पोखराः बलिउडमा छाएकी अभिनेतृ मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देनलाई भोट दिन अपील गर्दै भारतीय सिने नगरी मुम्बई उडेकी छिन् । आज बिहान विमानस्थल जानुपूर्व कोइरालाले लिङ्देनको पक्षमा भोट अपील गरेकी हुन् । यसअघि चुनावी प्रचारमा सक्रिय रहेकी मनिषाले राप्रपा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको चुनावी सभामा सम्बोधनसमेत गरेकी थिइन् । झापामा सम्बोधन गर्दै कोइरालाले आफु लिङ्देनको धारणाबाट प्रभावित भएको भन्दै राप्रपाले मुलुकलाई भ्रष्टाचारको क्यान्सरबाट बचाउने बताएकी थिइन् । एकाबिहान भोट माग्दै उनले पृथ्वीनारायण शाहले परिकल्पना गरेको साझा फुलबारीको अवधारणालाई सफल पार्न राप्रपाबाटमात्र सम्भव भएको उल्लेख गरिन् ।
पोखराः बुधबार साँझ पोखरा १६ मा कास्की–२ (ख) मा गठबन्धका उम्मेदवार विन्दुकुमार थापा स्थानीयको नियन्त्रणमा रहे । एक घण्टा बढी नियन्त्रणमा रहेका थापामाथि स्थानीयको आरोप थियो, ‘थापा भोट किन्न, पैसा बाँड्न हिँडेका हुन् ।’ स्थलगत रिपोर्टिङकाक्रममा हामीले पाएको जानकारी अनुसार घेराबन्दी गर्नेहरु स्थानीय भनिएपनि उनीहरु एमाले कार्यकर्ता हुन् । जसको नेतृत्व सोही वडाका पूर्वअध्यक्ष जीवन आचार्यले गरेका थिए । स्मरणीय छ, स्थानीय निर्वाचनमा उनै आचार्यलाई ‘पैसा बाँडेको’ आरोपमा यसैगरी स्थानीयले नियन्त्रणमा लिएका थिए । आचार्यलाई घट्टेकुनामा घेराउ गरी निर्वाचन आयोगका कर्मचारी बोलाइएको थियो । कर्मचारीले आचार्यको खानतलासी गर्दा केही थान हजारका नोट र चुनावमा प्रयोग हुने स्वस्तिक छाप भेटियो । त्यसबेला आचार्यले पकेट खर्चस्वरुप केही पैसा बोकेको र मतदातालाई कसरी मतदान गर्ने भन्ने सिकाउन स्वस्तिक छाप बोकेको बताएका थिए । आचार्यलाई घेराबन्दी गरी आयोगका कर्मचारी बोलाउनेहरु स्थानीयको नाममा गठबन्धनका कार्यकर्ता थिए । यता, थापालाई गन्धर्व बस्तीमा नियन्त्रणमा लिइएको थियो । आचार्यको समूहले पैसा बाँड्न हिँडेको वा बाँडेर आएको शंका गरे । त्यस समय साँझको साढे ७ बजिसकेको थियो । सुरुमा यस्तो आरोप लगाएपनि पछि आचार्यले बोली फेरेका छन् । उनले भने, ‘हारजीत आफ्नो ठाउँमा छ तर राजनीतिक संस्कार हुनुपर्छ, ७ बजेपछि झण्डा लिएर चुनाव प्रचारमा हिँड्न पाइँदैन ।’ थापाले आचार संहिता विपरित कार्य गरेको भन्दै आज उनी विरुद्ध निर्वाचन आयोग क्षेत्र नम्बर २ मा उजुरी दिइने आचार्यले जनाएका छन् । यसरी स्थानीय निर्वाचनमा गठबन्धनले एमालेलाई गरेजस्तै घटना बाटुलेचौरमा थापामाथि एमालेले गरेको छ । थापलाई नियन्त्रणमा लिएर रातको चिसो तताउन एमालेकोमात्रै हात छ वा सोही क्षेत्रमा रहेका थापाको प्रतिष्पर्धी कुमार खड्का पनि संलग्न छन् भन्ने विषयमा अहिले थापाको टिम घोत्लिरहेको छ । थापाको सचिवालयमा रहेका एक सहयोगी भन्छन्, ‘राती जे भयो त्यो एमालेलेमात्रै गरेको हो भन्ने लाग्दैन, केही ‘कालो’ पक्कै छ ।’ खड्का हालै थापालगायतको विरोधमा लागेको भन्दै प्रदेशमन्त्रीबाट बर्खास्त भएका छन् । करिब १ घण्टा बढी नियन्त्रणमा परेका थापालाई जिल्ला प्रहरी कार्यालका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा मुक्त गरी घर पु¥याइएको छ । नियन्त्रणका दौरान आयोगका निर्वाचन अधिकृत दयाशंकर अधिकारीले थापाको साथबाट निर्वाचनलाई प्रभाव पार्ने कुनै वस्तु वा सामग्री फेला नपरेको जानकारी दिएका छन् । थापा नियन्त्रणबाट मुक्त भए लगत्तै उनको सचिवालयले ‘विपक्षीहरुले हार निश्चित भएपछि सुनियोजितरुपमा दूव्र्यवहार गरेको’ नोट जारी गरेको छ । चुनाव प्रचारपश्चात् फर्कदै गर्दा बाटुलेचौरमा थापाभन्दा अघि रहेका गाडीलाई निस्कन दिएर उनको गाडी रोकिएको थियो ।
पोखराः मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे । निर्वाचित भएपछि उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको क्होला सोंथरलाई विश्व सम्पदा सूची राख्न पहल गर्ने बताए । ‘क्होला सोंथर हाम्रो पैतृक थलो हो। यसलाई हामीले नै जोगाउनु पर्छ । मलाई जिताउनु भयो भने संसदमा होस् या सरकारमा सम्पूर्ण गुरुङहरुको प्रतिनिधित्व गर्दै यसलाई जोगाउन विशेष पहल गर्ने छु ।’ उनले भने, ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले मात्र हैन,पर्यटकिय दृष्टिकोणबाट पनि निकै महत्वपुर्ण छ । यसलाई हामीले जोगाएर संसारसामु चिनाउन सक्यौं भने यस क्षेत्रमा पर्यटकको ओइरो लाग्छ ।’ उनले १२ औं शताव्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्ने र यसलाई लिपिबद्ध गर्ने प्रतिवद्धता जनाए । उनले आफू मादीगाउँपालिकाको प्रमुखको रुपमा काम गर्दा क्होला सोंथरको प्रवद्र्धनमा काम गरेको सुनाए । मादी गाउँपालिका वडा नं २ ताङतिङ हुँदै तमुहरुको सभ्यता संस्कृति जोडिएको त्यस स्थलसम्म पुग्ने १० किलोमिटर मोटरबाटो खनेको जनाए । उनले संघीय सांसद खगराज अधिकारीको विशेष पहलमा करिव ७० लाखको बजेटमा पहिलो चरणको ट्रयाक खोलेको र अब बाँकी काम पनि सम्पन्न गर्न एमालेलाई नै जिताउनु पर्ने कुरा बताए । उनले क्होला सोंथरसंगै यस क्षेत्रका धार्मिक, सास्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु, मठमन्दिर, कोइबु धिं, गुम्बा, मस्जिद, गिर्जाघर, कोट, तिर्थस्थल आदिको संरक्षण र प्रवर्धन गर्ने कुरा जनाए । उनले पोखरा १३ मा कुँडहरमा एकीकृत मुस्लिम धार्मिक क्षेत्र परियोजना सम्पन्न गर्ने वाचा समेत गरे । अर्को प्रसङ्गमा उनले आफ्नो निर्वाचन क्षेत्रको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गर्ने बताए । निर्वाचित भएपछि सबै उमेर समूह, जाति, भूगोल अनि वर्गलाई समेटने योजना आफूसंग भएको सुनाए । त्यस्तै उनले देशलाई विकासको बाटोमा हिडाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए । उनले आफूले मादीको अध्यक्ष हुँदा नमुना गाउँपालिकाको रुपमा स्थापित गरेको दाबी गरे र अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । ‘कसले काम गरेको छ, कसले गरेको छैन , त्यो जनताले पहिचान गरेर मत हाल्नु पर्छ ।’ उनले भने । बुधबार उनले पोखरा १३ र १४ का विभिन्न स्थानहरुका मतदाता माझ पुगेर सुर्य चिन्हमा मत मागेका छन् । नेकपा एमालेले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश ‘क’ तर्फ खगराज अधिकारी र ‘ख’ तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएको छ ।
