काठमाडौँ: फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो । आज शुक्रबारबाट प्रदर्शनमा आउने भरिएको एनिमेसन फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएपछि ‘महाजात्रा’ले देशभरकै स्टेशनमा निरन्तरता पाएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका हलले उच्च शो दिएका छन् । फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्जन लिनुका साथै मध्यान्तरपछि देखाइएको देशको समसामयिक विषयलाई रुचाउनुभएको छ । हामीले मनोरञ्जनसँगै दिनु खोजेको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ’, भट्टराईले भने । फिल्मले नेपालमा मात्र नभई विदेशमा पनि व्यापार गरिरहेको छ । पहिलो साता अस्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमित बक्सअफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमित प्रदर्शनमा छ । यस्तै, चैत १५ (मार्च २८) देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरुआत गरेको छ । नेपालकै ठुलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ ।
तनहुँ: तनहुँको भिमाद नगरपालिका– मिछुर्लुङ्गमा कौराहा प्रतियोगिता हुने भएको छ । नेपालीहरुको नयाँ वर्षको दिन मगर समुदायमा प्रचलित कौराहाको संरक्षण गर्दै गाउँको पर्यटन प्रबद्धन गर्नुका साथै स्थानीयको आयआर्जनमा वृद्धि गर्ने हेतुले कौराहा प्रतियोगिता आयोजना गर्न लागेको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । साथै कौराहा प्रतियोगिताको अवसरमा लोकदोहोरी गायक राजु परियार र लोकदोहोरी गायिका शिला आलेको पनि विशेष सांगितक प्रस्तुति हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने समुहले नगद ७५ हजार, द्धितीय हुनेले ५० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुने दुई समुहले १०÷१० हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । कौराहा करिब वि.सं १९८० सालमा तनहुँको रिसिङबाट सुरु भएको पाईन्छ । कौराहा गीत भर्खरका ठिटाहरूले खैँजडी बाजा बजाएर गाउने गर्छन् भने त्यस गीतमा चढ्दो उमेरका युवतीहरू भेषभूषामा सजिएर ताल मिलाएर नाच्ने गर्छन् ।
काठमाडौं: आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।
चितवन: भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ । आउँदो चैत ९ देखि १८ गतेसम्म महोत्सव हुने भएको हो । आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार चितवनमा आदिवासी जनजाति महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो । आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । “भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ”, उनले भने, “यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन ।” महोत्सवलाई सबैको साझा बनाउने विषयमा जनजाति महासङ्घ सचेत रहेको उनले बताए ।
पोखरा: पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नयाँबजारमा स्थान्तरण भएको आर्ट ग्यालरी गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा तयार भएपछि ललितकला प्रदर्शनी आयोजना गरिएको हो । गण्डकी प्रज्ञा–प्रतिष्ठानले आर्ट ग्यालरीमा ५० वटा लाइट र आवश्यक पर्ने थप समाग्री सहयोग गरेर प्रदर्शनी हललाई आर्कषक बनाएको छ । सोही प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । सिर्जनशील कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी गरिएको हो । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एक कार्यक्रमकाबीच उद्घाटन गरे । 'सामाजिक रुपान्तरण, ललितकलाको अभियान' भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका कुल ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका कलाको अवलोकन गर्न पाउनेछन् । पाँच दिनसम्म चल्ने प्रदर्शनीको समापन फागुन २३ गते हुनेछ । समापनको दिनमा दिउँसो ३ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रम समेत गरिनेछ । यो कार्यक्रमले आर्ट ग्यालरी लगायतका विषयमा सबैलाई थप प्रष्ट पार्ने आयोजकको विश्वास छ । देशका सुप्रसिद्ध कलाकारको सहभागीतामा कार्यक्रम आयोजना भएकोले नयाँ तथा पुराना कलाकारको जमघट हुने ठाउँ प्रदर्शनी स्थल बन्ने आयोजकको अपेक्षा रहेको छ । प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कार समेत प्रदान गरिनेछ । सबै विधाबाट उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तीकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दूई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् । यसका अलावा प्रदर्शनी मार्फत छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफुहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए । ‘जाती जनजातिको कला आज हामी देख्न पाउदैनौ, केही अपवाद बाहेक घरभित्र थन्कीएको छ, समुदायमा थन्कीएको छ, सुषुप्त हुन थालेको छ, त्यसलाई पुनर्जागरण गर्ने भनेका छौं’ उनले भने ।
काठमाडौं: माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाडौंको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव नायक यमन माझीले संगित गरेका हुन । सो गीतमा माझी चलचित्र जगतका पहिलो नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष बिबस कुमार माझीका साथै बाबुराम माझी, बिसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेस माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन । सो गीतलाई लक्षु प्रकास मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन । उत्त कार्यक्रम जनजाति चलचित्र महासंघकी महासचिब तथा माझी चलचित्र कर्मी संघकी अध्यक्ष होम कुमारी माझी (सिजिका)को अध्यक्षता सम्पन्न भएको हो ।
पोखरा: ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा एकताको आज देशभरबाट दिइयो । सो अवसरमा पोखरामा पनि मानव अधिकार चोकमा मगरहरु भेला भएर सभागृह हलमा पुगेर भव्य कार्यक्रम आयोजना गर्दै यसपटकको ४२ औं राष्ट्रिय मगर एकता दिवस मनाइयो । नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगरहरुको जभघट भयो । मानव अधिकार चोकबाट सुरु र्यालीमा मगर समुदायको निकै लोकप्रिय र प्रचलित भाकाहरु घन्किए । तनहुँ, स्याङ्जा तथा पाल्पा जिल्लामा प्रचलित कौडा (कान राहा, हामी आयौ) झाब्रे सालैजो(झा भुरा, धुलो उड्यो) पुन मगरहरुको मौलिक नाच सडकमै प्रस्तुत भए । यस्तै मारुनी, ठाडो भाका, चुट्का र्यालीमा घन्कियो । जहाँ मिस मगर नेपाल लगायतकोसमेत सहभागिता रहेको थियो । हेर्नुहोस् सुनगाभा न्यूजको लेन्समा कैद तस्बिरहरु:-
पोखरा: सोमबारबाट पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु भएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । परिवर्तनको निर्देशनमा मञ्चन सुरु भएको नाटक बुकिङ शो मार्फत फागुन ३० गतेसम्म हेर्न पाइनेछ । कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावक सहित नाटकपारखीका लागि उपयुक्त हुने जनाएको छ । पोखरा थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक पहिलो दिन सोमबार गन्धर्व नाटकघरमा दुई शो मार्फत मञ्चन भएको छ । पहिलो शो पोखरा आर्दश माविका विद्यार्थीलाई देखाइएको थियो । उनीहरुले नाटकमा कलाकारले गरेको अभिनयको प्रशंसा गरे । दोस्रो शो मार्फत पोखराका विभिन्न्न विद्यालयमा अध्यापनरत शिक्षक तथा सञ्चारकर्मीलाई देखाइयो । नाटकलाई थप परिमार्जन गर्न र विद्यार्थीलाई नाटक हेर्न उत्पेरित गर्ने उद्धेश्यले यो शो मार्फत मञ्चन गरिएको थियो । मञ्चन पश्चात नाटकलाई थप परिपक्क र आर्कषक बनाउन मञ्चन पश्चात अन्तरक्रिया समेत आयोजना गरियो । सहभागीले सम्रग विषयवस्तु नाटक टीमले गरेको मेहनतको खुलेर तारिफ गरे । नाटकले दिएको सन्देश, प्रस्तुती, विषयवस्तु, प्रयोग गरिएका सामाग्री समेतको बारेमा दर्शकले आ–आफ्नो धारणा राख्दै नाटकलाई थप आर्कषित बनाउनका लागि गर्न सकिने सुझाब समेत राखे । उनीहरुले कक्षा ११ मा अध्ययनरत विद्यार्थीको दृष्टिकोण र