पोखरा: गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती राख्ने भएका हुन् । यहीं वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउने छन् । उनको प्रस्तुतीमा रम्न इच्छुक संगीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर झुम्न सक्नेछन् । कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए । गण्डकी प्रदेश स्तरीय अवार्ड कार्यक्रममा आर्कषणको रुपमा यसपाली बागलुङ जिल्लामा जन्मिएर नेपाली सांगीतिक फाँटमा स्थापित बनेका सपुतलाई स्टेज उतार्न लागिएको हो । विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर गीत तथा प्रस्तुती मार्फत कथामा उतार्न सक्ने खुबी भएका सपुतको प्रस्तुतीले कार्यक्रममा रौनकता थप्ने मञ्चको विश्वास छ । सपुतका अलावा गायक सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने साँस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मन क्षेत्रीले खुलाए । अवार्ड कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक मञ्च गण्डकीले अनुरोध गरेको छ । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।
पोखरा: डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले पोखराका वरिष्ठ चिकित्सक जीवनको लामो कालसम्म चिकित्सका सेवामा क्रियाशील राखेर पेशाबाट निवृत्त भएसँगै साहित्य सेवामा लाग्नु निकै प्रशंसनीय कार्य भएको बताए । उनले शर्माको आख्यानशैली र सिर्जनशीलताको प्रशंसा गर्दै सरुभक्तले व्यक्ति आफ्नो पेशा व्यवसायमा जुनसुकै निकाय र क्षेत्रमा रहे तापनि साहित्य सबैको साझा विषय रहेको धारणा राखे । उनले विद्यार्थी जीवन सकिएपछि साहित्यिक जीवन सकिएको नठान्न पनि आग्रह गरे । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले द्वितीय युद्धकालीन परिवेशका विषयमा लेखिएका र सुनिएका धेरै सन्दर्भ रहे तापनि पोखरेली स्रष्टाबाट लेखिएको कृति थप सहयोगी सिद्ध हुने धारणा राखे । कृतिको समीक्षा गर्दै प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले नेपाली कहिले ज्ञानको, कहिले बासस्थानको, कहिले आफन्तको खोजीमा प्रवासमा पुग्दा नेपालीले देखे भोगेको यथार्थ विषयवस्तु खोजीमा उपन्यासको मुख्य विषय रहेको बताए । कृतिका स्रष्टा कालु शर्मा सुवेदीले आफू बाल्यकालदेखि साहित्यनुरागी रहेतापनि सेवा निवृत्त समयमा आएर बल्ल आफ्नो सिर्जनशीलतालाई बाहिर ल्याउने अवसर मिलेको बताए । उनले केही कृति निकट भविष्यमै आउनेसमेत जानकारी गराए ।
पोखरा: बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ । विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार महेश त्रिपाठीले ‘खजुरे ब्रो’ सामाजिक कथामा आधारित सिनेमा भएको जानकारी गराए । उनका अनुसार सिनेमामा सामाजिक विषयवस्तुलाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । सिनेमाको आफ्नो भूमिकालाई लिएर उनी आशावादी छन् । आइरहेका नेपाली सिनेमाभन्दा केही फरक भएकाले पनि सिनेमा दर्शकलाई मन पर्ने विश्वास त्रिपाठीलाई छ । सिनेमाका मूख्य पात्र रेयर राइले ‘खजुरे ब्रो’ आफ्ना लागि टर्निङ पोइन्ट हुनेमा आशावादी छन् । कन्टेन्ट अनुसारलाई आफुलाई अभिनयमा ढाल्ने प्रयत्न गरेको उनले बताए । सिनेमामा रेयर नै ‘खजुरे ब्रो’ पात्रमा देखिदैछन् । कलाकार पुष्कर कार्कीले सिनेमामा आफ्नो सस्पेन्स भूमिका भएको उल्लेख गरे । सामाजिक विषयवस्तु भएकाले पनि दर्शकको रोजाईमा ‘खजुरे ब्रो’ पर्नेमा उनी विश्वस्त छन् । चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाले मनसरा, पुजार सार्की र फर्कीफर्की जस्ता सिनेमाले ‘खजुरे ब्रो’ को व्यापारमा असर नगर्ने उल्लेख गरे । सिनेमाको छायाँकन दार्जलिङ, धरान र काठमाडौंमा गरिएको हो । अहिलेसम्म एक करोड पचास लाख माथिको खर्च भइसकेको निर्माण पक्षले जनाएको छ । सिनेमाको कथा सुरज सुनुवारले लेखेका हुन् । निर्देशन समेत उनकै हो भने निर्माता नबिन मानन्धर हुन् । सिनेमामा महेश त्रिपाठी, रेयर राई, पुष्कर कार्कीका अलवा नीति शाह, बिनिता थापा मगर, शन्तीला तामाङ, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।
