जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स यूएई गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै हुनुहुन्छ । जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड गएको १३ गते दुबई जानुभएको थियो । हिजो जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान लगभग शून्यमा भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउनु भएको थियो । जलवायु परिवर्तनबाट हिमनदी सकिँदै गएको र तल्लोतटीय क्षेत्रका अर्बौँ मानिसको जीविकोपार्जनमा नकारात्मक असर परेको भन्दै उहाँले विश्व समुदायलाई ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले बढ्दो तापक्रमले हिमाललाई यातना दिएको भन्दै बचाउन आह्वान गर्दै जलवायु परिवर्तनबाट हुने हानि र क्षतिका लागि स्थापना गरिएका कोष अल्पविकसित र हिमाली देशका लागि सरलीकृत र पर्याप्त हुनुपर्नेमा जोड दिनु भएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइ राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अमरसिंह थापाजस्ता योद्धाहरूले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले हरेक नागरिकले आफूभन्दा पहिला देश सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमरसिंह गढी नाम राखिएको यो गढी तत्कालीन प्रधानसेनापति उहाँको ७३–७४ वर्षको उमेरमा किल्ला बनाउनुभएको थियो । यो किल्लाले त्यसबेला महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लामध्येको एउटा हो । अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिस इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाइ थियो । अमरसिंह थापा प्रधान सेनापति, भीमसेन थापा उहाँका छोरा त्यसबेला पाल्पाको कमाण्डमा थिए र सबैभन्दा बाहिरी किल्लामा अमर सिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ रहेका थिए । “अङ्ग्रेज सेनालाई लखेटेर खासमा भन्ने हो भने नेपालको विजयी भयो । अमरसिंह थापा महान् देशभक्त, महान् योद्धा, महान् जनरल र वास्तवमा देशका लागि समर्पित र आफू मात्रै नभई पुस्तौँपुस्ता समर्पित हुनुहुन्थ्यो । आफू पछाडि नभई अघि बढेर कमाण्ड गर्नुहुन्थ्यो । सिपाहीभन्दा अघि बढ्नुहुन्थ्यो” उहाँले थप्नुभयो, “अमरसिंह थापा हामी सबैका निम्ति अत्यन्त आदरणीय हुनुहुन्छ । उहाँजस्ता योद्धाले लडेर बचाएको, बनाएको देश आज यसको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डताका लागि उहाँहरू लड्नुभयो, त्यसलाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नु छ ।” अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको र सदैव रहनुहुने चर्चा गर्नुभयो । अमरसिंह थापाको सालिकमा माल्यार्पण र फूल अर्पण गरेपछि उहाँले केहीबेर मिडियाकर्मीसँग कुरा गर्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुग्नुभएका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरुले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताउनुभयो । प्रधानमन्त्री दाहालले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढङ्गबाट उठाउने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ । दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको जानकारी गराउनुभएको थियो । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्नुहुँदै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताउनुभयो । सो अवसरमा युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्नसकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन्। सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाललाई नियुक्त गरेका हुन्। यस्तै सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थलाई नियुक्त गरेका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार म्याद समाप्त भई स्वतः विघटन भएका तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरिएको हो। सभापति देउवाले गत मंसिर १२ गते उनीहरूलाई भ्रातृ संस्था अध्यक्षमा नियुक्त गरेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्दै छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै आज ९शुक्रवार० आदेश हुने बताइएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्र जित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिपालमुनि रहेका जाजरकोटका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताएका छन्। राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजका बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि अस्थायी आवास निर्माणमा सुरक्षा निकाय परिचालन गर्ने निर्णय भएको बताए। चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्पपीडित थप समस्यामा नपरुन् भनेर नै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ छ। सम्बन्धित जिल्लास्थित जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा अङ्गलाई आवश्यकतानुसार परिचालित गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले थप जनशक्ति आवश्यक परेको खण्डमा उपलब्ध गराउन सरकार तयार रहेको समेत बताए। भूकम्पबाट प्रभावित नागरिकलाई सहायता पुर्याउन सरकारले तत्कालै तीन चरणको काम अघि बढाएको उल्लेख गर्दै उद्धार, राहत र आवास पुनःनिर्माणलाई प्राथमिकतामा राखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए। ‘भूकम्पपछि प्रधानमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर उद्धारको नेतृत्व गर्नुभयो,’ उनले भने, ‘घाइतेको पहिचान गरी तत्काल उपचारका लागि लगिएको थियो, घाइते उपचारविहीन बन्नु परेन।’ गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ गरी कुल एक सय ५४ जनाको मृत्यु र तीन सय ६६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, प्यूठान, अछाम र जाजरकोटमा क्षति पुगेको थियो। िप्राप्त तथ्याङ्कअनुसार भूकम्पबाट २६ हजार पाँच सय ५७ घर पूर्ण क्षति, ३५ हजार चार सय ५५ घर आंक्षिक क्षति भएका छन्। यस्तै १६ सरकारी कार्यालय पूर्ण र ३४ सार्वजनिक भवन आंक्षिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ। भूकम्पको दोस्रो दिनदेखि सरकारले राहत वितरणलाई प्रभावकारी बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब अस्थायी आवास निर्माण र पुनःनिर्माणमा ध्यान केन्द्रित भएको बताए।अस्थायी आवास निर्माण गर्न दुई किस्तामा प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा गइसकेको उल्लेख गर्दै प्रभावितले पहिलो किस्तास्वरुप रु २५ हजार पाउने र आवास निर्माण थालेपछि थप रु २५ हजार उपलब्ध गराइने बताए। उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न मात्रै रु पाँच अर्ब बढी रकम आवश्यक पर्ने अनुमान गरिएको बताए। ‘प्रभावित क्षेत्रमा निजी आवास तथा सरकारी संरचनाको पुनःनिर्माण गर्न ठूलो रकम खर्च हुने अनुमान गरिएको छ,’ उनले भने, ‘पुनःनिर्माणका लागि दातृ राष्ट्रसँग छलफल भइरहेको छ।’ भूकम्प प्रभावित क्षेत्रका नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न अन्तरमन्त्रालय समन्वय भइरहेको जानकारी दिँदै उनले प्रदेश सरकारसँग पनि आवश्यक समन्वय भइरहेको बताए। बैठकमा सांसदहरुले भूकम्पबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा सरकारको सक्रियताप्रति धन्यवाद दिँदै अस्थायी आवास निर्माण र आवास पुनःनिर्माणमा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए। त्रिपालमुनि बसेका कतिपय भूकम्प पीडितको चिसोका कारण मृत्यु भएको, एकल महिलाका लागि अस्थायी आवास निर्माणमा सहयोग गर्न तथा भूकम्प प्रभावितको स्वास्थ्यवस्थाबारे ध्यान दिन सरकारसँग आग्रह गरेको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले बिहीबार बिहान साढे ८ बजे झुलाघाटको महाकाली नदी किनारमा झन्डोत्तोलन गरी सङ्कल्प यात्राको उद्घाटन गर्नु भएको हो । सङ्कल्प यात्रा आरम्भको उद्घाटन सत्रमा बोल्न हुँदै ओलीले यो यात्रा संवादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली समृद्ध नेपाल बनाउने यात्रा भएको बताउनुभयो । अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्य पहाडी भूभागको अध्ययन, अवलोकन गरी विकासको सम्भावना पहिल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,“ मध्य पहाडी भूभागको यात्राका क्रममा युवाहरूलाई स्वदेशमै टिकाउन, उच्चस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारीका अवसर के केसरी सिर्जना गर्न सकिन्छ ? भन्ने विषयमा जनतासँग सघन संवाद गर्छौ ।” अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरूसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीले बताउनुभयो । झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुस १ गते झन्डोत्तोलन गरी समापन हुने उहाँले बताउनुभयो । सङ्कल्प यात्रामा आम जनताको उत्साही भएको देख्दा खुसी लागेको बताउनुहुँदै ओलीले यात्रामा हिँड्ने शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र जन वर्गीय सङ्गठनको भूमिकाले ठुलो योगदान पुर्याउने बताउनुभयो । नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्राले सरकारी अकर्मण्यता, ओरालो लागेको अर्थतन्त्र, अराजक र अस्थिर राजनीतिलाई सही दिशानिर्देश गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कल्प यात्राले देश विकासका लागि चिन्तन मनन गर्न मद्दत पुर्याउने छ । सकारात्मक परिवर्तन गर्न सकारात्मक नेतृत्व र शक्तिको आवश्यकता रहेकाले त्यसको नेतृत्व एमालेले गरेको छ । यात्रामा सबै अनुशासित भएर सहभागी हुने विश्वास व्यक्त गर्दछु ।”
राष्ट्रिय स्वतन्त्र पार्टीले सहित सबै सांसद केन्द्रीय समितिमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो। रास्वपामा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक नेताले जानकारी दिए। यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो। मोहन थापाले ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्।
प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौं आएका छन्। उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषय टुंग्याउन ध्यानाकर्षण गराउन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डललाई २ बजे र गृहमन्त्री श्रेष्ठलाई साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले सेतोपाटीलाई बताए। ‘प्रहरी समायोजनबारे २०७६ सालमै ऐन बनिसकेको छ। तर, अहिलेसम्म समायोजन नभएको अवस्था छ।यही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन सातै प्रदेशका आन्तरिक मामिलामन्त्री काठमाडौं आएका छौं,’ श्रेष्ठले भने। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनबारे ज्ञापन पत्र बुझाउने बताए। सात प्रदेशका गृहमन्त्रीले कर्मचारी समायोजनाको विषय पनि उठाउने भएका छौं। ‘ध्यानाकर्षण पत्रमा प्रहरी समायोजनको विषय छ। कर्मचारी समायोजनचाहिँ हाम्रो क्षेत्राधिकारभित्र नभएकाले मौखिकरूपमा उठाउनेछौं,’ उनले भने।

