चितवन: चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए। जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए। भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए। यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए। डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो। यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन्। डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ ।
काठमाडौँ: नेपालमा डेंगी देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ। सरकारले अहिलेसम्म डेंगी नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो। यसअघि सरकारले डेंगी रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगी नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ। सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए। डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको बताए। उनले पछिल्लो तथ्यांकअनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगी संक्रमण देखिएको उल्लेख गरे। मरासिनीले डेंगी को रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको पनि बताए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगी रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताए। डेंगीले केही समययता प्रकोपको रुप लिइरहेको र आगामी वर्ष झनै जोखिम बढ्ने उनकाे भनाइ छ।
रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण अहिले पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ । ब्लड बैंक निर्माणका लागि अहिलेसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख रुपैयाँ र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम त्यही बजेटबाट भएको उहाँको भनाइ छ । ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ । अहिले सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।
पाल्पा: पाल्पाका ८९ स्वास्थ्य संस्थामध्ये ३४ वटाले दूषित पानी प्रयोग गरिरहेको भेटिएको छ । ८९ स्वास्थ्य संस्थामा बिरामी तथा कुरुवाहरुले प्रयोग गर्ने पानीको परीक्षण गर्दा ३४ वटाको पानीमा दिसामा पाइने कोलीफर्म भेटिएको हो । कोलीफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिसामा पाइने एक प्रकारको जीवाणु हो । जिल्लाका दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । रिब्दीकोट, माथागढी र बगनासकाली गाउँपालिकाका ६र६ वटा गरी १८ वटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म भेटिएको छ । त्यस्तै, रैनादेवी छहरा र तिनाउँ गाउँपालिकाका तीन÷तीन वटा, रम्भा गाउँपालिकाका दुई वटा तथा निस्दी गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थाको पानी दूषित भेटिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकामा तीन वटा र तानसेन नगरपालिकाको एउटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म जीवाणु फेला परेको छ । स्वास्थ्य कार्यालयले पानीको गुणस्तर सुधार तथा सचेतना अभिवृद्धि गर्न र महामारीबाट बच्न पानीको जाँच गरिएको जनाएको छ । जाँच गरिएकामध्ये ४० प्रतिशत स्वास्थ्य कार्यालयको पानी दूषित रहेको पाइएको कार्यालय प्रमुख डा. गिरीले जानकारी दिए । दुषित भेटिएको पानीको गुणस्तर सुधार गर्न पालिकाको स्वास्थ्य शाखालाई सुझाव दिइएको उनले बताए ।
म्याग्दी: हिमाली जिल्ला म्याग्दीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ म्याग्दीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका छ वटै स्थानीय तहका ४५ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र सबै बालबालिकाले पूर्णरुपमा खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । हाल जिल्लामा भएका १५ महिना पूरा भई ५९ मुनिका बालबालिकाहरुको सर्वे गर्दा समेत सबैले खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई सुनिश्चित जिल्ला घोषणा गरिएको हो। “म्याग्दी जिल्लालाई पहिलो पटक २०७१ चैत १५ गते सालमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । अहिले स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पनि सुनिश्चितताको दिगोपन घोषणा गरिएको हो,” उहाँले भन्नुभयो । नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोगविरुद्ध तथा गर्भवती महिलाका लागि टिटी खोप लगाउने गरेको जनाइएको छ । म्याग्दीमा बेनी अस्पताल, एक सय १७ खोप केन्द्र, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ३९ वटा स्वास्थ्यचौकी, २७ वटा सामुदायिक स्वास्थ्य एकाइ, चार वटा सहरी स्वास्थ्य केन्द्र, तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका छन् ।
