काठमाण्डौ: नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र शुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा अहिले बिहान शुरु हुने बन्दसत्रमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस हुनेछ। छलफलबाट यी प्रतिवेदन पारित भएपछि नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुनेछ । बाग्मती प्रदेश अधिवेशनमा एक हजार १ सय ३८ जना प्रतिनिधि सहभागी छन् । नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गर्ने गरी तयारी भइरहेको एमालेले जनाएको छ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि आकाङ्क्षी धेरै छन् । अध्यक्षमा बाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाललगायतले दाबी गर्दै आउनुभएको छ । एमालेको बाग्मती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र चुनावको विकल्प खुला राख्ने नीति तय भएको छ । अधिवेशनको काठमाण्डौको भृकुटीमण्डपमा हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
काठमाण्डौ: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज आइतवारको बैठकमा उहाँले कोशी र मधेस प्रदेशको शान्ति सुरक्षासहितको वस्तुस्थितिबारे प्रशासन र सुरक्षा संयन्त्रमार्फत निरन्तर जानकारी लिने काम भइरहेको बताउनुभयो । बैठकमा नेकपा (एमाले) का रघुजी पन्त र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सर्लाहीलगायतका जिल्लामा धार्मिक साम्प्रदायिक घटना गराउने प्रयासले तनाव बढिरहेकाबारे समितिमार्फत सरकारलाई जानकारी गराउँदै त्यसबारे आवश्यक जानकारी माग गर्नुभएको थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र विविधताबीचको एकता रहेको देश भएकाले यसमा आँच पुर्याउने र खलल पार्ने काम भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘जानरअञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’ उहाँले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको भन्दै पछिल्लो समय अवस्था बिग्रिँदै गएकाले प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘मूलभूतरूपमा प्रशासनिक विधिबाट समाधान गर्दा आउन सक्ने चुनौतीको पाटोलाई ध्यान दिँदै वैचारिक, राजनीतिक ढङ्गले वातावरण बनाएर समाधान खोज्ने प्रयत्न भइरहेको छ । प्रशासनिक पक्षबाट पनि गम्भीर छौँ, सम्पूर्ण प्रशासन र प्रहरी समयन्त्रलाई कुनै कमजोरी हुन नदिन संयमपूर्वक अघि बढ्नेछौँ ।’ विमानबाट सुन बाहिरिएको प्रकरणका सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई बी) लाई सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिर्याइमा पुग्न बारम्बार निर्देशन दिइरहेको बताउँदै उहाँले अनुसन्धान गर्ने क्रममा तथ्य र प्रमाणले जहाँसम्म देखाउँछ त्यहाँसम्म पुगेर अनुसन्धान गर्न जोड दिइएको जनाउनुभयो । सङ्खुवासभामा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनको निर्माणमा संलग्न कम्पनी सतलज जलविद्युत् निगमले केही दिनदेखि आयोजनाको काम ठप्प पारेर क्षतिपूर्ति नदिए आयोजना अघि बढ्न सक्दैन भन्ने आशयको पत्रचार गरेको विषयमा सांसदले उठाएका जिज्ञासामा उहाँले मुआब्जा नदिएका कारणले काम गर्न पाएनौँ भन्ने स्थिति आउन नदिने स्पष्ट पार्नुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतामाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको छ। आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको हो। उहाँले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताउनुभयो। उहाँले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गर्नुभयो। उहाँले शङ्काको घेरामा रहेका व्यक्ति मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उहाँले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशङ्का व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो , ‘‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान सुरु भयो। त्यो अनुसन्धानका कुराहरू हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो। सत्तारुढ दलका नेताको नाम आउने बित्तिकै जुन ढङ्गले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ, त्यो पटका पनि भएन। सलाईको काँटी जति पनि पड्किएन। किनभने जतिपनि नामहरू आए उनीहरूले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ। प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो।’’ सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुनपानी छर्किने काम गरेको बताउनुभयो। उहाँले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताउनुभयो।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महासमिति बैठकको मिति तोक्ने विषयमा छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार मङ्सिर ११, १२ र १३ गते बस्ने महासमितिको बैठकको एजेण्डाबारे छलफल भएको हो। मुख्य सचिव पौडेलले पार्टी सभापति शेरबहादुर देउवा अर्को कार्यक्रममा व्यस्त हुनुभएका कारण आजको बैठक दिउँसो १ बजे स्थगित भएको जानकारी दिनुभयो। उहाँले बैठकका सन्दर्भमा भन्नुभयो, “प्रमुख विषय भनेको महासमितिको बैठक मङ्सिर ११, १२ र १३ गते बस्दैछ। यसैको सन्दर्भमा मात्र कुरा उठेको छ।” खासगरी, जनजीविकाका सवाल आम नागरिकले भोग्नुपरेको महँगी लगायतका विषयमा बैठकमा छलफल भएको उहाँको भनाइ छ। असोज ४ गते बिहीबारदेखि सुरु भएको बैठकमा आइतबार ३१ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिनुभयो। उहाँका अनुसार अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुङ्गाना, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाईँ, कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला, राजीव ढुङ्गाना, राजेन्द्रकुमार केसी, विनोदकुमार चौधरी, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गङ्गालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल, विद्यादेवी तिमल्सिना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले धारणा राख्नुभयो। कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार बिहान ११ बजे पुनः बस्नेछ।
