काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं–५ को विकासका लागि सङ्घ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको सांसद पौडेलले बताउनुभयो । सांसद पौडेलले प्रमुख साहसँग सात विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो । कलङ्कीदेखि धोबी खोलासम्म रिङ्गरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढङ्गले निर्माणकार्य अघि बढाउने र मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने विषयमा कुराकानी भएको सांसद पौडेलले बताउनुभयो । त्यस्तै, हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने विषयमा छलफल भएको छ । साथै, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गरिनेछ । सांसद पौडेलले भन्नुभयो, ‘‘आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो साथै काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनुभएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु ।’’
पोखरा: गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेका हुन् । सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहिबार राति १२ बजेटबाट अन्त्य भएको व्यहोरा सम्बनिधत सबैको जानकारीको लागि अनुरोध छ ।’ बुधबार प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि सभा स्थगित गरिएको थियो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेपनि सरकारको सिफारिसमा बिहीबार चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा छ ।
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलामा युएईविरुद्धको खेलमा नेपालले तीन ओभरमा तीन विकेट गुमाएको छ। तीन ओभरको समाप्तिमा नेपालका कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेलको विकेट झरेको हो। युएईका लागि जुनेदले दुई र सबिर अलिले एक विकेट लिएका हुन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको छ। २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २३ रनमा खेलिरहेको छ।
धनगढी: आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो । सो क्रममा उहाँले जनताको समस्या बुझ्ने, उनीहरूको माग, मुद्दा सुन्ने कार्य गरिरहनु भएको छ । उहाँले दुई दिनसम्म भजनी र कैलारी गाउँपालिकाको केही गाउँमा पुगेर जनतासँग भलाकुसारी गर्नुभयो । सुगम जिल्लाको दुर्गम गाउँ मानिने कैलारी गाउँपालिका –७ को हौसलपुर र वडा ३ को मोहनपुर गाउँमा पनि पुगेर जनताको समस्या बुझ्ने कार्य गरेको चौधरीले बताउनुभयो । मोहना नदी पारी रहेको दुवै गाउँवासीले कटान र बाटोघाटोको समस्या भोग्दैआएका छन् । हौसलपुरमा शिक्षा र स्वास्थ्यको ठूलो समस्या रहेको उल्लेख गर्नुहुँदै सांसद चौधरीले त्यो गाउँमा एउटा बाल विकास कक्षा र गाउँघर क्लिनिकसम्म सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । २९ घरपरिवार रहेको हौसलपुर गाउँका सबै बालबालिकाको शिक्षा भारतमा निर्भर छ । आफ्नो देशमा शिक्षाआर्जन गर्न नपाएका हौसलपुरका सबै बालबालिका भारतका विद्यालयमा पढ्न बाध्य छन् । विद्यालय सञ्चालन गर्दा मापदण्ड नपुग्ने भएकाले बाल विकास कक्षासम्म सञ्चालन गर्न उचित हुने चौधरीले बताउनुभयो । ‘बाटोको समस्या र टाढा भएको कारणले ती गाउँका बालबालिका आफ्नो देशको विद्यालयमा पठनपाठन गर्न आउन सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘कम्तीमा एउटा बाल विकास कक्षा सञ्चालन गर्न आवश्यक देखियो ।’ बाल विकास कक्षा र गाउँघर क्लिनिक सञ्चालनका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो । यसैगरी, सांसद चौधरीले हौसलपुरवासीका लागि मोहना नदीमा निर्माण भइरहेको झोलुङ्गे पुल निर्माण कार्य तदारुकताका साथ अगाडि बढाउन ठेकेदारलाई निर्देशन दिनुभएको छ । ‘अबको एक महिनाभित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारले बताउनुभएको छ’ उहाँले भन्नुभयो । यस्तै, चौधरीले नदी कटान, विभिन्न अधुरा योजना, निर्माणाधीन आयोजनाको पनि अवलोकन गर्नु भएको छ । दुवै पालिकाका स्थानीयले नदीको कटान समस्या भोग्दै आएकाले कटान नियन्त्रणका लागि आफूले पहल गर्ने उहाँको भनाइ छ ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली आठ दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका पौडेलको पक्षमा मत मागनका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गर्नुभयो । सांसद पौडेलले भन्नुभयो, ‘‘राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत माग्ने, विशेष गरी आठ दलसँग सम्बन्धित प्रतिनिधि सभामा सांसदहरु र प्रदेश भित्रका सांसदहरुलाई बोलाएर अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर आठ दलको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेललाई जिताएर सबै एकै ठाउँमा बसेर मत माग्न यो कार्यक्रम गरिएको हो । आठ दलका नेताहरु आफ्नो उम्मेदवारलाई मत मागिरहनुभएको छ ।’’ उहाँले अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताहरुले आफ्ना सांसदहरुलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गर्नुभयो । उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताउनुभयो । सांसद पौडेलले भन्नुभयो, ‘‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने प्रतिवद्धता रामचन्द्र पौडेलले गर्नुभएको छ । मतका हिसावले उहाँले निर्वाचन जित्ने निश्चित छ ।’’ सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकको रुपमा र संविधानको संरक्षकको रुपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भुमिका खेल्नु नहुने बताउनुभयो ।
कञ्चनपुर: कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोग किराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलवायुमा परिवर्तनका कारण भएका जनाइएको छ । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनाश, खेती प्रणालीमा गरिएको परिवर्तन, द्रुत सहरीकरणसँगै प्रदूषणको कारणले जलवायु परिवर्तन आएको बताउनुहुन्छ । “जलवायु परिवर्तनले बाली चक्रको पात्रोमै परिवर्तन गरिदिँदा हुस्सु मङ्सिर महिनाको अन्तिम र माघ महिनामा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “कात्तिक महिनामै हुस्सु लाग्न थालेको छ, आँपमा फागुन, चैत महिनामा फूल लाग्ने गरेकोमा पुस महिनामै फूल लाग्न थालेको छ ।” ढिलो गरी अत्यधिक वर्षा हुनु, हिउँदमा समयअघि नै चिसो बढ्नु, वन जङ्गल क्षेत्रमा मिचाहा प्रजातिका बिरुवा प्रशस्त रूपमा देखिनु, पशुमा नयाँ रोग देखा पर्नु जलवायु परिवर्तनको असर भएको उहाँले बताउनुभयो । “वर्षा र सुख्खा यामको दुरी बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा विगतको तुनलामँ तापक्रम बढ्दो छ । उहाँका अनुसार खेतबारीमा पहिला झारपातको धेरै समस्या हुने गरेको थिएन । हाल झारपातसँगै नयाँ रोग देखिन थालेका छन्, जति विषादीको प्रयोग गरे पनि रोग कीरा नियन्त्रण गर्न गाह्रो भएको छ । धानमा बाला नलाग्ने समस्या बल्झिँदै गएको छ । तापक्रम बढ्दै जाँदा बालीनालीको उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । यस कार्यले खाद्यान्न सङ्कटलाई निम्त्याउन सक्ने उहाँले उल्लेख गर्नु भयो । “वर्षा हुने क्रममा आएको परिवर्तन चुनौतीका रूपमा रहेको छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भन्नुभयो, “वर्षातका दिन घट्दै जान थालेका छन्, औसत वर्षा कम हुने गरेको छ, एकैपटक धेरै वर्षा हुँदा बाढी, भूक्षय र डुबानको समस्या केही वर्षदेखि जटिल रूपमा देखिन थालेको छ ।” अप्रत्याशित रूपमा हुने वर्षाले बर्सेनि धनजनको क्षतिलाई बढाउँदै लगेको उहाँले बताउनुभयो । वन क्षेत्रमा पहिला देखिने गरेका रैथाने प्रजातिका केही बिरुवा अहिले देखा नपर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा पहिला प्रशस्त रूपमा पाइने सानुन, विजयसाल लोपोन्मुख अवस्थामा पुगेको छ । हर्रो, बर्रोदेखि नै छाडेको छ । वन क्षेत्रमा प्रशस्त रूपमा देखिने जनावर देखिन छाडेका छन् । वन्यजन्तुको वासस्थानमा फेदरवदल भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी तराईमा तापक्रममा वृद्धि हुँदै जाँदा जीवजन्तुले वासस्थान सार्न थालेको बताउनुहुन्छ । “उष्ण हावापानीमा पाइने जनावर अहिले चुरे क्षेत्र र महाभारत क्षेत्रमा पाइन थालेका छन्”, उहाँले भन्नुभयो, “पाटे बाघ महाभारत क्षेत्रमा देखिनु यसको उदाहरण हो ।” तराईमा पाइने बिरुवा अहिले चुरे क्षेत्रमाथि देखिन थालेको उहाँले बताउनुभयो । जलवायुको असर कम गर्न वन क्षेत्र जोगाउने, प्रदूषण कम हुने किसिमका उद्योग धन्दालाई प्रोत्साहित गर्ने, वातावरणमैत्री ऊर्जा र सवारी साधनको प्रयोगमा जोड दिने, वनमा लाग्ने डढेलो कम गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव चौधरी पराल जलाउने कार्य रोक्ने, नदीजन्य पदार्थको व्यवस्थित रूपमा प्रयोग गर्ने, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने, दाउराको