तनहुँ: तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लाग...

कास्की:  पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाउएका छन् । ४६ वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल भएका हुन् । कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । ‘कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु’, पुनले भने। २०७५ सालमा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भनेजस्तो व्यापार हुन सकेको थिएन । ‘जग्गा मेरै थियो त्यही दुईवटा भट्टी बनाएर काम सुरु गरेँ,’ उनले बताए, ‘बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो।’ गत वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उनले बताए । ‘कोरोना सुरु भएपछि व्यापार नै भएन। अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो,’ पुनले जोड दिए, ‘तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो। गत वैशाखदेखि भने राम्रै भएको छ।’ पछिल्लो समय उनले एक दिनमा दुई क्विन्टलसम्म कोइला उत्पादन गर्दै आएका छन् । पछिल्लो समय कोइला बेचेर मात्रै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिँदै उनले अहिले तीन मजदुरलाई काम पनि दिए । ‘कमाउन त एक लाखभन्दा बढी कमाइन्छ तर काम किन्नुपर्ने अनि मजदुरलाई तलब दिँदा महिनामा ६० हजारभन्दा बढि बचत हुन्छ,’ पुनले भने । उनको मिहेनत, परिश्रम र विदेशमा सिकेको सीपको प्रयोगले गाउँले पनि खुसी छन् । विदेशबाट फर्केर गाउँमै उद्योग स्थापना गरी आम्दानी गर्नु गाउँका लागि गौरवको विषय भएको सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताए । ‘गाउँमा उद्योग चल्नु गौरवको कुरा हो । जसले गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर उपलब्ध गराउँछ,’ उनले भने, ‘यस्तो कामले अरू युवालाई मातृभूमिमै बसेर काम गर्ने प्रेरणा प्रदान गर्छ ।’ गाउँलेको साथ सहयोग र आफ्नो मिहेनतले उद्योग राम्रो चलेको सञ्चालक पुनले बताए । दुईवटा भट्टीबाट उत्पादित कोइला पोखरा, काठमाडौँलगायत अन्य सहरमा निर्यात हुने गरेको उनले जानकारी दिए। ‘विभिन्न प्रयोजनका लागि कोइला प्रयोग हुने भएकाले उद्योगबाटै सबै बिक्री हुन्छ,’ पुनले भने, ‘बजारको कुनै समस्या छैन। पछिल्लो समय त माग धान्नै गाह्रो छ।’ बजारको माग धान्नका लागि अझै तीनवटा भट्टी थप्ने उनको योजना छ। पाँचवटा भट्टीको कोइला बिक्रीबाट मासिक रु एक लाखभन्दा बढी रकम बचत गर्ने उद्देश्य लिएका पुनले कोइलाको काम गर्न र उद्योग खोल्न चाहनेहरुलाई सिकाएर सीप हस्तान्तरण गर्न पनि तयार रहेको बताए ।

काठमाडौं:  एमाले अध्यक्ष केपी ओलीले राष्ट्रहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

काठमाडौं:  ‘मिस मंगोल नेपाल २०२२’ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छ । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीय शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि हात पारेकी हुन् । ‘दोस्रो प्रयासमा मेरो सपना र मेहनत साकार भएको छ’, ताज पहिरिएपछि पासाङले भनिन् । प्रतियोगितामा कैलालीकी २५ वर्षीय दीपिका थापामगर फस्ट रनरअप घोषित भइन् भने, उनलाई पछ्याउँदै सोलुखुम्बुकी १८ वर्षीय डोल्मा छिरिङ शेर्पा मिस न्यु प्लास्टसहित सेकेन्ड रनरअप जित्न सफल भइन् । उनीहरूलाई गत वर्षका विजेता, फस्ट र सेकेन्ड रनरअप क्रमशः एप्रिला घिसिङ, प्रिया मादेन र विभिषिका श्रेष्ठले ताज लगाइदिएका थिए ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूले  उहाँको निजी निवास खुमलटारमा पुगेर बधाई दिनुभएको छ ।  अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले मङ्गलबार बिहान खुमलटार पुगेर बधाई दिँदै भेटवार्ता गरेको हो ।  परिसङ्घका अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिनुभयो ।  परिसङ्घले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्रीसमक्ष पेश गर्नुभयो । परिसङ्घले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलगायतलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय सुझाएको छ । परिसङ्घको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गर्नुभयो ।  परिसङ्घको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताउनुभयो । ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेका थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसङ्घलाई धन्यवाद’ उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमा रहेको र यसका लागि परिसङ्घसँग सरकारले सहकार्य गर्ने बताउनुभयो ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौँ । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौँ ।’  नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसङ्घ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसङ्घका महानिर्देशक दीपकराज जोशी पनि उपस्थिति थियो ।  यसैबीच, अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घले मङ्गलबार बिहान भएको भेटमा प्रधानमन्त्री  प्रचण्डले भेटवार्ता गरेको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय भइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले महासङ्घका तर्फबाट यसअघि दिइएका सुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने वचन दिनुभयो । 

