काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

काठमाडौं:  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । पार्टीका सांसदहरुको खुमलटारमा भएको भेटघाटमा प्रचण्डले प्याकेजमा सहमति गरेर जाने विषयमा वातावरण बन्दै गएको बताएका हुन् ।  ‘राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय धेरै छैन । आज बेलुकासम्म सहमति गरी सक्नुपर्ने छ’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘शीर्ष तहमा छलफल सकारात्मक रुपमा अघि बढेको छ । प्याकेजमा सहमति गर्ने प्रयास हुन्छ ।’ प्रधानमन्त्री दिन कांग्रेस लचिलो हुँदै गएको प्रचण्डको भनाई छ ।  नेपाली कांग्रेसले राष्ट्रपति लिने निश्चित जस्तै भइसकेको छ । अब प्रधानमन्त्री समेत पहिलो चरणमा नछाड्ने अडान लिएको छ । तर, माओवादी सांसदहरुले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिनेगरी समझदारी नगर्न प्रचण्डलाई दबाब दिएका छन् । अरु सत्ता बाहिरै बसेर पार्टी बनाउन लाग्न सांसदहरुले सुझाव दिएका छन् ।

पोखराः   बुकवर्म फाउन्डेसनले आयोजना गरेको नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा जारी छ ।  नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा आज (शुक्रबार) नेकपा एमालेका अध्यक्ष केपी ओली  पत्रकार अखण्ड भण्डारीसँग गैरराजनीतिक( राजनीतिक बाहिरको जीवन)  विषयमा ​ १२ः१५ देखि १ः३० सम्म गफिने छन् ।  सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको हो । 

पोखरा:   नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा.अच्युत वाग्लेले विद्वत्प्रवचन दिए। उनले‘नेपाल २०९०’शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिकरसामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए। ‘सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ। जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको सङ्ख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्’ उनले भने। ‘अबको एक दशकमा जनसङ्ख्या सवा तीन करोड पुग्ला र मुलुक जनसाङ्ख्यिक लाभको उत्कर्षमा आइपुग्ला। यो अवधिमा त मुलुकको शासकीय बागडोर पक्कै दूरदृष्टियुक्त, सुपठित, योग्य र व्यवस्थापकीय सक्रियता भएका राजनेताहरूको हातमा पर्नेछ’ उनले भने। तर, हामीले अपेक्षा गरेका सबै पक्षहरूमा सोचेजस्तै उपलब्धिहरू हासिल भए भनेपनि त्यतिले मात्रै दशकपछिको नेपालको अनुहारलाई भविष्यको कुरा छोडौँ, वर्तमान विश्वकै औसत कोटीका विकसित मुलुकहरूको हाराहारीमा पनि उभ्याउन नसक्ने उनको मत थियो। ‘संसार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसको तुलनामा हामी धेरै सुस्त छौँ। नेपाललाई बराबरीको हैसियतमा उभ्याउनकै लागि कुनै पनि मुलुक कुरेर बस्ने छैन, हामी आफै उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ।’ कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राखेका थिए। उनले अतिथि एवम् सहभागीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गरे। भने, ‘सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको छ। यस क्रममा सहयोग पुर्‍याउने सबैप्रति म आभारी छु। वर्ष बित्दै जाँदा यस फेस्टिभलको महत्त्व एक पर्वको रूपमा बढ्दै जाँदा निकै भावुक महसुस हुन्छ।’ उनले गण्डकी प्रदेश, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायत सरोकारवाला निकायहरूले फेस्टिभल प्रति अपनत्व ग्रहण गरिदिए यस कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सकिने बताए। नीरज भारीले इङ्गित गरेको साथ तथा सहयोगप्रति सकारात्मक प्रतिक्रिया जनाए, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले। उनले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए र आफूहरू सधैँ साथ दिन तयार रहेको बताए। ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पाएको छ। यसको निरन्तरता यहीँ हुनुपर्छ र सबै पोखरेलीहरूले यसलाई सम्बोधन गर्नुपर्छ’ आचार्यले भने। प्रमुख अतिथि रहेका उनले यसअघिका फेस्टिभलमा प्रदीप गिरिहरूजस्ता वक्ताहरूले दिएको भाषण र संवादलाई पनि सम्झिए। उनले भने‘प्रदीप गिरिजस्ता नेताहरूको सदन, समाज र साहित्यिक क्षेत्र सबैतिर आवश्यकता छ।’ त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्त्वबारे चर्चा गरे। गण्डकीको भाषा, संस्कृतिको प्रवर्द्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने बताए। भने, ‘गण्डकीको प्रज्ञा प्रतिष्ठान यस कार्यक्रमसँग सधैँ हातेमालो गर्ने प्रतिबद्धता जनाउँछु।’ पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ‘घरबाट स्कुलसम्म’शीर्षकमा फिशटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे। उनीहरूले बालबालिकाको विकासक्रममा अपनाउनु पर्ने संवेदनशीलतालगायत विविध पक्षहरूबारे अन्तर्क्रिया गरेका थिए। एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको भनाई छ। उनले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन्। सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ। सिकाइको खाडल त्यहीबाट सुरु भएको देखिन्छ,’ डा दाहाल भन्छिन्, ‘निजी विद्यालयको सिको गरेर अङ्ग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन् । यो एकदमै विभेद छ, वर्गीकरण छ ।’ कार्यक्रममा वरिष्ठ सङ्गीतकार गोपाल योञ्जनका गीतहरूको साङ्गीतिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे। त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उनको गीत गाए। फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह गोपालय  समेत उक्त कार्यक्रममा लोकार्पण गरियो।    