खपत कम गर्ने, प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सके वातावरणलाई सन्तुलित राख्न सकिने बताउनुहुन्छ । जमिनमुनिको पानीको सतह घट्दै गएको छ । हिउँदै वर्षा हुने क्रममा कमी आउन थालेको छ । जसले गर्दा प्राकृतिक स्रोतमा आश्रित समुदाय र सीमान्तकृत समुदायलाई यसले नराम्ररी असर गरेको छ । “मानव स्वास्थ्यमा जलवायु परिवर्तनको अवसर देखिन थालेको छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “स्वास्थ्यको समस्या लिएर आउने बिरामीमा श्वासप्रश्वास, छाला, बेमौसमी ज्वरोका बिरामी रहने गरेका छन्, पहिलेको तुनामा बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ, बढ्दो प्रदूषण, खानपानमा आएको परिवर्तनले बिरामी हुने क्रमलाई बढाएको छ ।” उहाँ जलवायु परिवर्तनलाई चुनौती मात्रै नभएर भविष्यमा आइपर्ने खतराका रूपमा औँल्याउनुहुन्छ ।
यूएई : देव खनालको अर्धशतकप्रेरित नेपाल यू १९ ले आईसीसी यू १९ विश्वकपको एसिया रिजन छनोटमा यूएईलाई एक सय ९२ रनको लक्ष्य दिएको छ। अज्मानस्थित इडेन गार्डेन ओभलमा जारी खेलको ४.५ ओभरमा सबै विकेट गुमाएर नेपालले एक सय ९१ रनको योगफल तयार गर्यो। नेपालका लागि ८४ बलको सामना गरेका कप्तान देवले तीन चौका र एक छक्कासहित ५१ रनको इनिङ खेले। यस्तै, उत्तम रङ्गु थापा मगरले ३६,विशाल विक्रम केसीले ३८ रन बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। यूएईका लागि ध्रुव पराशरले सर्वाधिक तीन तथा आयान अफ्जल खान र हरित हरिस सेट्टीले दुई–दुई विकेट लिए। यस्तै, हर्सित सेठ र अमार बदामीले एक–एक विकेट लिए। नेपालले आजको खेलमा जित निकाल्न सके अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउने छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा पछिल्लो पटक यू १९ विश्वकप खेलेको थियो।
कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो । सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमा व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘‘‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो । यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा रोमाञ्चित छु ।’’ फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई रात्रिकालीन उडानको लागि अनुमति दिइसकेको छ । आगामी २५ फागुनमा रात्रिकालीन उडान गर्ने बुद्धको तयारी रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका ४ जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान ४ स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् । बुद्धले फागुन २५ गतेदेखि नै पोखरा भद्रपुर उडानको तयारी समेत गरेको छ । पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाई उडान दूरी १ घण्टा १० मिनेटको हुनेछ ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गतको याम्पाफाँट–घाँसीकुवा खण्ड आज (बिहीबार)देखि दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिन रातिको समयमा बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उक्त सडकखण्ड आजदेखि फागुन २७ गतेसम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी पाँच बन्द गरिने गैरेले जानकारी दिनुभयो । निमित्त प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नका लागि मुग्लिङ–पोखरा खण्ड योजना (पूर्वी खण्ड)बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनहरू पूर्णरुपमा रोकी काम गर्ने निर्णय भएकाले बन्द गरिने भएको हो । ‘‘चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भित्ता काट्ने काम गर्नुपर्ने भएकाले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय भएको छ,’’ उहाँले भन्नुभयो । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातिको समय बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चाइना कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिङ सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता काट्ने र खाल्टो पुर्ने कार्य भइरहेको छ । हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिङसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ मुग्लिङदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य सुरु भइरहेको छ । सो कम्पनीले सडक फराकिलो गर्न छ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।

