पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । एमाले गण्डकी प्रदेश अध्यक्षका प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा लमजुङका धनजन्य दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे । उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् । ३३ वटा विद्युतिय मेसिन मार्फत भएको मतदानमा ८ सय ९६ मत खसेको थियो १० जना अनुपस्थित भएका थिए ।
काठमाडौँ: नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धीजीवी(कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्नुहुने र अधिवेशनको तयारी पूरा भएको उक्त कमिटीका अध्यक्ष प्रेम पराजुलीले जानकारी दिनुभयो । उद्घाटनअघि शान्तिवाटिका (रत्नपार्क)बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ । कुल तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग(व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् । अध्यक्ष पराजुलीले यस क्षेत्रले आफ्नो मर्यादा, अनुशासन र सीमालाई ख्याल गरेर व्यवस्थित रुपमा अधिवेशन सम्पन्न गर्ने बताउनुभयो । रासस
पोखरा: पोखरा सभागृहमा एमाले गण्डकी प्रदेश कमिटी चयनका लागि मध्यान्ह १२ बजेबाट मतदान जारी छ । निर्वाचन समितिका अनुसार साँझ साढे ५ बजेसम्म मतदान हुनेछ । अधिवेशनमा नवराज शर्मा र मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार छन् । मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिएसँगै मैदानमा छन् । उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुका लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट चुनिएका ९ सय ७ प्रतिनिधिले मतदान गर्नेछन् । सभागृहभित्र गोप्य मतदान भइरहेपनि बाहिर भने दुई गुटका कार्यकर्ताले आ–आफ्नो गुटको नेतालाई खुलेआम भोट दिन आह्वान गरेको देखिएको छ । तस्बिर: बिबि रोकामगर/सुनगाभा न्यूज
काठमाडौं: नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ । उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिनुभएको प्रष्ट पार्नुभयो । व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने उहाँको भनाइ छ । उहाँले सहमतिको प्रयास आफूहरूले गरे पनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताउनुभयो । अहिले पार्टीभित्र वैचारिक मतभिन्नता नरहेको उहाँको भनाइ छ । जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बिचमा प्रतिष्पर्धा हुनेकुरा स्वाभाविक भएको उहाँले बताउनुभयो । त्यस्तै अध्यक्ष पदका प्रत्याशी मायानाथ अधिकारीले कार्यकर्ता र नेताहरूले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताउनुभयो । आफूले आफूलाई सहमति गर्न र नसके अर्को सबैले मान्ने व्यक्तिलाई सहमति गर्न आग्रह गरे पनि सफल हुन नसकेको बताउनुभयो । उहाँले सहमति गरेर अघि गए आफू पछि हट्न समेत तयार रहेको बताए पनि सफल हुन नसकेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘जिल्लातिरका धेरै अगुवा साथीहरूले र कतिपय नेताले पनि पोलिटब्युरो सदस्य तपाई पहिला नै हुनुपर्ने हो, विभिन्न कारणले बनाउन सकिएन, अब पार्टीले पोलिटब्युरो सदस्य बनाएको छ, त्यो उपयुक्त पद हो भन्नुभएको छ ।’ त्यस्तै, अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल सङ्गठनको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले यसलाई नेताहरूसँग जोडेर बुझ्न नहुने बताउनुभयो । उहाँले सहमतिका निम्ति प्रयत्न गरे पनि सफल हुन नसकेको बताउनुभयो । मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको छ । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङले उम्मेदवारी दिनुभएको छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
काठमाडौँ: नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताउनुभयो । पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताउनुभयो । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने अध्यक्ष दाहालको भनाइ छ । रासस
काठमाडौँ: समाजवादी जागरण अभियान चलाउन सहरबाट गाउँ छिरेको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को शीर्ष नेतृत्व यति बेला स्थानीय पालिकामा पुगेको छ। स्थानीय पालिकामा पार्टीको वास्तविक अवस्था बुझ्दै पार्टीप्रति आकर्षण बढाउन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका पदाधिकारी स्थानीय पालिकामा पुग्नुभएको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले असोज १४ गतेबाट सुरु भएको अभियान असोज २९ गते सम्पन्न हुने जानकारी दिनुभयो। उहाँका अनुसार १५ दिने जागरण अभियानमा एकीकृत समाजवादीले नौ सय किलोमिटर जागरण जनअभियान यात्रा पूरा गर्ने छ। उहाँले पूर्वको काँकडभिट्टाबाट सुरु भएको पार्टीको अभियान स्थानीय तहमा पुगेर आम सभा र पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्ने गरिएको बताउनुभयो। उहाँले हालसम्म १२३ स्थानमा सभा सम्पन्न भएको जानकारी दिनुभयो।
रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। गंगादेव गाउँपालिकाको वडा नम्बर २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको भन्ने उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान हुँदा अख्तियारले १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौ) कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, सब इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरूद्ध मुद्दा दायर भएको हो। त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २का तत्कालीन वडाध्यक्ष भुपाल दमाइ, वडासदस्य टिका विक, तत्कालीन वडासदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरूद्ध मुद्दा दायर छ। आर्थिक वर्ष २०७६र०७७मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबीच सम्झौता समेत भएको थियो। योजनाको वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको भनेर उनीहरूले गलत प्रतिवेदन दिएका थिए। झुट्टा बिल भरपाइ गरी ४ लाख ६६ हजार ४८८ रुपैयाँ बढी भुक्तानी लिएर हानिनोक्सानी पुर्याएको अख्तियारको ठहर छ। उक्त रकम बिगो कायम गरी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवानाको मागदाबी गरेको छ।
अछाम: नेकपा (माओवादी केन्द्र)ले थालेको तीनमहिने विशेष रूपान्तरण अभियानका क्रममा अछाम पुगेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य एक्कासि बिरामी परेका छन्। अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्याइएको प्रदेश पार्टी सचिव जनक बुढाले जानकारी दिए । प्रदेश पार्टी सचिव बुढाका अनुसार नेता आचार्यको स्वास्थ्यमा अचानक समस्या देखिएपछि मङ्गलबार साँझ अछामको बयलपाटा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो । ‘‘आचार्यलाई प्यारालाइसिस भएको छ, जसले गर्दा आचार्य बोल्न सकेका छैनन् । अरु अवस्था सामान्य रहेको बताइएको छ ।’’ पार्टी सचिव बुढाले भने । तीन महिने विशेष रूपान्तरण अभियानअन्तर्गत जनतासँग माओवादी भन्ने अभियानको नेकपा (माओवादी केन्द्र) अछामको आवधिक जिल्ला समीक्षाको लागि एक दिनअघि मात्रै डडेल्धुरा, बैतडी हुँदै आचार्य अछाम जिल्ला पुगेका थिए ।
जनकपुरधाम: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गर्नुभयो । “अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् । धरान, सर्लाहीको मलङ्गवा र नेपालगन्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ”, अध्यक्ष नेपालले भन्नुभयो, “यी कदमहरू जुनसुकै नाममा र आवरणमा भए पनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन् । यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेको छ । त्यसैले हामी सबै नेपाली एक हौँ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु ।” पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताउनुभयो । राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमानदार बन्नुपर्ने धारणा राख्नुभयो । “राजनीतिक परिवर्तन त भयो । तर देशको आवश्यकता र जनचाहना सम्बोधन गर्न आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका समाजवादी नीति, कार्यक्रम दिनसकिएको छैन । पर्याप्त रोजगारी र सुशासनमार्फत समृद्धि हासिल गर्ने कुरामा हामी चुकिरहेका छौँ । सबैका लागि राज्य भन्ने मान्यतालाई स्थापित गर्न धेरै काम गर्नुपर्ने छ । सही राजनीतिक दृष्टिकोण र विचारले मात्रै समकालीन समस्याबाट निकास दिनसक्छ । त्यसैले म सबै राजनीतिक दल र परिवर्तन पक्षधरहरूलाई वर्तमान निराशालाई चिर्ने गरी काम गर्न आग्रह गर्दछु ।” फरक प्रसङ्गमा अध्यक्ष नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्नेसमेत स्पष्ट पार्नुभयो । “वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने छ । ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने अभिप्राय रहेको अध्यक्ष नेपालको भनाइ छ । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशका अध्यक्ष प्रवीण साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललगायत नेताको समेत उपस्थिति थियो । रासस

