालिका भएको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोशी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा सात वटा मतदान केन्द्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी उम्मेदवार हुन् । अहिलेसम्म ३ हजार ६५८ मत गणना भइसकेको छ ।