काठमाडौं:  कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता विद्येयक हुनुपर्ने बताए । ‘संसद बैठकको प्रारम्भमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्छ,’ थापाले भने । उनले नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताए । ‘राष्ट्रपतिलाई मनको आधारमा ठिक बेठीक भन्ने अधिकार छैन, उनले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भने ।

काठमाडौं:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज ०.०१ अंकले घटेर बन्द भएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक १८ सय ६७ अंकमा आइपुगेको छ । यसक्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ३ लाख सेयर किनबेच हुँदा उक्त मूल्यको कारोबार भएको हो । बजार सामान्य अंकले घट्दा ७६ वटा कम्पनीको सेयर बढेको छ भने १२४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ । बजारमा सामान्य अंकको गिरावट आउँदा सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । कम्पनीको मूल्यमा प्रतिकित्ता १०९ रुपैयाँको वृद्धिसँगै सेयर मूल्य प्रतिकित्ता १२ सय ५ रुपैयाँ पुगेको छ । यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ । यस्तै, आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ७.७० प्रतिशतले घटेर प्रतिकित्ता १५ सय ३० रुपैयाँमा आइपुगेको छ । यसैगरी, बलेफी हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँमा आइपुगेको छ ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले रवि लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप्ति नगरी पुरानै नागरिकता पेस गरी उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगमा नवराज पाण्डे लगायतले उजुरी दर्ता गरेकोमा आयोगले सो उपर कुनै छानबिन नगरी निर्वाचन लड्न दिएको जिकिर गरेका छन् । गृह मन्त्रालयमा रवि लामिछानेले पुरानो नागरिकता पुनर्प्राप्ति नगरी प्रयोग गरेको, अमेरिकी नागरिक कायम भएकै बखत झुटो विवरण पेस गरी नेपाली राहदानी लिएको लगायत विषय समेटी उजुरी दर्ता गरी नेपाल प्रहरीले फौजदारी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको अवस्था रहेको पनि उनले निवेदनमा उल्लेख गरेका छन् । ‘निर्वाचन आयोगमा समेत म युवराज सफलले निजको पार्टी सदस्य र पार्टी सभापति पद समेत खारेज गर्न प्रमाण सहित उजुरी दर्ता गरेको छु,’ निवेदनमा उनले भनेका छन्, ‘यस्तै सर्वोच्च अदालतमा मिति २०७९ मंसिर २८ गते निजको सांसद पद, पार्टीको सभापति पद समेत खारेज गर्न माग गरी म युवराज पौडेल सफलले एकल र अधिवक्ताद्वय रविराज बसौला र नानिबाबु खत्रीले संयुक्त रुपमा रिट निवेदन दर्ता गरी मिति २०७९ पौष ०६ गतेका दिन प्रारम्भिक सुनुवाई भई दुवै पक्षलाई छलफलमा झिकाइने आदेश समेत भइसकेकोले निज रवि लामिछानेलाई सपथ नगर्न नगराउन प्रतिनिधिसभा नेपालका ज्येष्ठ सदस्य सम्माननीय पशुपति शमशेर (जवरा) र संसद महासचिव श्रीमान् भरतराज गौतमज्यू समक्ष यो निवेदन पेस गर्दछु ।’

काठमाडौं:   नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाट नै बन्ने दाबी गरेका छन् ।  शपथग्रहणका लागि संघीय संसद् पुगेका कोइरालाले दुवै पदमा कांग्रेसले पाउने दाबी गरेका हुन् । बुधबार मात्र महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेताको रूपमा निर्वाचित भएका छन् । यता राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ ।  पौडेल संसदीय दलको नेताको निर्वाचनमा देउवाका प्रस्तावक बनेका थिए । यता सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पनि पहिलो चरणमा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कावासोती:  पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यापक भोजराज दाहालले बताए । ‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो, यो आफैंमा दुर्लभ संयोग हो,’ दाहालले भने, ‘एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।’ जुम्ल्याहा जन्म आफैंमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउँछन् । ‘एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौं’, दाहालले भने । जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरुमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन् । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरुपता भएकाले कहिलेकाहीं झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन् । तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए । विद्यालयको कक्षा १० मा पढ्ने जुम्ल्याहा दाजु–बहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए । एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरु घरमा अभिभावकको माया बराबर पाउने गरेको बताउँछन् । उनीहरु जस्तै विद्यालयकै कक्षा ८ मा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदी–बहिनी हुन् । दिदी–बहिनी त्यसैमाथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरु र शिक्षक शिक्षिकासमेत झुक्किने गरेको अनुभव उनीहरुसँग छ । जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउन बढाउन सम्स्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुसी महसुस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता ऋषिकान्त सापकोटा बताउँछन् । जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुराहरु आवश्यक मात्रमा पुर्याएर सुरु–सुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किदै गएपछि धेरै कुराहरु मेल खाने भएकाले उनीहरुलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन् । ‘सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाहरुले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ’, उनले भने । वि.सं.२०४६ मा स्थापना भएको उक्त विद्यालयले आफ्नो ३३औं वार्षिकोत्सवमा मंगलबार जुम्ल्याहा सन्तान र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ ।

काठमाडौं:  कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दी तथा करारमा कार्यरत कर्मचारीहरूलाई  प्रोत्साहन भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् ।   यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र मुगु, डोल्पा र हुम्लाका कर्मचारीहरूलाई १० हजार ‘कर्णाली प्रोत्साहन भत्ता’ दिइने छ । मंगलबार सबै मन्त्रालय र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।