निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

जोमसोम, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ ।   बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्रीले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताउनुभयो ।   प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ । मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें । मैले संयुक्त राष्ट्रसङ्घको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु ।’’   ‘‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन् । जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ । विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ ।’’   प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो । स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्त्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवम् सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन् । कोरला नाकाको विशेष रणनीतिक महत्त्व छ । तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ ।’’  

काठमाण्डौ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।    प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि अस्पताल जानुभएको थियो । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।’   प्रधानमन्त्री दाहालको उपाचारमा डा युवराज शर्मा, डा.यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको अस्पतालले जनाएको छ ।

विराटनगर:    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी छ । उनले कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र कुन(कुन दललाई सहभागी गराउने भन्ने टुंगो भने लागिसकेको छैन । कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले पाँच मन्त्रालयमा दाबी गरेको छ । यसैगरी मन्त्रिपरिषदमा केन्द्रको सत्ता गठबन्धन सहभागी भए आफू बाहिरिने एमालेले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधन स्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले समयानुसार बढिरहेको  सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधन स्रोत सम्पन्न बनाउनु जरुरी भएको बताउनुभयो ।   स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा गरिहेको मुख्यमन्त्री पाण्डेले बताउनुुभयो । देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपदका बेला पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।   “भूकम्प, कोभिड, बाढी पहिरो, दुर्घटनालगायतका हरेक विपत्तिमा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी सुरक्षाकर्मीको रहेको उल्लेख गर्दै उहाँले सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको बताउनुभयो ।    पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्तिका साथै नागरिकसँगको व्यवहार, आपतकालीन सहयोग आदिले संगठन भित्रको विश्वशनियता बढ्दै जाने बताउनुभयो ।   उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा पुष्पार्पण गर्नुभएको थियो । कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्टता हाँसिल गर्ने प्रहरी कर्मचारी, खेलकुदतर्फ उत्कृष्ट कर्मचारी, अमर तथा अशक्त प्रहरीका परिवारजलाई सम्मान गरिएको थियो । रासस 

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरू गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्रि केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो। ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।   नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ।   संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो। ​ सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए। गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन्। आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए। 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि बुधवार प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ । अस्ति शनिवार नियुक्त भई हिजो आइतवार मात्रै शपथ लिनुभएका मुख्यमन्त्री कार्कीले हतार हतार आउँदो बुधवार नै विश्वासकाे मत लिन लाग्नुभएको हो ।   कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उहाँले बुधवार नै विश्वासकाे मत लिन लाग्नुभएको हो ।   कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।   मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधवार कोशी प्रदेशसभा बैठक बोलाइएको छ । यसअघि असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उहाँले राजीनामा घोषणा गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो । यदि कार्कीले विश्वासकाे मत लिन नसकेमा कोशी प्रदेशसभा मध्यावधि चुनावमा जाने छ ।

काठमाडौं:  उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।   उपप्रधानमन्त्री खड्काले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पार्नुभयो । उहाँले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गर्नुभयो ।   ‘‘अहिले केही सञ्चारमाध्यमबाट गजबको विषय, गलत सूचनामा आधारित झुटो सूचनामा आधारित ठूलो भ्रम सिर्जना गर्ने काम भइरहेको छ । नेपाली सेनाको भावी प्रधानसेनापति बन्ने सन्दर्भलाई जोडेर । गलत सूचनालाई सञ्चारमाध्यममा प्रकाशित गर्दा त्यसले संस्थामा पार्ने नकारात्मक प्रभाव, संस्थाका बारेमा भ्रम र अन्योल हुन्छ । नेपाली सेनाको एक जना सहायक रथीको बढुवाको सन्दर्भ जोडेर, म्याद थपको सन्दर्भ जोडेर ठूलो छलफलको विषय बन्यो ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘त्यसलाई स्पष्ट पार्दा पनि केही दिनदेखि भावी सेनापतिको निर्माण सन्दर्भलाई जोडेर पनि समाचार आएको छ । सहायक रथी यमप्रसाद अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरुको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरुलाई नेपाली सेनामा केही सङ्ख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकूल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरियो ।   उपप्रधानमन्त्री खड्काले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताउनुभयो । उहाँले नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको जानकारी दिनुभयो । उहाँले सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने बताउनुभयो । उहाँले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गर्नुभयो ।   ‘‘सहायक रथीको पदावधि सात वर्षको हुन्छ । नेपाली सेनाको नियम प्रक्रिया अनुसार । चार वर्ष पुग्दा हामी सरकारमा गयौँ । उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ । त्यसका लागि सेनाको एउटा बोर्ड छ । त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भूमिका प्रभावकारिताको मूल्याङ्कन गरी बढुवाको लागि सिफारिस गर्छ । प्रधानसेनापतिले त्यो सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउनु हुन्छ, रक्षा मन्त्रालयले अध्ययन गर्छ, त्यसपछि मन्त्रिपरिषदमा गएर एक पटकलाई पदावधि थपिने प्रचलन अनुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘अहिले सेनाको नियमावली चलाएर केके गरेर यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए । आज पनि एउटा लेख देखेँ, नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदैछ भन्ने । यी सबै कुरा मिथ्या हुन्, झुटो हो । नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड छ । सैनिक नियमका आधार भन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिनँ । त्यसैले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो । झुटो हो, सबै सूचना गलत सूचनाको आधारमा केही सञ्चारमाध्यमले गलत सूचनामा समाचार बनाएर एउटा स्थापित संस्थालाई हामीले गलत सूचनाबाट र त्यसै आधारमा फेसबुक भरिएका छन् ।’’   उपप्रधानमन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन, योजना बनाउँदै अघि बढ्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन गएका छन्।   चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गए राति चीन प्रस्थान गरेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव शंकर खतिवडाले जानकारी दिए।   खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।   चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।   सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज सङ्ग्रौला पनि चीन गएका छन्।​ नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

काठमाण्डौ:  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनुअघि कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।   कांग्रेसका सांसद शम्शेर राई र एमालेका संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । दुवै जना मन्त्री इलामका हुनुहुन्छ । मुख्यमन्त्री कार्कीसहित दुवै जना मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।   कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ जना प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले केदार कार्कीलाई हिजो शनिवार बिहान मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएपछि उहाँलाई गठबन्धन दलहरूले पनि समर्थन गर्ने बताएका छन् ।   संविधानको धारा १ सय ६८ को उपधारा ३ अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १ सय ६८ को उपधारा ५ अन्तर्गत सरकार गठनको आह्वान गर्नुभएको थियो । जसअनुसार कार्कीले कांग्रेसमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको थियो । कार्की कोशी प्रदेशको आठौँ मुख्यमन्त्री बन्नुभएको हो । कोशीमा १ वर्षको अवधिमा ५ औँ पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।