काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज (शुक्रबार) शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मक रुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधामन्त्री प्रचण्डले भन्नुभएको छ, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उहाँले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसा गर्नुभएको छ । “परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तर हित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ”, उहाँले शुभाकामना सन्देशमा भन्नुभएको छ । यसैगरी, परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँगै जोड्दै युवाशक्तिलाई विकास र समृद्धिको अभिन्न अङ्ग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्नु आवश्यक छ भन्नुभयो । युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ९ को रजिष्ट्रेसन फर्म खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फर्म भर्दा पछिसम्म फरक नपर्ने गरी भर्न/भराउन अनुरोध गरेको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमित शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनका लागि फारम भर्नुपर्ने छ । फर्म फागुन १९ देखि वैशाख १५ गते भित्र भर्नुपर्ने छ । ‘विद्यालयहरुले विद्यालयमा अध्धयनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे–नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’ परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी, धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउन गरेकाले अगाडि नै बोर्डले सचेत गराएको छ ।
गोरखा: गोरखाको लिगलिगमा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता ०७९ साल चैत्र ४ गते सञ्चालनमा आउने आयोजक संस्थाले जानकारी दिएको छ । लिगलिग भिलेज स्पोर्टस आयोजनामा हुन लागेको साइकल दौड ५३ किलो मिटरको रहेको अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए । नेपालकै ठुलो साइकल दौड मानिएको यो प्रतियोगितामा बिदेशीहरुको समेत सहभागीता हुने गरेको छ । दौड पालुङटार नगरपालिकाको लिगलिगमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर समापन हुने आयोजक संस्थाका सचिव प्रमिला राना मगर गुरुङले बताईन । दौड लिगलिगकोटबाट हर्मी भञ्ज्याङ–मकुन डाडाँ–आँपपिपल अस्पताल–बिरबारी–ओख्ले पुल हुदै लमजुङको राईनास–गरमबेशी हुदै पुनः गोरखाको चेपेघाट–हवाई ग्राउण्ड–तालपोखरी–ठाटीपोखरी–लुईटेल–बडडाडाँ–मैबल–बिजुली डाडाँहुदै पुनः लिगलिगकोट पुगेपछि दुरी समाप्त हुने सचिव गुरुङले जानकारी दिईन । प्रतियोगितालाई ३ फरक भागमा विभाजन गरेर आयोजना गरिएको छ । पुरुष कुलिन, पुरुष मास्टर र स्थानिय गरी ३ विधामा पुरस्कारको ब्यवस्था गरिएको कोषाध्यक्ष बिजय पाण्डेले बताए । पाण्डेका अनुसार पुरुष कुलिन तर्फ समूहका सहभागीहरु तर्फ प्रथमदेखी पाँचौ स्थानसम्मलाई ७५, ५०, ३०, १५ र ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तैगरी, पुरुष मास्टर समूहमा प्रर्थम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिने छ । भने स्थानिय तर्फ पालुङटार, गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका तथा लमजुङको राईनास र भानु नगरपालिका सहभागीहरु भने क्रमश प्रर्थम, द्वितिय र तृतिय हुनेलाई ।५, ३ र २ हजार नगद प्रदान गरिने भएको छ । गत बर्षको दौडमा २ जना विदेशी सहित ८५ जनाले सहभागीता जनाएकोमा यस बर्षको दौडमा १० जना विदेशी सहित १०० जनाले सहभागीता जनाउन सक्ने आयोजकले अनुमान गरेको छ । दौडलाई पालुङटार र गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, गोरखाको सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिकाले सह–प्रायोजन गरेको छ । आयोजकले दौडमा सहभागी हुनका लागी प्रति ब्यत्ती १ हजार ५०० रुपैयाँ दस्तुर तोकेको छ । दौडको प्रर्बद्दक नेपाल पर्यटन बोड र प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।
काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्नुहुँदै मन्त्री शर्माले अर्थमन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिनुभएको हो । एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिनुभयो । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उहाँले बताउनुभयो । यो केन्द्रबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समयपछि बैंक नोट छाप्ने योजना छ । केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिनुभयो । अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिक बाहिरिने रु. १० अर्ब जोगिने सरकारको अपेक्षा छ
काठमाडौं : पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिकामा नयाँ रूट सार्वजनिक गरिएको छ । दोर्दीको नौथरसेराबाट सुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राबबाट फेरि नौथरसेरा झर्ने ४ दिने ट्रेक गर्न सकिने छ । काठमाडौंबाट पोखराहुँदै दोर्दी गाउँपालिका पुग्न सकिनेछ । मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकलाई सहजका लागि पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकसित गर्ने कार्य गरिरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । ‘यस गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रुपमा यस गाउँपालिकाभित्र अनेकौं स्थानहरू छन्।’ अधिकारीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने । नौथर शेरा इलमपोखरी,लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरापुग्ने ८ दिनको रूट छ । यस्तै, नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीसहर ११ दिनको ट्रेकिङ रुट रहेको बताइएको छ । तर,अहिलेलाई ४ दिने रुटलाई गाउँपालिकाले खुल्ला गरेका छ । यस रुटमा ट्रेकिङको क्रममा आवश्वक पर्ने पानी,हिँड्न उपयुक्त बाटोको प्रबन्ध गाउँपालिकाले गरेको छ । पर्यटनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ५९ लाख रुपैयाँ छुटाएको र आगामी वर्ष थप रकम व्यवस्था गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि दोर्दी गाउँपाकिकामा पर्दछ । हिमाल चड्ने सम्भावनाको खोजि गाउँपालिकाले गरिरहेको छ । लिपे लेकबाट नौटाँचे,दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाब निस्कन सकिन्छ । मानव वस्ती नभएकाले यो रूटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरीहुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोड्नका लागि अहिले काम भइरहेको बताइएको छ । इलमपोखरी–लिपे–दाम्राब छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको वार्मअप ट्रेकिङको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँड्न पाइन्छ । गुराँस फुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोल्नुको मजा बेग्लै हुन्छ । यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ । पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस पालिकाले गर्दै आइरहेको छ । यसो हुँदा सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्नेछन् । मोटरबाटो विस्तार हुने अवस्था नरहेकोले ट्रेकिङको अर्गानिक स्वाद लिन सकिने यी रुटहरु छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रुट रहेको छ । यी रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठन दर्ता गराउँदै छन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए। यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुवेसी स्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ । मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कानको जाली नै फुट्ने गरी कुटेका हुन् । राउतले कक्षा ६ मा पढ्ने १२ वर्षीय रोनिश पराजुलीलाई कुट्दा देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत समेत जम्न पुगेको छ । राउतले आइतबार कक्षा ६ मा पढ्ने रोनिश पराजुलीले गल्ती गरेको भन्दै कानको जाली नै फुट्ने गरी पिट्नु भएको थियो । शिक्षक राउतले आफूले विद्यार्थी पराजुलीलाई पिटेको स्वीकार गर्नुभयो । रोनिशको आमा अर्पणा पराजुली छोरा घाइते भएपछि सुरुमा एपोलो हस्पिटल दमौली लागेको र अस्पतालले पोखरा रिफर गरेपछि मङ्गलवार गण्डकी मेडिकल कलेज लगेर जचाएका थिए । त्यसपछि विद्यालयले विश्वास नगरेपछि पुनः पोखराकै पार्कल्याण्ड हस्पिटलमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधीर गोपाल पराजुलीसँग परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कानको जालीमा दुई वटा प्वाल परेको र रगत समेत जमेको डाक्टरको रिर्पोटमा उल्लेख छ । कुट्ने शिक्षक माथी कारबाही गर्नुपर्ने माग राख्नु भएको छ । शारीरिक र मानसिक यातना दिएको स्थितिमा नकारात्मक असर परेर विगत पाँच दिन देखि विद्यालय जान नसकेकोको बालकका हजुरआमा नानीमाया अधिकारीले बताउनुभयो ।
पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा ग्रासरुट अभियान अन्तर्गत ३३ वटै वडाको वडा कमिटिका पदाधिकारी र महानगर सदस्यहरु बिचको पार्टी सुदृढीकरण बिस्तार अभियान २०७९ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कमिटि सदस्य मायानाथ अधिकारीले नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियानले एमालेका कार्यकर्ताहरुलाई संगठित गर्दै पार्टी सञ्चालनलाई सुदृढ गर्न तर्फ लागिरहेकाले सम्पूर्ण पोखरा महानगर अन्तरगतका ३३ वटै वडाका पदाधिकारीहरुले यसवारेमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए । एमालेले पार्टी निर्माणका लागी देशैभर अभियान सञ्चालन जारी राखेकाले यसतर्फ सम्पूर्ण सदस्यहरु आ आफ्नो ठाउबाट एकवद्ध भएर लाग्न समेत उनले आग्रह गरे । महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य पुण्य पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य शिव पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए । कमिटिको उपाध्यक्ष मोहन गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन कमिटिका सचिव जीवन आचार्यले गरेका थिए । कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारीको समेत उपस्थिती रहेको थियो ।
पोखरा: बालअधिकारको लागि नागरिक समाज (बालअधिकार मञ्च)ले कास्कीले पछिल्लो समयमा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै चासो व्यक्त गरेको छ । मञ्चले प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सी., पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार वि.क., र श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाललाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ । शान्तिका लागि नागरिक समाजको संजाल पोखराका संयोजक विना सिलवाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेल, बालहितकारी परियोजना नेपाल पोखराका संयोजक केशव पौडेल, असल छिमेकी सहयोग संघ (गोनेसा) का संयोजक शिवराज शर्मा, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम संयोजक पीति पाण्डे, एड्भोकेसी फोरम पोखराका संयोजक कुञ्जनी परियार प्यासी, सिवीन नेपाल पोखराका संयोजक शंकर नेपाली लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । पछिल्लो समय पोखराका विभिन्न स्थानमा सञ्चालित खाजाघरहरूमा १८ बर्षमुनिका बालिकाहरू राखी उनीहरूलाई जोखिमपूर्ण कार्यमा लगाउने गरेको तथा कतिपयले बालिकाहरूलाई घर भाडामा नै लिएर राख्ने र ग्राहकको माग अनुसार उनीहरूलाई ओसारपसार गर्ने पाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यसैगरी १४ बर्ष मुनिका बालबालिकाहरूलाई बालश्रममा लगाउने गरेको पाइएको, पोखरा ५ खुँडेपोखरीमा डुबेर ४ बर्षीय बालकको मृत्यु भएको, फागुन ९ गते पोखरा सेती दोभानस्थ्ति सेनाको प्रशिक्षणमा फेला परेको बिस्फोटक पदार्थ खेलाउँदा २ जना बालक घाइते भएको र घटनाको बारेमा सेनाबाट नै फरक फरक धारणा आएको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने मञ्चको माग छ । पोखराका विभिन्न स्थानमा सञ्चालिकत स्केट पार्कहरूमा बालबालिकाको आकर्षण बढ्दै गएको र उनीहरू त्यसबाट जोखिमपूर्ण गतिविधिमा संलग्न हुने गरेको पाइएको भन्दै सम्बन्धित पक्षले निगरानी तथा अनुगमन गर्न मञ्चले माग गरेको छ ।

