काठमाडौं: प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको निजी सचिव मोहन गौतमले जानकारी दिनुभयो । अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा। वेदुराम भुसालले सम्हाल्नुहुनेछ । रासस
काठमाडौं: नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सञ्चालन गर्दा २१ लाख १५ हजार पाँच सय रुपैयाँ खर्च भएको छ। साउन १७ गतेदेखि केन्द्रीय समिति बैठक जारी छ। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूका प्रश्नका जवाफ दिएपछि बैठक सक्ने तयारी छ। एक जना पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रीय समितिका लागि २१ लाख १५ हजार पाँच सय रुपैयाँ खर्च भइसकेको छ। पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले केन्द्रीय समिति गर्दा २१ लाख १५ हजार ५ सय खर्च भएको बैठकमा जानकारी गराएका छन्। माओवादीले केन्द्रीय सदस्यबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क उठाएको थियो। केन्द्रीय समितिमा ४०७ जना केन्द्रीय सदस्य र अरू गरी जम्मा ७८० जना सहभागी थिए। उनीहरूलाई खाजा र पानीको व्यवस्थापन पार्टीले नै गरेको थियो। तर बसोबासको व्यवस्था आफैं गर्न भनेको थियो। माओवादीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवन भाडामा लिएर केन्द्रीय समिति बैठक गरेको हो। आज पाँचौं दिन पनि केन्द्रीय समिति बैठक बस्दैछ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले ‘जनतासँग माओवादी’ तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्षले प्रस्ताव गरेको ‘जनतामा माओवादी’, ‘जनतासँग माओवादी’, ‘विशेष रुपान्तरणका लागि तीन महिने अभियान सर्वसम्मतले पारित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा अभियान अध्यक्षले राख्नुभएको प्रस्ताव सर्वसम्मतले पास भयो।जनतामा माओवादी, जनतासँग माओवादी विशेष रुपान्तरणका लागि तीन महिने अभियान।भाद्र १६ गत त्यो अनुसार अभियानमा जनताको घर–घरमा जाने, आठौं राष्ट्रिय महाधिवेशन लगायतका अभियान ।” उहाँले यसका लागि दस्तावेज तयार एवम् कार्य विभाजन भएको बताउनुभयो।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो वा तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार उहाँले सेप्टेम्बरको तेस्रो÷चौथो (असोजको पहिलो वा तेस्रो) साता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भन्नुभयो, “हामी त्यसको तयारी अवस्थामा छौँ ।” उहाँले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पार्नुभयो । वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पोखरा: नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिले देशले सुशासन खोजिरहेको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठक एवं प्रचार कार्यशालाको पोखरामा उद्घाटन गर्दै सचिव विष्टले देशले सुशासन खोजको भए पनि वर्तमान सरकार त्यस तर्फ उन्मुख नभएको बताए । गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका विष्टले अहिलेको गठबन्धन सरकार रहेसम्म देशले सुशासन र समृद्धि नपाउने बताए । ‘यो सरकार जति चल्छ त्यति नै देश परनिर्भर हुन्छ, यो सरकार जति लामो चल्नेछ त्यति नै नेपालका युवाहरू काम नपाएर कामको खोजी गर्दै देशबाहिर जानुपर्ने अवस्था सिर्जना भइरहन्छ’, उनले भने । गठबन्धन सरकारका कारण नेपालको स्वतन्त्रता, स्वाधीनता, आत्मसम्मान र राष्ट्रिय गौरवमाथि समस्या पैदा भएको उनको भनाइ थियो । विष्टले सुन तस्करी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाई जरैसम्म पुगेर छानबिन गर्न एमालेले माग गरिरहेको बताए । ‘लुम्बिनीमा बसेका नेपालीले नेपाली हो भन्न नसक्ने अवस्था छ । यस्तो परिस्थितिमा तपाईं हामी सचेत हुनु आवश्यक छ,’ अधिकारीले