तनहुँ: तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लाग...

काठमाडौं:  प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरु बताउँछन् । प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले भने, ‘मैले हेर्ने गरेको अध्यक्ष प्रचण्डको व्यक्तिगत ट्वीटर हो । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको पनि छैन । कसले, किन अकाउन्ट लक्ड गर्यो हामी बुझ्दैछौं ।’ कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ । प्रचण्डको फोटो अपडेट पनि आफूहरुबाट नभएको शर्माले बताए । प्रचण्डको सचिवालयका अर्का एक सदस्य शिव खकुरेलले पनि ट्वीटर अकाउन्ट लक्ड हुनुको कारणबारे बुझिरहेको बताए । ‘हामी हिजो बेलुकामात्रै बालुवाटार आएका छौं, सबै कुरा मिलाउनै बाँकी छ,’ खकुरेलले भने, ‘यसबारे पनि बुझ्दैछौं ।’

काठमाडौं:  मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् । दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । कृष्ण पार्टी सभापति देउवा पक्षधर हुन् रामसरोज विमलेन्द्र निधि निकट हुन् । अघिल्लो प्रदेश सभामा रामसरोज दलको नेता थिए ।

काठमाडौँ:   सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेताहरू सहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  बैठकले मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटको टुङ्गो लगाउने जनाएको छ । प्रदेश सरकार गठनको विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् ।  बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी), जनता समाजवादी पार्टी, जनमत पार्टीका प्रतिनिधि लगायत स्वतन्त्र संसदहरुको उपस्थिति रहेको छ । 

हेटौंडा:   नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका लामा २१ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले १६ मत पाउनुभयो । यसअघि दलको नेता बनिसकेका बानियाँ ५ मतान्तरले पराजित हुनुभयो। लामा र बानियाँ दुवै सस्थापन पक्षका हुन् । सर्वसम्मत रुपमा दलको नेता चयन गर्न दुवै सहमत नहुदा निर्वाचन भएको थियो । ३७ प्रदेशसभा सदस्य रहेको कांग्रेस बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।

पोखरा:   नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजय भएका छन ।    आज भएको मतदानमा भोजबहादुर अर्याललाई पराजित गर्दै संसदीयदलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन। पाण्डेले १८ मत पाए त्यस्तै  अर्यालले ८ मत पाए भने १ मत बदर भएको छ । संसदीय दलको नेतामा  सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दिएका थिए ।  संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिए ।  गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गरेका छन

काठमाडौं:   नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दावी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टीका सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ सदस्य छन् ।

सुर्खेत:  कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । कँडेल एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज समेत हुन् । संसदीय दलको नेतामा प्रदेश कमिटीका अध्यक्ष समेत रहेका विनोदकुमार शाहले पनि दावी गर्दै आएका थिए । अन्तिम सयममा शाह पछि हटेपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् । ४० सदस्यीय प्रदेशसभामा एमाले १० सिटसहित तेस्रो दल हो । संसदीय दलको बैठकले पहिलो चरणमै एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समेत आग्रह गरेको कँडेलले जानकारी दिए । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी छ । यद्यपि एमालेले पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

कैलाली:   कैलालीको घोडाघोडी नगरपालिकाले बुधबारदेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना गरेपनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर २ को  सुक्तिकाँडादेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको नगर प्रमुख खडकबहादुर रावतले बताउनुभयो । ३५ दिने पहिलो सूचना त्यसपछि १५ दिने दोस्रो सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले एकदिन अगाडि आफै डोजर लगाउने जानकारी गराउँदै बुधबारबाट डोजर प्रयोग गरी संरचना हटाउन थालिएको नगरप्रमुख रावतले जानकारी दिनुभयो । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन सुरु गरिएको उहाँको भनाइ छ । सडक क्षेत्रमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उहाँले सबैमा आग्रह गर्नुभयो । नगरपालिकाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको दुवै साइड २५ मिटरभित्रका संरचना हटाइनेछ । बुधबार बिहानै सुरक्षाकर्मी, नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षलगायतको समूह अतिक्रमण हटाउने कार्यमा खटेको छ ।  घोडाघोडी नगरपालिका क्षेत्र रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर २ को  सुक्तिकाँडादेखि वडा १० को आमखैयासम्मको सडक अतिक्रमण संरचना हटाइने जनाइएको छ । २०७४ मा समेत यस्तै  सडक अतिक्रमण संरचना हटाउन सुरु गरे पनि सफल नभएको नगरपालिका यतिखेर भने जसरी पनि हटाउने पक्षमा रहेको छ । गोरखापत्र अनलाइन 

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । नेपाल र यादवसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न लागेका हुन् ।