काठमाण्डौ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्योकमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यस अवसरमा उहाँहरुबीच मुलुकका अरु समसामयिक विषयमा पनि विचारविमर्श भएको जनाइएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानुनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्नुहुँदै उहाँले संविधान अनुसार बन्न बाँकी कानुनहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । सांसद आलेमगरले कतिपय कानुनहरु संविधान बनेको तीन वर्षभित्रै बन्नुपर्ने भए पनि हालसम्म बन्न नसकेको भन्नुुहँदै यसले गर्दा सरकारप्रति आशङ्का उत्पन्न भएको बताउनुभयो । उहाँले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेशी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्नुहुँदै उनीहरुको आशा अनुरुप सरकारले काम गर्नुपर्ने बताउनुभयो । सांसद आलेमगरले भन्नुभयो,‘‘संविधानमा बन्न बाँकी कानुनहरुमध्ये पनि तुरुन्तै बन्नुपर्ने, दुईरतीन वर्ष भित्रै बन्नुपर्ने स्पष्टसँग उल्लेख भएको कानुन पनि हामीले बनेको पाएनौँ । उदाहरणका लागि दलित सम्बन्धि कानुन । दलितसम्बन्धी कानुन दुईरतीन वर्षभित्र बन्नुपर्ने । यस्तै, अन्य कानुनहरु पनि थिए तर त्यो बनेन । दलित समुदाय त्यस्तै अन्य आदिवासी, जनजाति, मधेशी, महिला, मजदुर, किसान यि सबै बारेमा पनि बन्नुपर्ने कानुनहरु बनेनन् ।,’’ उहाँले थप्दै, ‘‘यतिबेला उत्पीडित समुदायका जनताले प्रचण्डको नेतृत्वमा रहेको यो सरकारप्रति उत्पीडित, आदिवासी, जनजाति, दलित, मधेशी, महिला सम्पूर्ण उत्पीडित समुदायले बडा आशाको दृष्टिले हेरेका छन् । संवेदनशील, गम्भीर यो बारेमा सरकार सकारात्मक छ भन्ने उनीहरुको सोचाइ रहेको छ । यस्तो सरकार हुँदाखेरी पनि यसतर्फ तदारुकता नदेखिएको हुँदा, यसतर्फ पहलकदमी नभएको हुँदा के हो कसो हो भन्ने एक प्रकारको सोचाइ उनीहरुमा परेको छ । त्यसकारण सरकारको ध्यान संविधान अनुसार बन्न बाँकी जुन कानुनहरु छन्, १८१ वटा कानुनहरु बनाउन सरकारले तदारुकता देखाउने छ भन्ने अपेक्षा लिन चाहान्छौँ । प्रधानमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ ।’’ उहाँले कानुन बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताउनुभयो ।
काठमाण्डौ: कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदन आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको हिजोको संयुक्त इजलासले रिट निवेदनमा आजदेखि निरन्तर सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । मुख्यमन्त्री थापाले पछिल्लोपटक भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मत दिनुभएको थियो । सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले भदौ ५ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । भदौ ७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यसअघि पनि प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमलाई सरकार गठनको दाबी पत्रमा हस्ताक्षर गर्न लगाएर दाबी पेस गरेका कारण सर्वोच्चले सरकार गठनसम्बन्धी प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै मुख्यमन्त्री थापालाई पदमुक्त गरिदिएको थियो ।
काठमाडौं: कोशी सरकारविरुद्ध परेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । यसअघि शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ुहेर्न नमिल्नेु भएसँगै सुनुवाइ सरेको थियो । आज आइतवबर रिटमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मत दिनुभएको थियो । सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले भदौ ५ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । भदौ ७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिनुभएको थियो । यसैबीच किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नामकरणको विरोधमा ललितपुरमा विरोध प्रदर्शन गरेको छ । चुम्लुङले ३५ औँ स्थापना दिवसको अवसर पारेर पाँच सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकबाट ललितपुर एकान्तकुनामा रहेको किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म विरोध र्यालीको आयोजना गरेको हो ।
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ । रासस
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ । पार्टीले देशभरबाट ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान केन्द्रीय सदस्य पदका लागि यही भदौ १५ गतेसम्म खुला आवेदन माग गरेकामा दुई साता समयसीमा थप गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टीमा रहेका तथा पार्टी बाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरिएको छ । आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना दिएकामध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाका आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिनेछ । सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान उम्मेदवारलाई उनीहरूको कार्ययोजनाका आधारमा छनोट गरिनेछ । कार्ययोजनासहितको व्यक्तिगत विवरण पठाउन पार्टीको इमेल ठेगानाको व्यवस्था गरिएको छ । रासस
