काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । 

मकवानपुर:   बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोक्नुभएको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेले गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभई हिजो मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिनुभएको थियो ।

बाजुरा:  ए यो भुवो काँ जादोः भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे। भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन्  । बाजुराका विभिन्न ठाउँमा यसरी भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ । पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको छ ।  त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाएका छन् । केही वर्षअघि कोरोनाको कहरका कारण यो पर्व मनाइएको थिएन । यो वर्ष बाजुराका विभिन्न ठाउँमा भव्य रुपमा भुवा पर्व खेल्न सुरु गरिएको छ । जिल्लाको बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, स्वामिकात्तिक, हिमाली, जगनाथलगायतका स्थानीय तहमाका विभिन्न गाउँमा आजबाट यो वर्ष भुवा पर्व विशेष रुपमा मनाउने गरिन्छ ।  भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो । यो पर्व पुसे औंसीको दिनदेखि सुरु हुन्छ । भुवा पर्व मनाउन यहाँका विदेश गएका स्थानीय यतिबेला धमाधम गाउँ फर्किएका छन् । विगतका केही वर्ष कोरोनाको कहरमा भुवा पर्व मनाउन नपाएकाहरु यतिबेला भुवापर्व मनाउन गाउँ फर्किएका हुन् । खप्तड छेडेदह गाउँपालिका –७ का स्थानीय भीम नेपालीले धेरै वर्षसम्म जागिरको सिलसिलामा गाउँमा आउन नपाएकाहरु अहिले गाउँ फर्किएको बताउनुभयो । कोरोना कहरले दुई वर्षसम्म यो पर्व खेल्न नपाएकाहरु यतिबेला गाउँमा आएर ढाल तरवार समात्दै अहिले भुवा खेल्न थालेको उहाँको भनाइ छ ।  बाजुराका स्थानीय जोतिष कृष्णराज जोशीले, पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा यहाँका स्थानीयले मध्यरातमै राँकेजुलुस निकालेर भुवापर्व सुरु गर्नेगरेको बताउनुभयो । गोरखापत्र 

काठमाडौं:  चर्चित संगीत संयोजक महाराज थापा अस्पताल भर्ना भएका छन् । ब्रेन सिजरका कारण उनलाई शुक्रबार नर्भिक अस्पताल भर्ना गरिएको हो । बिहान साथीहरुसँग ब्याडबेन्टिन खेल्ने क्रममा एक्कसी लडेका उनलाई तुरुन्तै नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा डाक्टरले उनलाई ब्रेन सिजर भएको बताएका संगीतकार चेन सापकोटाले बताए । ‘बिहान अस्पताल ल्याउँदा उहाँको अवस्था एकदमै खराव थियो’ सापकोटाले भने, ‘अहिले डाक्टरले खतरा मुक्त भएको बताएका छन् ।’ सापकोटाले थापाको उपचार खर्च सबै संगीतकार संघले गर्ने समेत जानकारी दिए ।  

काठमाडौं:  नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज (शुक्रबार) पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए । त्यहाँ पुर्याएपछि बिट क्वाइनमा इन्भेष्ट गराउनेलगायतका गैरकानुनी काम लगाउनुका साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकम लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा चलान गरिएको छ ।

रौतहट:   रौतहटको गुजरा नगरपालिका–९ अमतवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।  मृत्यु हुनेमा मोटरसाइकल चालक गुजरा–१ मनहर्वाका ३२ वर्षीय तुफानी माझी रहेका छन्। उनको उपचारका क्रममा चन्द्रपुर अस्पताल प्रालिमा मृत्यु भएको हो।  सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकी माझीको सोही अस्पतालमा नै उपचार भैरहेको छ।  गएराति साढे १ बजे तुफानीले चलाएको ना ४० प ५०३० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी चौकी सिमराभवानिपुरले जानकारी दिएको छ।