काठमाडौं: सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । आइतबार उहाँले आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डी.हिगिन्ससँग शिष्टाचार भेट भएको बताउनुभयो । भेटमा आयरल्याण्डका तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेल, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओ ब्रायन, आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि शिष्टाचार भेट गरेको उहाँले जानकारी दिनुभयो । भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सरलगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधिलगायतको सहयोगबारे, एकअर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताउनुभयो । उहाँले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तनलगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी १ गतेदेखि ५ गतेसम्मको आयारल्याण्डका प्रतिनिधि सभाका सभामुख निमन्त्रणामा औपचारिक भ्रमण पूरा गरेर आएका छौँ । यहाँबाट प्रतिनिधि सभाका अन्य सदस्यहरूलाई लैजान पाएको भए राम्रो हुने थियो । तर अब विभिन्न कारणले गर्दा हामी छरितो टिमको रूपबाट गयौँ ।’ आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट भएको उहाँले बताउनुभयो । त्यस्तै, तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेलसँग शिष्टाचार भेट, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओ ब्रायनसँग भेटभएको उहाँले बताउनुभयो । सोही क्रममा आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि भेट भएको उहाँले जानकारी दिनुभयो । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्यप्रसाद पाण्डेय, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्थ्यो । त्यस्तै, आयरल्याण्डमा नेपाली राजदूतावास, लण्डनका दिवुतीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी हुनुभएको थियो । सभामुखको टोली भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गरेको थियो ।
बेइजिङ: चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । रासस
काठमाडौँ: नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असोज ४ गते बिहीबारदेखि निरन्तर जारी बैठकमा आफ्नो धारणा राख्नुहुँदै केन्द्रीय सदस्य श्याम कुमार घिमिरेले काँग्रेसले देशमा रोजगारी सिर्जना, राजस्व वृद्धि, सेवा क्षेत्रको विस्तार गर्नुपर्नेमा महत्त्व दिनुपर्ने बताउनुभयो । घिमिरेले भन्नुभयो, “सकारात्मक वातावरणमा कसरी लैजाने, कतिपय मुद्दाहरूमा स्पष्टताको आवश्यकता छ । स्वदेशमा रोजगारीको सिर्जना, राजस्व वृद्धि, सेवा क्षेत्रमा विस्तार गर्नेमा महत्त्व दिनुपर्छ । काँग्रेसले स्पष्ट दिशा दिन सक्नुपर्छ ।” उहाँले काँग्रेसको अब बस्ने महासमितिको बैठकमा यी विषय सम्बोधनका लागि नीतिगत रूपमा सुधारको आवश्यकता रहेको भनाइ राख्नुभयो । यसै गरी केन्द्रीय सदस्य प्रदीप पौडेलले सबै विषयमा अनुशासन समितिले सिद्धान्त बनाउनुपर्ने बताउनुभयो । महासमितिको बैठकको मिति तोकिएको भन्दै उहाँले नीति अधिवेशन हुन नसकेको र महासमिति बैठकलाई नै नीति अधिवेशन गर्ने भनिएको बताउनुभयो । पौडेलले भन्नुभयो, “नीति अधिवेशनले आशाको सञ्चार गर्न सक्नुपर्छ । १५ औँ पञ्चवर्षीय योजनाको अवधि समाप्त भएको छ । १६ औँ पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ भनेर योजना आउनुपर्छ ।” उहाँले विश्वव्यापी जलवायु परिवर्तनको बारेमा अवधारणा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
काठमाण्डौ: चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हाङझाउबाट राजधानी बेइजिङ जाँदै हुनुहुन्छ । उहाँ बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट उहाँ बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ । आज दिउँसो ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीसहित नेपालबाट गएका उद्योगी व्यवसायीको टोली पनि सहभागी हुनेछ । यो समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रचण्ड बेइजिङमा रहेको नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । भोलि प्रधानमन्त्री प्रचण्डको समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता हुनेछ । हिजो प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच हाङझाउमा भेटवार्ता भएको थियो । प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो । नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रचण्डले चिनियाँ पक्षलाई आश्वस्त पार्नुभएको थियो । यो भेटवार्तापछि प्रचण्ड एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट हिजो बिहान चीन पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डसहितको टोली सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार नेपाल फर्कने कार्यक्रम छ ।
काठमाण्डौ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै सच्याएर मात्रै संसदबाट पारित हुने दाबी गर्नुभयो । उहाँले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभई कम्तीमा २० वर्षसम्म हेर्नसक्ने खालको हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज विद्यालयहरू बन्द रहेको अवस्था छ । शिक्षक साथीहरू सङ्घर्षमा हुनुहुन्छ । आज सरकार र उहाँहरूको बीचमा संवाद पनि चलिरहेको छ । समग्र शिक्षालाई हेर्ने एउटा कानुन धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ । अहिले संसदमा दर्ता भएको विधेयकमा संशोधन हाल्न शुरु भएपछि मैले मात्रै हाल्ने संशोधन हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटि रहेछन् रु अहिले बनाउने कानुनले आजको समस्या मात्र होइन, कम्तीमा २० वर्षसम्म हेर्नसक्ने खालको हुनुपर्छ ।’ महामन्त्री थापाले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालय शिक्षालाई उकास्न नसकिने बताउनुभयो । सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । महामन्त्री थापाले सरकार र शिक्षकबीचको वार्ताले सकारात्मक रूप लिने विश्वास लिएको पनि बताउनुभयो ।

