तनहुँ: मुग्लिनबाट पोखरा आउँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइते हुनेमा तनहुँ भानु नगरपालिका–१, साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका–३, चाम्बासका २१ वर्षीया सविता सुनार, १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका–२ का ३० वर्षीय प्रदीप गोदार छन् । त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका–२ का ३४ वर्षीया पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका–१ का ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका–२ का २१ वर्षीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् । साथै भानु नगरपालिका–१, साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीया नविन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका–२, डाङग्रे खोल्सीका ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका–११ मूलपानीका ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णिमा भट्टराई छन् । घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ। रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो । मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रम शुभारम्भ गदै संस्थाका पुर्ब अध्यक्ष एवं लायन्स डिष्टिक प्रमुख प्रेम बहादुर जि.सी ले पहिलो रत्तदातालाई आकस्मीक रत्तदान समुहका प्रमुख हरिश्चन्द्र शर्मा, क्लवका अध्यक्ष एवं इन्जिनियर किरण के।सी लाई ब्लड ब्याग हस्तानतरण गदै सदस्य सेवा सङ्गै सामाजिक कार्यमा लाग्नु नै सच्चा मानवसेवा भएको बताए । सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा क्लवका जोन प्रमुख विजेन्द्र शर्मा पुर्व अध्यक्ष राममणी पौडेल, रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली , लायन्स लिर्डर अमृत वराल , बालकृष्ण बराल ,जनप्रिय क्याम्पसका कोषाअध्यक्ष गणेश बहादुर अधिकारी , कार्यक्रम संयोजक शिव बहादुर थापा ,लायन्स रत्तदान कार्यक्रम प्रमुख जितेन्द्र शाक्य , संस्थाका सचिव कुल प्रसाद सुवेदी लगायतले आ आफ्नो धारणा राखेका थिए । २०६३मा स्थापित सहकारीले स्थापना देखी नियमित रत्तदान सहित विविध सामाजिक कार्यमा सकृय रहदै कुल ६० करोड को कारोबार सहित कर्जा लगानी ५३ करोड रहेको छ । संस्थाले समुदायको लागी रेडियो सराङ्गकोट संचालन गदै आएको छ ।
झापा: डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ । मेचीनगर नपा–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उनले बताए । हिउँद याममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए । डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताए । उनका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेका छन् । मोरङको कानेपोखरी जङ्गल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरु भारततिर नफर्किएको अनुमान गरिएको छ । सडक छेउछाउ र बजारमा पोलेर बिक्रीका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ । बेलबारी नगरपालिका–८ र १० का स्थानीय किसानले ठूलो क्षेत्रफलमा मकै खेती लगाएका छन् । ‘मकै हात्तीले असाध्यै मन पराउँछ’, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, ‘मोरङको अन्य पालिकाभन्दा यहाँ मकै खेती प्रशस्त हुने गरेको छ, हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।’ उनले बिहान–बेलुका हिँड्डुल गर्दा र जङ्गल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेका छन् । वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन । गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययनसमेत गर्दै आएका अभियानकर्मी लुइँटेलले बताए । भारत नफर्किएका २० हात्ती झापा र मोरङकै जङ्गलमा छारिएर रहेको उनको भनाइ छ । उनले हाल तीन जिल्लामा ६० देखि ६५ हात्ती जङ्गलभित्र रहेको दाबी गरे ।
काठमाडौं: सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्याएर हेर्न अनुमति दिएको हो । सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ११ मा फैसला गरेको भन्दै पलबारेको उक्त फैसला दोहोर्याउन निस्सा प्रदान गरेको हो । उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो। शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पोखरा: सेती नदीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । शुक्रबार माछा मार्न सेती नदीमा गएका सुनिल श्रेष्ठको भीरमाथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा तुलसीघाटको सेती नदीमा (हिजो शुक्रबार) सेती नदीमा माछा मार्न गएका श्रेष्ठलाई भीरमाथिबाट खसेको ढुंगा लागेर गम्भिर घाइते भएको थिए । उनको उपचारको क्रममा चित्किसकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यसैबीच, पोखरा रामघाटमा भेटिएको शवको पहिचान भएको छ । बिहीबार रामघाटमा भेटिएको शव पोखरा–३ उमेश गुरुङको भएको उनका दाजु दिनेशले सनाशत गरेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ । डिजल तथा मट्टीतेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजल तथा मट्टीतेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।
पोखरा: पोखराको प्याराग्लाइडिङ उडान ठप्प भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले बुधवार कम्पनीहरूले आफैँ उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय व्यवसायीहरुलाई नै सुम्पिएपछि पोखराका पाइलटहरु उडान ठप्प पारेका हुन् नाको निर्णयले अहिले प्याराग्लाइडिङ पाइलटहरू आन्दोलित भएका छन् । नाले नेपाल नागरिक उड्डयन प्राधिकरणका नियमहरू पालना गर्दै खुला रूपमा उडान गर्न र रेट तोक्न भनेको छ । अहिले यो विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि पोखराका कम्पनीहरूले प्याराग्लाइडिङ उडानको बाह्र हजार शुल्क लिँदै आएका थिए । यो निर्णयपछि पाइलटहरूले उडान ठप्प पारेका छन् । नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले नयाँ अवस्थामा उडान भर्न नसक्ने जनाएको छ । क्लबका अध्यक्ष दीपक थापाले निर्णयले बजार अस्वस्थ हुने र सुरक्षा चुनौतीसमेत देखिने जनाउँदै अर्को निर्णय नभएसम्मका लागि पाइलटहरूले उडान नभर्ने जानकारी दिए । केही पाइलटले भने यो निर्णयले छ, सात हजारमै उडान भर्नुपर्ने अवस्था आउने चिन्ता जनाएका छन् । अहिले ५२ वटा कम्पनी ना सँग आबद्ध छन् । तीमध्ये २१ कम्पनीले छाता संस्थाको निर्णय नमान्ने बताएपछि बुधवार मात्र आफ्नै तरिकाले शुल्क तोक्न र आफैँले सञ्चालन गर्न पाउने निर्णय गरिएको ना अध्यक्ष सुनिल भट्टराईले बताए ।
बाँके: बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए । गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो । घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जीपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । अस्पतालमा उपचारत संगम मिश्र बुवा औषधी किन्न गएका समयमा बेपत्ता भएका थिए । तनहुँ स्थायी घर भएका संगम मिश्र बिरामी भएपछि लामाचौरबाट गएको मंसिर २५ गते उपचारका लागि मणिपाल अस्पतालमा आएका थिए । आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट बेपत्ता भएका संगम खोजतलाज गर्ने क्रममा सेती नदीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए । मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड फेला पारेको थियो । ‘परिवारले पोखरा–१६स्थित सेती नदीको ड्याम खोलेर खोजतलास गरिदिन आग्रह गरेपछि आज (दिउँसो ) ड्याम खोलेर खोजतलाज गर्ने क्रममा पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदीमा संगम मृत फेला परेको सूचना अधिकारी विकले बताए । सेती नदीमा मृत फेलाका संगमको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ ।

