लेखनाथ: गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ । शनिबार र आईतबारको तुलनामा महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्यामा कमि आएसँगै कारोवार पनि प्रभावित भएको हो । सोमबार १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन । महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । आईतबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु प्रजापती पराजुली, शंकर विरही गुरुङ्ग, तारापती सुवेदी, टेक क्षेत्री र वसन्त लम्साल, गायिकाहरु पुर्णकला बिसी, वसन्ती थापा, दिलु मगर, लगायतको प्रस्तुति रहेको थियो । त्यस्तै बेलुका लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम, र ओम गुरुङ्गले महोत्सवको स्टेज तताएका थिए । मंगलबार महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु राजु परियार, अमर धिताल, माधव चापागाई, गायिकाहरु कला लम्साल, सरस्वती लामिछाने र कमला सुनार लगायतको आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम र ओम गुरुङ्गको बेजोड प्रस्तुती रहनेछ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको सोमबार नेपाली काँग्रसका नेता एवं पुर्वमन्त्रीहरु मिनेन्द्र रिजाल र यज्ञ बहादुर थापा, माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पुर्व सांसद दिपक कोईरालाले अवलोकन गरेका थिए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् । ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले वताएका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
पोखराः अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे । पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर ?’ महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अलि लामै दिए। केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्यांग चढेर अलि माथि पुगेको विश्व प्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्यांग चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ उनले भने, नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ ।’ उनले हिजोदिनभर पार्टी सभापति शेरबहादुर देउवाको फोन आफूलाई कति बेला आउला भनेर कुर्दा पनि फोन नआएको गुनासो पनि पोखे। ‘पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको ।’ अर्का कांग्रेस महामन्त्री शर्माले पछिल्लो घटनाक्रममा भएको कांग्रेसको हारबारे हालै सम्पन्न विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘जितेर पनि हारेर आएको हो । वल्र्डकपमा सबैभन्दा गोल एम्बापेले हाल्यो। गएको निर्वाचनमा सबैभन्दा बढी जित कांग्रेसले जित्यो। एम्बापेले बुट जित्यो, कप अर्कैले जित्यो ।’ कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरे । ‘एउटा पुर्वप्रधानमन्त्री अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा समान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ ।’ छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रिय बैठकमा पटक पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाए । ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो । पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने । उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने उनको जोड थियो। कार्यक्रममा दुबै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले हाम्रो निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने कुराहरु विद्यमान रहेको टिप्पणी गरे । छलफलमा अब नेपाली कांग्रेसले के गर्छ भन्ने स्वभाविक प्रश्न उठ्ने नै भयो । ‘हार जितको कुरा एकछिन आयो, गयो। नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो। त्यो कुरा फेरि बनाइन्छ। हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउँने भन्नेबारे सोचिरहेका छौं,’ गगनले भने । यसैमा नेता शर्माले फेरि फुटबलकै उदाहरण दिँदै थपे, ‘जब केही भत्किन्छ। निर्माण क्रम पनि सुरु हुन्छ । यो नेपाली काग्रेसको लागि ट्रनिङ प्वइन्ट हो। पाँच वर्षपछि हामी डिफेन्डिङ च्यापियनलाई हराउँछौं। हामी जित्छौं ।’ उनले पछिल्लो राजनीतिक प्रकरणबारे कांग्रेसले गहिरो विश्लेषण गरेर अबको यात्रा तय गर्नेसमेत बताए ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि सोमबार नै शपथ लिएका छन् ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा उक्त शुभकामना व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, “‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।” अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको र ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिकमा अन्तरनिहीत ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक भएको सन्देशमा भनिएको छ । “ज्येष्ठ नागरिकको मर्यादित एवं सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, सङ्घ संस्था एवं तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्दछ”, सन्देशमा भनिएको छ, “नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, यातायात सेवालगायत सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवा सुविधाको थप विस्तार गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबैमा आह्वान गर्दछु ।” विसं २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘हामी सबैको सरोकारः ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने भएको छ ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिनुभएको हो । दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बधाई दिनुहुँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिनुभएको छ । भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताउनुभएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताए । ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ’, नयाँबानेश्वरमा सञ्चारकर्मीसँग लिङ्देनले भने ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिएका छन् । उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ ।’ हालसालै नियुक्त भएका राजदूत थम्प्सनले निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाट गरेका थिए । भेटका क्रममा उनले सत्ता समीकरणका विषयमा चासो राखेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा भारत र चीनले आइतबार नै बधाई दिएका थिए ।
काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार २८४ विभिन्न विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कअनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । सरकारले गत वैशाखदेखि नै पेट्रोलियमका चारपाङ्ग्रे सबै र १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्पmत विद्युतीय सवारीसाधनमा सरकारले कर छुट उपलब्ध पनि गराएकाले यो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएको हो । नेपालमा सबैभन्दा धेरै आयात हुने विद्युतीय सवारीसाधनमा स्कुटर तथा मोटरसाइकल छन् । पेट्रोलियम सवारीसाधन आयातमा गरिएको निषेध र विद्युतीय सवारी प्रवद्र्धनका लागि दिइएको विभिन्न खाले कर छुटका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सो परिमाणका विभिन्न विद्युतीय सवारीसाधन नेपाल आयात भएको देखिएको छ । विद्युतीय सवारीमा सबैभन्दा धेरै दुईपाङ्ग्रेकै आयात उच्च देखिन्छ । ५४ करोड ८४ लाख रुपियाँको चार हजार ४८३ थान बाइक र स्कुटर आयात भएका छन् । विद्युतीय मोटरजडित दुई हजार ४९० थान साइकल पनि यो अवधिमा आयात भएको देखिन्छ । आयातको प्रवृत्ति हेर्दा साना सार्वजनिक यातायात तथा ढुवानी प्रयोजनमा प्रयोग हुने तीनपाङ्ग्रेको पनि उल्लेख्य आयात भएको देखिन्छ । यस्ता सवारीसाधन तीन हजार ८२७ थान आयात भएका छन् । यीमध्ये ३४८ वटा नेपालमै एसेम्बल गर्ने गरी आयात भएको छ । बजारमा धेरै चासो हुने विद्युतीय कार तथा जिप भने एक हजार ३५३ थान आयात भएको देखिन्छ । सरकारले आर्थिक ऐनमार्फत कर छुट दिएकाले एक सय किलोवाटभन्दा कम क्षमताका मात्रै यस्ता साधन एक हजार ३२० थान छन् । एक सयदेखि दुई सय किलोवाट क्षमताका ३० थान कार आयात भएका छन् । त्योभन्दा माथिका तीन थान मात्रै आयात भएका छन् । कार, जिप तथा भ्यान आयातमा तीन अर्ब ८३ करोड रुपियाँ खर्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार मङ्सिरसम्ममा ठूला ३७ वटा विद्युतीय बस आयात भएका छन् भने ७८ वटा विद्युतीय माइक्रो बस पनि आयात भएका छन् । ३७ ठूला बसको भन्सार मूल्याङ्कन ४५ करोड ६७ लाख रुपियाँ मूल्याङ्कन भएको छ भने ७८ माइक्रो बसको मूल्याङ्कन १८ करोड ८९ लाख रुपियाँ गरिएको छ । यो अवधिमा पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन पनि १० थान आयात भएको भन्सारको तथ्याङ्कले देखाउँछ ।