पोखराः नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई सम्वोधन गर्दै उम्मेदवार बैरागीले जनताको ढाड सेक्ने गठबन्धन सरकारलाई परास्त गर्न पनि एमालेको जित आवश्यक रहेको बताए । ‘गण्डकी प्रदेशमा गठबन्धनको सरकारले चरम मुल्यवृद्धि गरेर जनताको भावना र मर्म विपरित काम ग¥यो, एमालेले अघि सारेका विकासे योजनाहरु रोक्यो, फेरी ति योजना निरन्तरताका लागि र जनप्रिय काम गर्न पनि एमाले नेतृत्व सरकार खाँचो छ’– उनले भने । सभालाई सम्वोधन गर्दै कास्की ३९२० प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले यहाँका जनताले पाँच वर्ष अघि आफुलाई जिताएर पठाएको स्मरण गरे । जितेर गएपछि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्दागर्दै सरकार विचैमा ढलेकाले महत्वपूर्ण योजनाहरु अधुरै रहेको पहारीले बताए । उनले अब आफु खारिएर आएको र काम गर्ने उर्जा झनै थपिएकाले पनि जितेर गएपछि जनसेवक भएर काम गर्ने प्रतिवद्धता जाहेर गरे । नेकपा एमाले वडा कमिटि ५ का कार्यबाहक अध्यक्ष गायत्री भुर्तेलको अध्यक्षतमा भएको आमसभामा समानुपातिक उम्मेदवार लालकाजी गुरुङ्ग नेकपा एमाले नेता सोमनाथ प्यासी, कास्की इन्चार्ज कृष्ण थापा वडा कमिटि सचिव आशमाया विक, वडा प्रचार प्रचार संयोजक लक्ष्मण बराल लगायतले सम्वोधन गर्दै मंसिर ४ गते एमाले उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
पोखराः गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र पछिल्लो समय बैंकहरुले व्यवसायी माथि गरेको अत्याचार असह्य भएको भनाई उनको छ । उनले यसका लागि राज्यको तर्फबाट गर्न सकिने सहयोग गर्ने बताए । गण्डकी प्रदेशमा अब बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गर्न अत्यावश्यक रहेको उनको भनाइ छ । कोरोना महामारी पश्चात व्यवसायी टाट पल्टिने अवस्थामा आएको र अहिले बैंकको आतकंले व्यवसायी आत्महत्या गर्न सक्ने स्थितिमा पुगेको बताउँदै उनले यसका लागि राज्यले उचित व्यवस्थापन गर्न जरुरी रहेको सुनाए । थापाले आफु विजयी भएमा प्रदेश सरकारको तर्फबाट व्यवसायीका लागि गर्न सकिने हदैसम्मको सेवा र राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले नीजि क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवम् गन्तव्यहरुको प्रवद्र्धन गर्न योजना अघि सार्ने बताए । यस्तै थापाले भूमिहिन नागरिकलाई व्यवस्थित बसोबासको व्यवस्थापनमा जोड दिने समेत बताए । ‘कतिपय भूमिहिन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको छ र बाँकी रहेको भूमिहिनहरुको व्यवस्थित बसोबासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु’ ,थापाले भने । थापा लोकतान्त्रिक गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) का प्रत्येक्ष उम्मेदवार हुन् ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ । आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भन्नुभयो । उहाँले भन्नुभयो “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उहाँले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको छ भन्नुभयो । मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उहाँले आग्रह गर्नुभयो ।
