काठमाडौं: प्रतिनिधिसभा बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल पुगेको टिप्पणी गर्नुभएको छ । बैठकको शून्य समयमा नेकपा (एमाले)का विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश भएका हुँदा यसमा सरकार जिम्मेवार देखिन आग्रह गर्नुभयो । नेपाली कांग्रसका सांसद श्यामकुमार घिमिरेले कानुनी अन्योलका कारण देशका विभिन्न ७३ नर्सिङ कलेज बन्द भएको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । सोही पार्टीका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको श्रीलङ्का टापुमा आएको बाढीका कारण प्रभावित भएका स्थानीयवासीलाई उचित राहत दिई कोशी कटानको नियन्त्रणका दिगो समाधानका उपाय खोज्न आग्रह गर्नुभयो । जनमत पार्टीका विनीताकुमारी सिंहले तराई–मधेशका विद्यालयमा पर्याप्त शिक्षक पूर्वाधार नहुँदा गुणस्तरीय शिक्षा हासिल हुन नसकेकामा ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्द गर्न आग्रह गर्नुभयो । सोही पार्टीका शिशिर खनालले नेपालका राजनीतिक नक्साबारे विदेशी मुलुकलाई कूटनीतिक माध्यमबाट जानकारी दिनुपर्छ भन्नुभयो । बैठकमा कांग्रेसका सीताकुमारी राना, सुशीला श्रेष्ठ, सन्तोष चालिसे, सरस्वती बजिमय, नेपका ९एकीकृत समाजवादी० का शेरबहादुर कुँवर, एमालेका सरिता भुसाल र शान्ति चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ । अद्यावधिक नभएका कुनै पनि सङ्गठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने छैन । केन्द्रीय समिति महाधिवेशन आयोजक भए पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ । केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार फलस्वरुप पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा सङ्गठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ । सङ्गठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ । सङ्गठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्नेछ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दतको धरोहर भएको उल्लेख गरेका छन्। श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको उल्लेख गरेका छन्। यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको उनले बताएका छन्। नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो। विभिन्न पर्वमध्ये श्रीकृष्ण जन्माष्टमी पनि हाम्रो एक महत्वपूर्ण पर्व हो। यस दिन भगवान श्रीकृष्णको पूजाअर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउँछौँ। सभापति देउवाले भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
समाजवादी मोर्चा नेपालले बाँकी रहेका तीन प्रदेशमा पनि सन्देश सभा गर्न मिति तय गरेको छ। मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न बाँकी छ। तीमध्ये भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्न कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए। मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ। बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गर्ने छ। कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ। मोर्चामा नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आवद्ध छन्।
काठमाडौं: नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् । सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी भने उनका प्रतिद्वन्द्वी रिजालले ४७७ मत पाए । त्यसै गरी अन्य पदाधिकारीहरूमा भने मिश्रित परिणाम आएको छ । त्यसै गरी उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए । पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यसै गरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३५१ मत पाए । सचिव पदमा कँडेलकै समूहका लक्ष्मण आचार्य सोमबार नै निर्विरोध निर्वाचित भएका थिए । अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मङ्गलवार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो । यो निर्वाचनपछि लुम्बिनी प्रदेशमा स्पष्ट दुई गुट देखिएको छ । अध्यक्षमा निर्वाचित कँडेल एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट छन् भने पराजित रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् ।
मनहरी: बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज ९मङ्गलबार० बिहान भेटेर राजीनामा बुझाउनुभएको हो । काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो । पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका काफ्ले प्रदेशसभा सदस्यमा दोलखाको प्रदेशसभामा क्षेत्र नं १ को ९१० बाट निर्वाचित हुनुभएको थियो । संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्नुभएका काफ्लेले दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखाली जनतालाई समय दिन नसकेको महसुस गरेकाले राजीनामा दिनु परेको कुरा उल्लेख गर्नुभएको छ ।
काठमाण्डौ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्योकमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यस अवसरमा उहाँहरुबीच मुलुकका अरु समसामयिक विषयमा पनि विचारविमर्श भएको जनाइएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानुनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्नुहुँदै उहाँले संविधान अनुसार बन्न बाँकी कानुनहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । सांसद आलेमगरले कतिपय कानुनहरु संविधान बनेको तीन वर्षभित्रै बन्नुपर्ने भए पनि हालसम्म बन्न नसकेको भन्नुुहँदै यसले गर्दा सरकारप्रति आशङ्का उत्पन्न भएको बताउनुभयो । उहाँले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेशी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्नुहुँदै उनीहरुको आशा अनुरुप सरकारले काम गर्नुपर्ने बताउनुभयो । सांसद आलेमगरले भन्नुभयो,‘‘संविधानमा बन्न बाँकी कानुनहरुमध्ये पनि तुरुन्तै बन्नुपर्ने, दुईरतीन वर्ष भित्रै बन्नुपर्ने स्पष्टसँग उल्लेख भएको कानुन पनि हामीले बनेको पाएनौँ । उदाहरणका लागि दलित सम्बन्धि कानुन । दलितसम्बन्धी कानुन दुईरतीन वर्षभित्र बन्नुपर्ने । यस्तै, अन्य कानुनहरु पनि थिए तर त्यो बनेन । दलित समुदाय त्यस्तै अन्य आदिवासी, जनजाति, मधेशी, महिला, मजदुर, किसान यि सबै बारेमा पनि बन्नुपर्ने कानुनहरु बनेनन् ।,’’ उहाँले थप्दै, ‘‘यतिबेला उत्पीडित समुदायका जनताले प्रचण्डको नेतृत्वमा रहेको यो सरकारप्रति उत्पीडित, आदिवासी, जनजाति, दलित, मधेशी, महिला सम्पूर्ण उत्पीडित समुदायले बडा आशाको दृष्टिले हेरेका छन् । संवेदनशील, गम्भीर यो बारेमा सरकार सकारात्मक छ भन्ने उनीहरुको सोचाइ रहेको छ । यस्तो सरकार हुँदाखेरी पनि यसतर्फ तदारुकता नदेखिएको हुँदा, यसतर्फ पहलकदमी नभएको हुँदा के हो कसो हो भन्ने एक प्रकारको सोचाइ उनीहरुमा परेको छ । त्यसकारण सरकारको ध्यान संविधान अनुसार बन्न बाँकी जुन कानुनहरु छन्, १८१ वटा कानुनहरु बनाउन सरकारले तदारुकता देखाउने छ भन्ने अपेक्षा लिन चाहान्छौँ । प्रधानमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ ।’’ उहाँले कानुन बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताउनुभयो ।
काठमाण्डौ: कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदन आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको हिजोको संयुक्त इजलासले रिट निवेदनमा आजदेखि निरन्तर सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । मुख्यमन्त्री थापाले पछिल्लोपटक भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मत दिनुभएको थियो । सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले भदौ ५ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । भदौ ७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यसअघि पनि प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमलाई सरकार गठनको दाबी पत्रमा हस्ताक्षर गर्न लगाएर दाबी पेस गरेका कारण सर्वोच्चले सरकार गठनसम्बन्धी प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै मुख्यमन्त्री थापालाई पदमुक्त गरिदिएको थियो ।