पोखरा: गायन रियालिटी ‘शो’नेपाल आइडलको पाँचौं संस्करणमा पोखराकी सलोमी गुरुङसहित उत्कृष्ट १२ प्रतिस्पर्धीले प्रस्तुति दिएका छन् । शोको शनिबार प्रशारण इपिसोडमा उत्कृष्ट १२ प्रतिस्पर्धीको प्रस्तुति रहेको थियो । उत्कृष्ट १२ मा पोखराकी सलोमी गुरुङसहित करण परियार, मावन परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा, सुनिल विश्वकर्मा, छिरिङ पाख्रिन, इशा सुवेदी, प्रेणा विश्वकर्मा, सचिन विश्वकर्मा, सन्तोष पुनले प्रस्तुति दिए । यीमध्ये ६ प्रतिस्पर्धीहरु प्रस्तुतिका आधारमा जजले दिएको नम्बर अनुसार सिधै उत्कृष्ट १० मा करण परियार, मानव परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा र सुनिल विश्वकर्मा छनोट भएका छन् । बाँकी ६ जनाले भोटिङका लागि प्रतिस्पर्धा गरिरहेका छन् । भोटिङमा गएकामध्ये २ जना आउट हुनेछन र आउँदो शुक्रबार उत्कृष्ट १० को छनोट पुरा हुनेछ । भोटिङमा सलोमी गुरुङ, सन्तोष पुन, सचिन विश्वकर्मा, प्रेणा विश्वकर्मा, इशा सुवेदी र छिरिङ पाख्रिन छन् । नेपाल आइडलको अन्तिम १२ मा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ । सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।
काठमाडौं: धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको छ । फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटमा सुरु भएको छ । पहिलो चरणको छायांकन यसअघि मनाङमा सम्पन्न भइसकेको छ । निर्देशक अशोक थापाले बिहीबारदेखि पुन मगरको उद्गमथलो रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले दशक लामो सशस्त्र युद्धको क्रममा युवायुवतीबीच अंकुराएको प्रेमलाई देखाउँछ । छायांकन गर्न पुगेको ‘खुश्मा’को टिमलाई मौकोटबासीले स्वागत गरेका थिए । मैकोट अभिनेता धीरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट दुई वर्षको उमेरमा बेलायत गएका थिए । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । सहनिर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ । माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।
पोखरा: नयाँ वर्ष अवसरमा पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म चलेको महायज्ञ सोचेअनुरुप सफल भयो । लोकको कल्याणका लागि आयोजित महायज्ञ सफल भएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए । महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गरेका हुन् । उनको मुखारबिन्दबाट कथा सुन्न भक्तजनको दैनिकरुपमा उल्लेख्य भए । महायज्ञमा करिब १२ सय जना कर्ता बसेको महायज्ञ मूल आयोजक समिति कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए । कथावाचन आइतबारसम्म भएकोमा सोमबार समापनमा पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरिएको हो । त्यसअघि, सप्ताहव्यापी पाठपरायण, प्रवचन तथा अनुष्ठान भएको महायज्ञका कार्यालय सचिव नरेन्द्र रानाभाटले बताए । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा नारायणप्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरुङ, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उपस्थित थिए । निकै व्यवस्थितरुपमा महायज्ञ आयोजना गरिएको भए पनि अर्थ संकलनको कुनै उद्देश्य थिएन । कतिपयले स्वेच्छिक सहयोग गरेको महायज्ञका महासचिव सूर्यभक्त सिग्देलले बताए । महायज्ञमा कथावाचनसहित बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रमले प्रदर्शनी केन्द्र महायज्ञमय बनेको मूल आयोजक समितिका सूर्यप्रसाद भण्डारीको भनाइ छ । महायज्ञका सल्लाहकार एवं विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले अर्थ संकलन उद्देश्य नराखी सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने उद्देश्यले पोखरामा फरकखालको महायज्ञ भएको बताए । घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएकाहरुको सुविधाका लागि महायज्ञमा त्यस्तो सुविधा दिइएको महायज्ञका सहअध्यक्ष महेश पराजुलीले बताए । उनका अनुसार योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना निरन्तर भए । मूल आयोजक समिति अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन विष्णु पौडेलले गरेका थिए ।
पोखरा: मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको हो । समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जानकारी दिए । उनले भने ,“मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफुलाई पाउनेछन ।” सामाजिक विषयवस्तु आफ्नो रुचीको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए । “सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो ।“, उनले भने । निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पुर्वतिर पाइने धान जसको ढांट अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसङ्ग जोड्ने प्रयास सिनेमा माध्यम गरेको उनले बताए । मनसरा धानको विशेषता मन परेर नै सिनेमाको कथा बनाइएको भनाई उनको छ । उपन्यास लेखन भन्दा सजिलो सिनेमा लेखन भएको उनले उल्लेख गरे । लेखनमा नै सुब्बा आनन्द मान्छन । अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए । समाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने सिनेमा बनाइएको भनाई उनको छ । उनी सिनेमामा साधारण कृषकको भुमिकामा देखिएका छन् । मिश्रित समाजको कथा भएकाले मनसरा दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन् । नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन । जारीमा दर्शकबाट पाएको माया स्वरुप मनसराको आफ्नो भुमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन । कुनै पनि कलाकारले निर्देशकले दिएको भुमिका अनुसार नै आफुलाई सिनेमामा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भुमिकालाई आफुले सक्दो निभाउने प्रयास गरेको उनले बताइन । अभिनेत्री मेनुका प्रधान पनि मनसरा बाट आशावादी देखिन्छन् । सिनेमामा आफ्नो भुमिकालाई दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् । सामाजिक कथा भएकाले सिनेमा हेर्न हल सम्म पुग्न दर्शकलाई उनको आग्रह छ । कार्यकारी निर्माता सिजन दाहालले सिनेमाको छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पांचथरको गाउँमा भएको जानकारी गराए । उनका अनुसार उक्त गाउँका नागरिकहरु भाडामा बसेर खेती किसानी गर्छन । लकडाउनको समय देखि नै स्कृप्टको तयारी भएको र अहिले आएर सिनेमा निर्माण गर्ने समय जुरेको उनले उल्लेख गरे । कर्मसियल सिनेमा जत्तिकै लगानी मनसरामा लागेको भनाई उनको छ ।
पोखरा: पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी रेष्टुरेण्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि व्यवसायहरुनै लाग्नुपर्नेमा जोड दिए । आफुहरुको व्यवसाय कोरोना अगाडि सम्म नेपाल सरकारमा सुचिकृत नभएका कारण त्यतिवेला प्रहरी प्रसासनबाट सास्ती खेप्नुपरेको वताउदै कोरोना पछि व्यवसायलाई सुचिकृत गरी मापदण्ड र अनुसुची बनाएको र त्यसपछिमात्र हाल आएर रात्रिकालिन व्यवसायलाई चौबिसै घण्टा खोल्न सरकार तत्पर रहेको बताउदै अध्यक्ष श्रेष्ठले संस्थाको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे । त्यस्तै पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले ब्यवसाय संगै रोजगार प्रदान गर्ने व्यवसाय लोकदोहोरी रेष्टुरेण्ट भएको वताउदै लोकदोहोरी व्यवसायले लोक संस्कृतिको संरक्षणमा समेत लागेको बताए । आर्थिक मन्दीका कारण रोजगार नपाउने अवस्थाका कारण युवाहरु विदेश पलायन भइरहदा लोकदोहोरी रेष्टुरेण्ट व्यवशायीहरुले केही हद सम्म रोजागार प्रदान गरिरहेको वताउदै थापा मगरले पैसा र नेपाल सरकारले चाहेर मात्रपनि नेपालको मौलिक लोक संस्कृति बचाउन नसकिने बताए । लोक संस्कृतिको संरक्षणमा व्यवसायहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव शंकरविरही गुरुङले लोकदोहोरीको कलाकार उत्पादन गर्न र कलाकारलाई बचाइ राख्न लोकदोहोरी रेष्टुरेण्टको मुख्य भुमिका रहेको बताए । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका सल्लाहकार लोकेन्द्र कुमार राईले रात्रीकालिन ब्यवशायहरु २४ घण्टा खुल्नु खुसीको कुरा भएतापनि त्यसमा चुनौती रहेको बताउदै व्यवसायहरुले विशुद्ध रुपमा व्यसाय गर्दै सम्मानित र मर्यादित ढंगले व्यवसाय गर्न सके व्यवसायीले सम्मान पाउने बताए । त्यस्तै अर्का सल्लाहकार जय कुमार परियारले संघले व्यवसायहरुको हक हितको लागि एकजुट भएर काम गर्न आग्रह गरे । ससुराली रोधी घरका सञ्चालक टंक पौडेलले संघबाट व्यवसायीहरुलाई दुख पर्दा साथ र सहयोग पाइरहेको बताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखे । उक्त अवसरमा पोखरामा भर्खर सञ्चालनमा आएका ससुराली, जुनेली, मान्द्रो र सारंगी रोधी घरले संघको सदस्यतासमेत लिएका थिए । हाल पोखरामा २६ वटा दोहोरी सांझहरु संघमा आवद्ध रहेका छन । संघका अध्यक्ष जीवन गुरुङ भीमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन सचिव दिलु लामाले गरेकी थिइन् ।
काठमाडौं: फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सामाजिक कथामा आधारित फिल्मको ४ मिनेट लामो ट्रेलरमा दुई अलग समुदायका पात्रको कथा देख्न सकिन्छ । जसमा विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको प्रेमलाई प्रस्तुत गरिएको छ । कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुनुहुन्छ । यस्तै, विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह(निर्माता हुनुहुन्छ । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र शुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्ने फिल्म आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