लमजुङ: जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।  एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।  दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए। उनका अनुसार दोर्दी खोलामा निर्माण सम्पन्न तीन आयोजना र चेपोखोलामा निर्माण सम्पन्न एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।  हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना र चेपोखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएका छन्।  तीमध्ये सबैभन्दा ठूलो २७ मेगावाट क्षमताको बिजुली बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक रूपमा बिजुली उत्पादन गर्दै आएको छ।   विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो।  आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए।  नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो। आयोजना निर्माणमा चार अर्ब ८३ करोड लगानी भएको छ। त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले उत्पादन गरेको विद्युत् दुई साता अघि राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको थियो  आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीका अनुसार विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ भएको थियो। तर प्रसारण लाइन बनेपछि काम छिटो सकाइएको हो।  आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो। विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको थियो। आयोजना निर्माणमा चार अर्ब ६४ करोड ६१ लाख लगानी भएको छ।  त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२ दशमलव १ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन सुरु गरेको छ।  विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो। आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको यस आयोजनामा दुई अर्ब भन्दाबढी लगानी भएको छ।  त्यस्तै, चेपेखोला साना जलविद्युत् आयोजना एक अर्ब ५० करोडमा निर्माण सम्पन्न गरेको छ। यस दोर्दी करिडोरमै पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाको निर्माण समेत अन्तिम चरणमा पुगेको छ। यस आयोजनाको काम ९७ प्रतिशत सम्पन्न भएको आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमले बताए। केही महिनाभित्रै बिजुली उत्पादन गर्ने तयारी भइरहेको उनको भनाइ छ।  विसं २०७१ मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरी आयोजना निर्माण विसं २०७२ असोज महिनाबाट सुरु भएको थियो। विसं २०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ।  सुरुआतमा आठ अर्ब ८० करोड लगानी हुने भनिएको आयोजनामा लागत बढेर दश अर्ब ५० करोडसम्म खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख गौतमले बताए।  आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन्। कुल  ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धन लगानीमा आयोजना निर्माण हुँदैछ। आयोजनामा प्रभावित स्थानीयवासीले २७ करोड लगानी गरेका छन्।

काठमाडौं:  बागमती प्रदेश सरकार गठनको प्रक्रिया प्रदेशसभाको पहिलो बैठक पछि मात्र सुरु हुने भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १७ वा १८ गते प्रदेशसभाको पहिलो बैठक बस्ने निर्णय गरेको र उक्त बैठक पश्चात् मात्र सरकार गठनको प्रक्रिया थाल्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार सरकार गठनका लागि दलहरू तत्काल तयार नभएको र दलहरू संसदीय समिति गठनमा केन्द्रीत रहेकाले संसदको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको उनले बताए । पछिल्लो समय दोहोरो भूमिकामा देखिनु भयो नि ? अब के राजीनामा दिनु हुन्छ कि ? के छ तयारी ? भन्ने प्रश्नमा मुख्यमन्त्री पाण्डेले नयाँ सरकारलाई आफूले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र कार्यवाहक दिन नमिल्ने भएकाले संविधानको अधिनमा रहेरै आफूले जिम्मेवारी सम्हालिरहेको बताए । ‘मैले राजीनामा दिइसकेको पनि हुन सक्छु नि ? तपाईँलाई थाहा नभएको पनि हुन सक्छ नि । त्यसैले नयाँ सरकारलाई मैले नेतृत्व हस्तान्तरण गर्ने हो । मैले कसैलाई कार्यवाहक दिन पनि मिल्ने अवस्था होइन । यो जिम्मेवारी संविधानको अधीनमा रहेर नै लिएको हो’ उनले भने । उनले संविधानलाई अक्षरश पालना गर्ने मध्येको आफू एक व्यक्ति भएकाले प्रदेश प्रमुखसँगको छलफलमा काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नुपर्ने अवस्था आउने भएकाले अहिले यही हो भन्न नमिल्ने बताए । ‘म संविधान बनाउने मध्येको एक हो । त्यसको अक्षरसः पालना गर्नेमा म पनि एक हो । संविधानमा कहि कतै यस विषयमा लेखिएको छैन । त्यसैले मैले सरकारको नेतृत्वको विषयमा प्रदेश प्रमुखज्यूसँग पनि सल्लाह गरेको छु । काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नु पर्ने अवस्था रहेको छ । अहिले नै केही भन्न मिल्ने अवस्था छैन’ उनले भने ।