सर्लाही:   सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् ।  अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार हुनुभएको हो । ती सुत्केरीले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डाक्टर नवलकिशोर झाले बताउनुभएको छ ।  शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा राखिएको अस्पतालले जनाएको छ । शिशुको अवस्था सामान्य रहेको मेसु झाले बताउनुभयो । अस्पतालमा भर्ना हुँदा ती महिलाले आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा उल्लेख गर्नुभएको छ । तर महिलाको सो नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ ।  जन्माउनासाथ आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का गरिएको छ । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको थप अनुसन्धान र फरार महिलाको खोजी भइरहेको बताउनुभएको छ । ती महिलासँगै अर्को एक जना महिला पनि अस्पतालमा सँगै आएको भनिए पनि प्रस्ट हुन सकेको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिशुलाई ओसीएमसीमा राखेर हेरचाह भइरहेको जानकारी दिनुभयो ।  अस्पतालका स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् । 

काठमाडौँ:   नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाको घर खोजीमा लाग्नुभएको छ । बूढानीलकण्ठमा रहेको उहाँको घर मर्मत सम्भारका क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उहाँको परिवारले नयाँ घरमा सर्न लाग्नुभएको देउवाका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।  नयाँ गठबन्धनबाट सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री पदको शपथ लिएर सत्ता सम्हालेपछि निवर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नुपर्ने भएको हो ।  तत्काल नै सर्नुपर्ने भए पनि उहाँ बस्ने नयाँ घरको भने यो समाचार तयार हुँदासम्म टुङ्गो लागेको छैन । प्रेस संयोजक परियारले भन्नुभयो, ‘‘दुई तीन वटा घर हेर्ने कार्य भएको छ, आज साँझसम्म टुङ्गो लाग्छ होला अनि सर्ने तय हुन्छ । बूढानीलकण्ठको घरको मर्मतकार्य जारी भएकाले अझै सम्पन्न गर्न दुई तीन महिना लाग्ने जनाइएको छ । 

पोखरा: अमृत गुरुङ लगायत मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र व्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली आइतबार बेलुका नै पोखरा आइपुगि सकेका छन् ।   यसपटकको दौडाहाअन्तर्गत नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत र बुटवलमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । पोखराबाटै उदाएको नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत गृहमैदान पोखरामा नवौं प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस १२ गते मंगलबार बेलुकी ४ बजे स्थानीय नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा हुनेछ ।

काठमाडौंः   नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  आज सोमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलो निर्णयका रूपमा निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेको छैन । उहाँले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएको बताउँदै आफूलाई यही मन्त्रालय रोजेको प्रतिक्रिया दिनुभयो । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेको उहाँले सुनाउनुभयो । आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो । मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने लामिछानेले उल्लेख गर्नुभयो । मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर त्यो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

काठमाडौंः    नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताउनुभएको छ ।  आज सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।   अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरू के–के हुन् र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘अर्थतन्त्र अहिले सङ्कटको डिलमा छ । अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि हामीले धेरै मेहनत गर्नुपर्छ । विश्वका अनुभव, नेपालमा विगतमा गरिएका अनुभवका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा आएको छु । बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समग्र अर्थ जगतलाई विश्वास दिलाउन चाहन्छु, सबैसँग संवादमा रहेर समस्या पहिचान गर्ने र समाधान खोज्नका निम्ति कार्यसम्पादन गर्नेछु । अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह छ । अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सकिन्छ ।’  अर्थमन्त्री पौडेलले सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गर्नुभएको छ । उहाँले अर्थ मन्त्रालयअन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा अहिले रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।