भने । उनले यो सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । प्रचार तथा प्रकाशन विभाग गण्डकी प्रदेश कमिटीको योजना तर्जुमा विस्तारित बैठक एवं प्रचार कार्यशाला शनिबारबाट पोखरामा सुरु भएको हो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य अधिकारी, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पार्टीको कास्की जिल्ला इञ्चार्ज थममाया थापा, गण्डकीमा प्रचार संयोजक राजीव पहारी, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतले समसामयिक विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै नेताहरूले वर्तमान गठबन्धन सरकारले मुलुकलाई परनिर्भर बनाउने उहाँहरूको टिप्पणी थियो । एमाले गण्डकीका उपसचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय प्रचार बिभाग सचिब गगन बिष्ट र प्रदेशको तर्फबाट दीपेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशाला आइतबारसम्म चल्ने एमाले गण्डकीका प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालाले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ कार्यकर्ताको निधन भएको थियो । सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री दाहालको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीले यही साउन १८ गते पीडित सङ्घर्ष समितिका रूपसागर उपाध्यायलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गरेका थिए । ‘गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिका माध्यमबाट विभिन्न मागसहित आन्दोलन गर्ने जानकारीप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ । सङ्घर्ष समितिका मागका सम्बन्धमा वार्ता(संवादका माध्यमबाट तत्काल समाधान गर्न प्रधानमन्त्री दाहालबाट निर्देशनसमेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता(संवादमा आउन हार्दिक अनुरोध छ’, उक्त पत्रमा उल्लेख छ । सोही पत्रका आधारमा आज प्रधानमन्त्री दाहाल र सो घटनाका पीडितबीच प्रधानमन्त्री निवासमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्ब संसद सुचारु हुनुपर्ने बताउनु भयो । उहाँले सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने बताउनु भयो । उहाँले छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बताउनु भयो । सांसद शर्माले भन्नुभयो,‘‘काँग्रेस बैठकले भ्रष्टाचारको सन्दर्भमा भ्रष्टाचारको वर्ग, जाति, धर्म, सम्प्रदाय केही पनि हुँदैन । भ्रष्टाचार केवल भ्रष्टाचार हुन्छ । छानबिन गर्ने सन्दर्भमा कुनै मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नुपर्छ । निर्दोष कोही फस्नुहुन्न । दोषी कोही उम्किनु हुन्न भनेर निर्णय गरेको छ । यो पनि स्पष्ट पारौँ । नक्कली भूटानी शरणार्थी प्रकरणदेखि सक्कली सुन प्रकरणसम्म छानबिनको लागि माग गरेको छ । आजको बैठकमा हामी छलफल गर्दै गर्दाखेरी मन्त्री र प्रधानमन्त्रीलाई बोलाउने कुरा गर्दैछौँ । गलत कुरा गरिरहेका छैनौँ । तर मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार यो देशका प्रत्येक सार्वभौम सांसदले राख्छन् कि राख्दैनन् । प्रत्येक सार्वभौम सांसदले त्यो अधिकार राख्नुहुन्छ भने संसदमा त्यो अधिकारको रक्षा गर्ने सन्दर्भमा कसले बोल्ने रु त्यस कारण राज्य व्यवस्था समितिको ध्यान अवरुद्ध भएको संसद खुल्नुपर्छ । त्यो संसदमा मन्त्री र प्रधानमन्त्रीहरुले त्यहाँ पनि जवाफ दिनुपर्छ । यहाँ पनि बोलाउने अधिकार छ । नबोलाउने कुरै छैन तर त्यहाँ जवाफ दिनुपर्छ । छानबिन गहिराइमा हुनुपर्छ । छानबिन गर्ने कार्य माग गर्नका लागि आवेगका साथ बल प्रयोगबाट समाधान होइन । छलफलबाट समाधानमा पुग्नुपर्छ ।’’ उहाँले सरकारको कमजोरीका कारण विमानस्थलबाट सुन तस्करी भएको बताउनु भयो ।