डडेल्धुरा: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले संविधान मिचिने खतरा बढेकाले पनि गठबन्धन गर्नुपरेको बताउनुभयो । “संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्न खोजियो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “त्यसैले हामीले अस्थिरता अन्त्यका लागि गठबन्धन गरेर अघि बढेका हौँ ।” लामो समय मुलुकको विकास एवं समृद्धिका लागि अघि बढेकाले गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन उहाँले आग्रहसमेत गर्नुभयो । उहाँले स्थानीय सडक पूर्वाधार निर्माण, खानेपानी समस्या समाधान गर्नुका साथै बगरकोट शीर्ष रुपालसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको बताउनुभयो । “अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक बनाउने छौँ”, उहाँले भन्नुभयो, “समग्र डडेल्धुराको विकासका काम अघि बढाइनेछ ।”
पोखरा: पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य परिक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराउने बताएको छ । आवश्यकता अनुसार ज्येष्ठ नागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवा कार्यक्रम अन्तरगत धार्मिक तथा आर्ट अफ लिभिङ जस्ता कार्यक्रम सञ्चालन गरि उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ । यसैगरी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन विशेष पहल गर्ने बताएका छन् । उनीहरूले पोखरामा ट्रमा सेन्टर, सरुवा रोग, बाल एवं प्रसूति अस्पताल निर्माण गर्न विशेष पहल गरिने समेत प्रतिवद्धता जाहेर गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मातृ शिशु मितेरी अस्पतालमा जन साधारणको पहुँच पु¥याई सर्वसुलभ सेवा प्रदान गर्ने गरी स्तरोन्नति गरिने गठबन्धनले जनाएको छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक जसो हजारौँ बिरामीहरूको चापका कारण सबै नागरिकहरूले सेवा प्राप्त गर्न क्रममा निकै सास्ती भोग्नु परेको छ । हरेक नागरिकहरूलाई स्वच्छ मनोरञ्जन गर्न पार्क तथा विश्राम स्थल, बाल उद्यान, खेलकुद मैदान, व्यायामशाला, वाचनालय र भजनकृतन गर्न आवश्यक पूर्वाधार निर्माण गरी सेवा प्रदान विशेष पहल गरिने उनीहरूले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका उनीहरूले सुविधा सम्पन्न अस्पताल तथा उपचार केन्द्रहरू स्थापना गर्न आवश्यक रहेकामा जोड दिएका छन् । ‘काश्यप ऋषिको तपोभुमिको रूपमा प्रसिद्ध पोखरामा उपचार र निदान भन्दा रोग लाग्नै नदिनु वेश भन्ने उक्तिलाई चरितार्थ गर्न आयुर्वेदको पठनपाठन र उपचारका लागि आरोग्य धाम सञ्चालन गर्न तथा यस क्षेत्रमा रहेका औषधीजन्य जडीबुटी, वनस्पति र वन स्रोतको संरक्षण, संवर्धन र उपयोगितालाई बढाउन जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न पहल गरिने छ, प्रतिबद्धता पत्रमा उल्लेख छ । बेरोजगारी, लागु औषध दुव्र्यसनी जस्ता समस्याहरूबाट उत्पन्न परिस्थितिलाई व्यवस्थापन र नियन्त्रण गर्न मनोसामाजिक परामर्श केन्द्र स्थापना गर्न पहल गरिने छ । पाँच दलिय गठबन्धन तर्फ कास्की २ बाट श्रीनाथ बराल, सोही क्षेत्रको प्रदेश सभा (क) बाट विश्वप्रकाश लामिछाने र (ख) बाट विन्कुकुमार थापा उम्मेदवार छन् ।