काठमाडौं: नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुभएको छ । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेको उहाँको भनाइ छ । “कम्युनिष्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छौँ” उहाँले भन्नुभयो, “कम्युनिष्टको मुख्य लक्ष्य समाजवाद हो, समाजवादमा पुग्ने आधारमा मानेर कमसेकम एक ठाउँमा बस्ने, सहकार्य गर्ने र चुनावमा कार्यगत एकता गर्नुपर्दछ ।” उहाँले कम्युनिष्ट फुटेर विभाजित भएर मात्र कमजोर भएको बताउनुभयो । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको नीति एमालेसँग मिल्ने भएकाले एकता गरी गाभ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । “आजसम्म माधवकुमार नेपालको पार्टी समाजवादी पार्टी नै हो, उक्त पार्टीको नीति हाम्रो पार्टीको नीति नै हो, हाम्रो नीतिबाहेक अर्को नीति छैन । व्यक्ति र पार्टीको नाम मात्र फरक हो” उहाँले भन्नुभयो ।
काठमाडौं: सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । शनिवार आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनु भएको हो । उहाँले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी देशबाट हुने फाइदा कसरी धेरै लिने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि नागरिकलाई बुझाएर राष्ट्र र नागरिकको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले भौगोलिक विकटका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताउनु भयो । उहाँले नेपालले बाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताउनु भयो । सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताउनु भएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुहुने माओवादीले जनाएको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो । पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाइसकिएको छ । माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको छ । माओवादीका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले काठमाडौँको चन्द्रागिरि–२ घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुरको ललितपुर महानगरपालिका १८ हरिसिद्धी, उपाध्यक्षत्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महमानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्नुहुनेछ । महासचिव देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेवडार, उपमहासचिव गिरिराजमणि पोखरेलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका, वर्षमान पुनले काठमाडौँको गोङ्गबु, हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका, जनार्दन शर्माले काठमाडौँको चन्द्रागिरि नगरपालिका, मात्रिकाप्रसाद यादवले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, सचिव दिनानाथ शर्माले बागलुङको बागलुङ नगरपालिका, चक्रपाणि खनालले मोरङको विराटनगर महानगरपालिकामा अभियानको नेृतत्व गर्दै हुनुहुन्छ । सचिव देवेन्द्र पौडेल कास्कीको पोखरा महानगरपालिका, लीलामणि पोख्रेल महोत्तरीको बर्दिवास नगरपालिका, गणेश साह काठमाडौँको बानेश्वर, हितमान शक्य रुकुमपूर्वको सिस्ने गाउँपालिका, हितराज पाण्डे गोरखाको पालुङटार नगरपालिका, डिलाराम आचार्य कैलालीको धनगढी उपमहानगरपालिका, सुरेन्द्रकुमार कार्की झापाको बुद्धशान्ति गाउँपालिका र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि नगरपालिकामा सञ्चालित अभियानमा सहभागी हुने माओवादीले जनाएको छ । अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिकास्तरको टोली निर्माण गरिएको छ । अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ । अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरणरविस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ । दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने प्रवक्ता महराले जानकारी दिनुभयो । माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ‘प्रचण्ड’सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तिमा एक÷एक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । अध्यक्ष दाहालले आफूले सातै प्रदेशका एक÷एक गरी सात वडाको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।

