पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ ।  पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत्  निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो ।  “उहाँले नै सामान्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो”, प्रधानमन्त्रीले भन्नुभएको छ । विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतिदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।  

काठमाडौं:     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ ।  मिडिया एडभोकेसी ग्रुप ९म्याग० र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त  रूपमा आज यहाँ आयोजित  ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’  विषयक दुईदिने गोष्ठीमा उहाँले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय हो भन्नुभयो ।  “शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।” नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी छ भन्नुभयो ।  उहाँले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको जानकारी गराउनुभयो ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताउनुभयो ।  उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्दै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताउनुभयो ।  उहाँले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्नेमा जोड दिनुभयो । न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताउनुभयो ।  उहाँले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई  दिनको तालिमको आयोजना गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घको तथ्याङ्कानुसार १८ प्रतिशत महिला क्रियाशील रहेका छन् ।

काठमाडौं:    स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।      त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सय निर्धारण भएको छ ।      चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ । 

काठमाडौँ:   प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।   प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै हुनुहुन्छ ।   उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।   गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो ।   प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिनुभएको छ । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उहाँले सो जानकारी गराउनुभएको हो ।   उहाँले भन्नुभएको छ, “ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।” बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका जनाउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको उहाँले बताउनुभएको छ । मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा राणाले बताउनुभयो । आइतबार मात्र हवाईमार्गबाट एक सय १५ र काँकडभिट्टा नाका भएर तीन सय पाँचजना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । आइतबार बिहान फर्किएका ५७ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छभने ढाकास्थित नेपाली दूतावासलाई निमियत सम्पर्कमा राखिएको छ । यस विषयमा परराष्ट्रमन्त्री डा राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकरी लिइरहेको बताउनुभएको छ । आइतबारसम्म बङ्गलादेशबाट एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले आइतबार जानकारी दिएको छ । बङ्गलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

काठमाडौं:     प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएकोे छ ।” चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गर्नुभयो ।  पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध छ भन्नुभयो । उहाँले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताउनुभयो । “शान्तिप्रिय राष्ट्र नेपालको सबै देशसँग मैत्री कायम गर्ने नीति छ । हाम्रो परराष्ट्र सम्बन्ध पनि यसै आदर्शबाट अभिप्रेरित छ”, उहाँले भन्नुभयो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले  चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।    चिनियाँ राजदूले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । दूतावासका सैनिक सहचारी लिउ गोझेङले चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै मातृभूमिको रक्षार्थ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभएको थियो । समारोहमा सांसद, गृहसचिव एकनारायण अर्याल, बलाधिकृत रथी अशोक सिग्देल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं सैनिक सहचारी, पत्रकार, राजनीतिज्ञलगायत समाजका प्रतिष्ठित व्यक्ति सहभागी हुनुहुन्थ्यो । साथै जनमुुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।   यसैबीच, चीनले  नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको सन्दर्भमा मुलुकको पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले चीनको यो साथ र सहयोगको नेपाल सरकार तथा जनताले सधै उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने विश्वास गरेका बताउनुभयो । 

झापा:    बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।      “पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भन्नुभयो, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उहाँले जानकारी दिनुभयो ।       बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताउनुभयो ।      आज दिउँसो काँकडभिट्टा आइपुग्नु भएकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताउनुभयो ।      इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो । “कलेजका प्राध्यापक र  कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो”, उहाँले भन्नुभयो, “कफ्र्यु लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ ।”      आज मात्रै नौ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उहाँले जानकारी दिनुभयो । केही विद्यार्थी भुटानबाट समेत आएका थिए ।            रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताउनुभयो । काठमाडौँ निवासी उहाँले भन्नुभयो, “एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।”      उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् ।  काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए ।       सुर्खेत घर भएका रेणुका गुरुङले बङ्गलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाउनुभयो । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उहाँको भनाइ थियो        उहाँले भन्नुभयो, “आज विहान चार बजे कलेजबाट हिँडेका थियौँ । शिक्षकहरुले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।”      बङ्गलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताउनुभयो । विद्यार्थीहरुले बङ्गलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्याङ्की नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् ।      पानीट्याङ्की नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलामलगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् ।      काठमाडौँ र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरु छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बङ्गलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् प्रतिभा नायकलाई लिन उहाँका आमावुवा अध्यागमन परिसरमै घण्टौं कुर्नु भएको थियो ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।            प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राख्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी गराउनुभयो ।            मतदानमा कुल दुई सय ६३ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दल सम्वद्ध सांसदको गरी कूल एक सय ८८ मत परेको थियो ।  विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलगायतका दलका गरी ७४ मत परेको छ । प्रधानमन्त्रीले प्राप्त गर्नुभएको उक्त मत संसदमा रहेका कूल सदस्यको दुई तिहाइ हो ।      मतदानमा एक सदस्य तटस्थ रहनुभएको थियो । गत असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो ।       

गण्डकी:     साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो । दिवसका अवसरमा नेपाल मगर युवा सङ्घ, नेपाल मगर विद्यार्थी सङ्घ, नेपाल मगर सांस्कृतिक सङ्घ र नेपाल मगर विद्यार्थी सङ्घ धवलागिरि बहुमुखी क्याम्पस एकाइ समिति बागलुङले संयुक्त रुपमा ‘अरुण स्मृति साँझ’ आयोजना गरेका हुन् । भजन गायक रमेश राजभण्डारीले अरुणले गाएको भजनसँगै उहाँसँगका स्मृतिलाई कोट्याउनुभयो । अरुणले आफ्नो जीवनकालमा यही एउटा मात्र भजन गाउनुभएको उहाँले सुनाउनुभयो ।  उहाँहरुबीच विसं २०३० तिर पोखरामा भेट भएको थियो । त्यो बेला अरुणले पोखराको डाँफे कला मन्दिरमा गीत गाउनुहुन्थ्यो । “गायनसँगै गितारवादनमा पनि उहाँ सिद्धहस्त हुनुहुन्थ्यो”, राजभण्डारीले भन्नुभयो, “भारतीय गायक किशोरकुमारबाट बढी प्रभावित हुनुहुन्थ्यो अरुण थापामगर ।” राजभण्डारीले नेपाली सङ्गीत जगत्का अमर प्रतिभाका रुपमा उहाँलाई स्मरण गर्नुभयो ।  अरुणका गीत युवा पुस्तामाँझ बढी लोकप्रिय रहेका राजभण्डारीले बताउनुभयो । अरुणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ । कार्यक्रममा राजभण्डारीपछि पालैपालो अरु कलाकारले अरुण थापा मगरका गीत सुनाए । आफ्ना मनप्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध देखिन्थे । उनीहरु साँझ अबेरसम्म सङ्गीतमा झुमिरहे । प्रेक्षालयमा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो । प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि अरुणले गाएका ‘जति माया लाए पनि...’, ‘चोट के हो व्यथा के हो...’ जस्ता लोकप्रिय गीतमा कलाकारलाई दर्शकले खुलेर साथ दिए । आफ्ना आदर्श गायकको सम्झनामा गायक शुभराम भारी, ताराप्रसाद श्रेष्ठ, किशोर थापालगायत पलेँटीमा प्रस्तुत भए । अरुण थापाको चर्चित गीत ‘ऋतुहरुमा तिमी...’ गायक श्रेष्ठले सुनाउनुभयो । किशोर थापाले ‘भुलुँभुलुँ लाग्यो मलाई...’, ‘चोट के हो व्यथा के हो...’लगायत गीत गाउनुभयो ।  कलाकार प्रेम बुढामगरले थापाको लोकप्रिय गीत ‘जति माया लाए पनि...’ र सागर सुनारले ‘आँखाको निद...’ सुनाउनुभयो । शुभराम भारीले अरुण थापालाई समर्पित गर्दै नारायणगोपालद्वारा स्वरबद्ध ‘आजै र राति के देखेँ सपनी...’ र ‘अल्झेछ क्यारे पछ्यौरी...’ प्रस्तुत गर्नुभयो । वाद्यवादनमा कलाकार सूर्य घतानेलगायतले साथ दिनुभयो । अरुण थापाका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाउनुभएको छ ।  गायक अरुण थापामगरको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी सङ्घ बागलुङका कार्यवहाक अध्यक्ष डम्मर बुढामगरले बताउनुभयो । कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला सदस्य सङ्गम घर्तीमगरले अरुणको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । उहाँले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रुपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गर्नुभयो ।  “सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढङ्गले टुङ्गिन पुग्यो”, उहाँले भन्नुभयो, “उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपथ्र्यो तर आज मगर समुदायले मात्र सम्झनुपर्ने बिडम्वनापूर्ण अवस्था छ ।” अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ’ बिबिसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । जन्म विसं २००९ माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका अरुणको विसं २०५६ साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रुपमा अस्वस्थ भई उहाँले मुत्युवरण गर्नुपरेको थियो । ४७ वर्षको छोटो आयु बाँचे पनि गायक अरुण थापामगरले नेपाली सुगम सङ्गीतलाई कालजयी गीतहरु छोडेर जानुभएको छ ।  अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराउनुभएको थियो । यही गीतबाट अरुणको साङ्गीतिक यात्रा सुरु भएको थियो । उहाँको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन ।  विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरुमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । नेपाल मगर विद्यार्थी सङ्घलगायतका सङ्घसंस्थाले बर्सेनि अरुण स्मृतिका दिवसका अवसरमा ‘अरुण स्मृति साँझ’को आयोजना गर्दै आएका छन् ।