पोखराः काठमाण्डौं क्षेत्र नम्बर ५ मा श्री गुरुङको उम्मेदवारी चर्चामा छ । यतिबेला प्रचारप्रसारमा जुटिरहेका श्री जित्ने आत्मविश्वासकासाथ घरदैलोमा छन् । उनको क्षेत्रमा नेकपा एमालेबाट इश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेलको उम्मेदवारी रहेको छ । ठूला मानिएका दलको जति तडकभडकपूर्ण प्रचार छ त्यसको तुलनामा श्रीको शालीन र अर्थपूर्ण । पत्रकारितामा मास्टर्स डिग्री सकेर हाल पीएचडीमा लागेको श्री ‘इन्फ्लुअन्स अफ ब्लग इन पोलिटिक्स’ विषयमा अनुसन्धानरत छन् । देशमा रहेका सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ् गरी मुलुकलाई धनी बनाउन सकिने आधार प्रस्तुत गर्दै उनी मतदाताको विश्वास जितिरहेका छन् । ठूला दलले बाँडिरहेका ठूलै सपनालाई मतदाताले नपत्याएकाबेला श्री को एजेण्डा प्रभावकारी बनेको छ । पर्यटनलाई आर्थिक उपार्जनको बलियो माध्यम बनाउन सकिने प्रचार गरी युवा पुस्ताबाट देशले काँचुली फेर्नसक्ने उनको ‘लजिक’ छ । पर्यटन व्यवसायमा व्यस्त श्री सम्भावनाका बावजुद पनि मुलुकले फड्को मार्न नसकेपछि राजनीतिमा आएको बताउँछन् । ‘म पत्रकारिताको पनि विद्यार्थी हुँ, मैले देश, भूगोल र सम्भावना बुझेको छु’ उनले भने ‘देश बनाउँछु भनेर राजनीति गर्नेहरुले बुझ्न नसक्दा म राजनीतिमा आए ।’ यतिमात्र हैन युवाशक्ति विदेशिने लर्काे लागेपछि देश कमजोर बनेको उनको बुझाई छ । उनी भन्छन्, ‘विदेशिनेको तथ्यांक भयावह छ, २००८ देखि यता श्रम स्वीकृति लिएर ४० लाख नेपाली परदेशिए ।’ ‘देश रेमिट्यान्सले चलाउन खोज्ने दल र नेता देखेर म कसरी चुप लागेर बस्न सक्छु’ श्री भन्छन् ‘त्यसपछि मलाई लाग्यो, हामी जहाँ छौं त्यहीबाट हस्तक्षेप गर्नुपर्छ ।’ पूर्वको संखुवासभामा जन्मिएर राजधानीमा कर्मथलो बनाएका ३९ वर्षीय श्री अब राष्ट्रिय राजनीतिमा लागेर देशलाई आत्मनिर्भर बनाउन कस्सिएको बताउँछन् । उनको चुनावी भेला कुनै बौद्धिक सेमिनारजस्तै लाग्छ । भेलामा सहभागी युवाहरु विश्वविद्यालयको प्रोजेक्ट वर्कमा केही नयाँ योजना बनाउन खटिए झैं लाग्छन् । श्री का कुरा सुनेपछि टोलटोलका युवाहरु भेला भई उनलाई जिताउँन रणनीति बनाउँन थालेका छन् । दिनानुदिन श्री को आकर्षण बढिरहेकाबेला ठूला दललाई तनाव छ । त्यो तनाव श्री ले जित्लान् भन्दा पनि कसको भोट काट्छन् भन्ने हो । यद्यपि, श्री कसैको भोट काट्न नभई स्वयं जित्न मैदानमा आएको बताउँछन् । ‘नेपाल र दक्षिण एसियाभन्दा माथि उठेर हेर्नुहोस्, तपाइलाई आफ्नो शक्ति थाहा हुन्छ’ उनले भने ‘अमेरिका, बेलायत, नेदरल्याण्ड, क्यानडामा युवाले देश हाँकेका छन् । ‘ठूला पार्टी र ठूला उम्मेदवारसँग भिड्दै हुनुहुन्छ, जितिन्छ ?’ भन्ने प्रश्नमा श्री भन्छन्, ‘म जित्न उठेको हैन, काठमाण्डौं र देशलाई जिताउन उठेको उम्मेदवार हुँ ।’ यहाँ नेताहरु मलाई जिताउनुहोस् भन्दै भोट मागिरहेका छन् तर जनताले ‘म जित्छु’ भनेर मतदान गर्नुपर्ने उनको भनाई छ । अन्त्यमा उनले थपे, ‘हामीले देशलाई चिनेर काम गर्न सकेनौं । सगरमाथा र बुद्धको ब्राण्डिङ् गर्न सकेनौं ।’ यस क्षेत्रबाटमात्रै १४ स्वतन्त्र उम्मेदवार छन् ।

