बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ: परराष्ट्रमन्त्री डा. राणा

काठमाडाैं | साउन १४, २०८१

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ: परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।

    
जोशीका बुबा महानन्द जोशी र उहाँको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिनुभएको हो । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उहाँको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गर्नुभएको थियो ।

    
उक्त भेटमा मन्त्री डा राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताउनुभयो । इजरायलमा भएको  आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उहाँको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिनुभयो ।

    
मन्त्री डा राणाले भन्नुभयो, “उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । 

जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।”

    
आफू परराष्ट्रमन्त्री भएदेखि बिपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उहाँले दिनुभयो ।

    
यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आउनुभएको बेला उहाँसँग नेपाल सरकारले बिपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिनुभयो । इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात उनीहरुकै नियन्त्रणमा रहनुभएका बिपीन जोशी हालसम्म सम्पर्कविहीन हुनुहुन्छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्