पोखरा: पोखरा महानगरपालिका १० स्थित अमरसिंहमा ‘अमर पोलिक्लिनिक’ सञ्चालनमा आएको छ । डा. सुस्मित काफ्ले, डा. मनिष किरण श्रेष्ठ (पोखराको एकमात्र इन्टरभेन्सन रेडियोजोलिस्ट) डा. हरिकृष्ण भण्डारी, मिलन बहादुर अधिकारी र डा. मदन थापाको सँयुक्त लगानीमा आजदेखि पोलिक्लिक सञ्चालनमा ल्याइएको हो । सो पोलिक्निकको उद्घाटन पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष गुरुङले व्यवसायिक सफलताको कामना गरे । उनले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम थपेको धारणा राखेका थिए । यस्तै डा. बुद्धि बहादुर थापाले स्वास्थ्यको क्षेत्रमा नवीनतम तरिकाले सेवा प्रदान गर्नुपर्ने बताए । आजदेखि सञ्चालनमा आएको पोलिक्निकमा अब्जर्भेसन रुम, ओपिडी सेवा (सबै विभाग), भिडियो एक्सरे, एक्सरे (बिआर), मुटुको भिडियो एक्सरे, इसिजी, गुणस्तरीय ल्याब सेवा, फार्मेसी सेवाको व्यवस्था रहेको छ । पोलिक्निकका सञ्चालक तथा डा. सुस्मित काफ्लेका अनुसार सबै विभागको विशेषज्ञ तथा चिकित्सकको व्यवस्था रहेको छ ।
पोखरा: पोखराको सफल निरमाया दोहोरी साँझले १९ औं वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ । चिप्लेढुंगाबाट लामो समय देखि लोकदोहोरीको संरक्षण तथा सम्बद्र्धनमा क्रियाशील व्यवसायिक संस्थाले असार १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय कलाकार एवम् नियमित कलाकाहरुको प्रस्तुति सहित वार्षिक उत्सव कार्यक्रम गर्न लागिएको संचालक जीवन गुरुङले जानकारी गराए । सो अवसरमा साँझ ७ बजेदेख रातिको १ः०० बजे सम्म ग्राहकलाई सेवा प्रवाह गरिनेछ । वार्षिक उत्सव कार्यक्रममा लोकदोहोरी गायक गायिका ईश्वर सिंह, चिज गुरुङ(लन्ठु),निर्जला गुरुङ, सुमन थापा मगरको विशेष प्रस्तुति रहनेछ । साथै नियमित कलाकारहरु टेक क्षेत्री, टस बहादुर गुुरुङ, गुप्त गुरुङ, विनोद गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, युमिन्द्र गुरुङ, सन्देश गायक, सञ्जय गायक, ईन्द्रा गुरुङ, बत्ति कुमारी थापा, चिना थापा, कल्पना आले , पुजा तामाङ, सुनिमा गुरुङ, सरिता राई र ललित पुनको प्रस्तति रहनेछ । कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुति गरिने गुरुङले जनाएका छन् । दोहोरी साँझले यसअघि पनि वार्षिक उत्सवका समयमा विभिन्न सामाजिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सेवाग्राहीहरुको विश्वासले नै दोहोरी साँझ १९ औं वर्षमा प्रवेश गर्न सफल भएको गुरुङको भनाई छ । आगामी समय सेवाग्राहीलाई सन्तुष्ट बनाउन दोहोरी साँझलाई थप परिमार्जित गर्दै लैजाने उनले बताएका छन् । नेपाली लोकगीत र दोहोरी गीतको संरक्षण सम्बद्र्धनमा आफुहरु अनवरत खटिरहने उनले बताए ।
पोखरा: पोखरामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका छन् । समानताको लागि आवाज भन्ने मूल नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा महानगरपालिका १४ विजय वस्ती चाउँथेमा शनिबार आयोजना गरेको नाक, कान र घाँटी निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका हुन् । पोखरा ईएनटी अस्पतालको सहकार्यमा आवाज नामक संस्थाले निशुल्क स्वास्थ्य शिविर पोखरा १४ विजयवस्तीमा सम्पन्न गरेको संस्थाका अध्यक्ष प्रकाश सुनारले जानकारी दिए । निशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटीमा समस्या देखिएका बिरामीहरुलाई ‘आवाज संस्था’ले निशुल्क औषधि समेत वितरण गरेको छ । पोखरा ईएनटी अस्पताल तथा नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्र नेपाली र मेडिकल अफिसर अलिसा सुर्खेटीले स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका थिए ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्नरनगराउन निर्देशन दिनुभएको हो । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न/गराउन नहुने, यदि यस्तो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै त्यो कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ । मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ । मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत: दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ ।