देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडाैं | साउन १४, २०८१

देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको बताउनुभएको हो ।

    
“जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ”, उहाँले भन्नुभयो । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गर्नुभयो । 


“उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति  प्रभावित छु”, उहाँले भन्नुभयो, “उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।”

    
युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद रु ४० हजारसहित पुरस्कृत हुनुभयो ।

    
सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । विसं १९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उहाँकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो । 

    
कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गर्नुभएको थियो । समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    
कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरुले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उहाँ पाँच वर्ष जेल सजायपछि विसं २००२ मा जेलमुक्त हुनुभएको थियो । उहाँका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन्  । अझै प्रकाशोन्मूख सातवटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ । 

म्याग्दी:  कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्