कञ्चनपुर: पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ। अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ।  कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ। पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन वस्तीमा रुपान्तरण हुँदै गएको छ।  उर्बर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ। कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा एक लाख ६१ हजार सात सय ४१ हेक्टर जमिन खेतीयोग्य छ। यसमध्ये ५६ हजार छ सय दुई हेक्टरमा मात्रै खेती हुने गरेको छ। कैलालीमा ९० हजार हेक्टर जमिन खेतीयोग्य रहेकामा ८६ हजार चार सय ५० हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ। त्यसैगरी पहाडी जिल्लामा कूल खेतीयोग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर छ। यसमा ४२ हजार चार सय १३ हेक्टरमा मात्रै खेती भइरहेको निर्देशनालयले जनाएको छ। त्यसैगरी डोटीमा ३२ हजार दुई सय ७६ हेक्टर कूल खेतीयोग्य जमिन रहेकामा २५ हजार पाँच सय हेक्टरमा मात्रै खेती भइरहेको छ। डडेल्धुरामा ११ हजार छ सय १६ हेक्टर जमिन खेतीयोग्य रहेकामा १० हजार छ सय ६७ हेक्टरमा खेती भइरहेको छ।       बैतडीमा ३१ हजार चार सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार सात सय हेक्टर जमिनमा मात्रै खेती भइरहेको छ। त्यसैगरी खाद्यान्न अभाव हुने जिल्ला बाजुरामा २४ हजार तीन सय हेक्टर मात्रै खेतीयोग्य जमिन रहेकामा २० हजार एक सय ५५ हेक्टरमा मात्रै खेती भइरहेको छ।  यस्तै ३४ हजार छ सय सात हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती भइरहेको छ। त्यसैगरी दार्चुलामा २९ हजार पाँच सय ४४ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकामा २२ हजार आठ सय २५ हेक्टरमा मात्रै खेती भइरहेको छ। निर्देशनालयको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशको कूल खेतीयोग्य जमिनको ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा सिँचाइ सुविधा छ। निर्देशनालयका कृषि अर्थविज्ञ टेकेन्द्र ऐरले सुदूरपश्चिमका पहाडी जिल्लामा खेतीयोग्य जग्गा बाँझो रहेको र तराईमा खण्डीकरण भइरहेको बताए। उनले भने, ‘सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई जिल्लाको उत्पादनले अन्य सात जिल्लाको खाद्यान्न धान्छ। यी जिल्लामा खेतीयोग्य जमिन कम हुँदै जानु बिडम्वना हो।’ यो समस्या न्यूनीकरणका लागि तीनवटै तहका सरकारले मिलेर एउटा विशेष संयन्त्र बनाएर काम गर्नुपर्ने उनले बताए। कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले बसाइँसराइका कारण तराईका जिल्लामा हरेक वर्ष ५र१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको बताए। उनले भने, ुधेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ केही ठाउँमा नदी कटानले पनि घटेको छ।ु  माटो बचाउ अभियानका संयोजक हेमबावु लेखकले पहाडी क्षेत्रबाट तराईमा बसाइँसराइ गर्ने परम्पराले खेतीयोग्य जग्गा सिन थालेको बताउँछन्। उनले भने,  ‘पहाडी क्षेत्रको उर्बरभूमि बाँझो छोडेर तराईमा बसाइ सरी चामल किनेर खाने परम्परा बढदै गएको छ।’ बैतडीको पाटन बहुमुखी क्याम्पसका ग्रामीण विकासका प्राध्यापक ज्योतिप्रकाश पन्त पहाडी क्षेत्रमा जग्गा बाँझो रहने समस्या बढ्नुमा कृषिप्रति युवाको रुची नहुनु र कृषिबाट आशातीत प्रतिफल नआउनुलाई मुख्य कारण मान्छन्। उनी पछिल्लो समय युवा विदेश जाने मोहका कारण पनि खेतीयोग्य जमिन बाँझो हुने गरेको तर्क गर्छन्। सरकारले पनि जग्गा धितो राखेर दिने ऋण सुविधा सहजरुपमा प्रवाह हुन नसक्दा पनि कृषक निराश भएको उनको भनाइ छ।