अपेक्षालाई आधार मान्दै सुझाब दिएका थिए । नाटक विद्यार्थीको लागि उपयुक्त बनाउनका लागि नै मञ्चन गर्न लागिएको कारण यसरी सुझाब मागेर परिमार्जन गर्न खोजिएको निर्देशक परिवर्तनले खुलाए । उनीहरुका सुझाब सुनेपछि आएका केही सुझाबलाई सम्बोधन गर्ने प्रतिवद्धता निर्देशक परिवर्तनले जनाए । उनले नयाँ पुस्तामाझ नाटकलाई पु¥याउनका लागि पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुमा नाटक मञ्चन गर्न थालिएको र त्यसले नयाँ पुस्तालाई नाटक प्रतिको आर्कषण बढाउन सफल भएको समेत बताए । यस अगाडि विद्यार्थीलाई लक्षित गरेर मञ्चन भएका एक चिहान, दुई नाटक, करेसा कन्र्सट लगायतलाई समेत विद्यार्थीले रुचाएको उनको भनाई थियो । निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण भएको यो नाटकले सन्देश समेत बोकेकाले सबै दर्शककोे लागि उपयुक्त भएको बताए । ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिएको छ । नाटकले हाम्रो शिक्षा प्रणालीबारेमा बहस गर्दै सुधार गर्न सघाउने उनको विश्वास छ । नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहीत पौडेल, आदित्य सुनार, ज्योती हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । उनीहरुले आफ्नो भूमिकालाई न्याय गर्दै दर्शकको ध्यान तान्न सफल भएका छन् । नाटकलाई धेरैं दर्शकमाझ आर्कषक शैलीमा पु¥याउनका लागि प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनी संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्क्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा रहेर प्रकाश पराजुलीले साथ दिएको थिएटरले जनाएको छ । सबै टीमको मेहनतका र नाटकप्रेमीको मायाको कारण मञ्चन सफल हुने अपेक्षा गरेको थिएटरका संस्थापक सदस्य दील प्रसाद गुरुङले बताए । बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि तीन सय र पाँच सय रुपैयाँ शुल्क लाग्नेछ । नाटक हेर्न इच्छुक विद्यालय तथा समुहगत दर्शकको लागि शो बुकिङ भैरहेको पोखरा थिएटरले जनाएको छ । नाटक मञ्चनलाई व्यवस्थित बनाउन मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजन र इन्टरनेट पार्टनरको रुपमा वल्ड लिंकले सघाएकाछन् । पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आर्कषण समेत बढेको छ । पोखरा थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा समेत सञ्चालन भैरहेको थिएटरका अध्यक्ष समेत रहेका परिवर्तनले खुलाए । थिएटरले निरन्तर आयोजना गरिरहेको विद्यालय नाटक महोत्सवले समेतले पोखरा तथा समग्र गण्डकी प्रदेशका विद्यालयमा नाट्य गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
काठमाडौँ: मिस तामाङ २०२४ को उपाधि रिया लामाले जितेकी छन् । शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस तामाङ विजेता पासाङ याङ्जी तामाङले उनलाई ताज लगाइदिएकी थिइन् । उनी मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १६ औँ संस्करण अर्थात् मिस तामाङ २०२४ को विजेता भएकी हुन् । तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको १६ औँ संस्करण मिस तामाङ-२०२४ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष नायिका रन्जिता ब्लोनले उक्त कार्यक्रमको अध्यक्षता गरेकी छन् । ब्लोनले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएकी छन् । २६ जना प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेमा रहेपनि शनिबार सम्पन्न उक्त कार्यक्रममा २५ जनाले मात्रै आफ्ना विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए भने दोस्रो चरणमा टप ७ प्रतिस्पर्धी छनौट गरेका थिए । ती सबै चरणहरू पार गर्दै अन्तत: कन्टेस्टेन्ट नम्बर १३ कि रिया लामा मिस तामाङ २०२४ को विजेता भएकी हुन् । प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन् । मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदीप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए ।

