काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छभने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने विभागको पूर्वानुमान छ । त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै विभागले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।
काठमाडौं: स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।
बागलुङ: तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो । तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई तमानखोला गाउँपालिका वडा नम्बर–३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ । वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने तथा पञ्चायतघरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो । पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो ।
म्याग्दी: नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो । पछिल्लो पटक गत चैतमा भगवती आउनुभएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाउनुभएको थियो । “रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो”, अरुणका भतिज रिम मल्लले भन्नुभयो, “काका (अरुण) को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौँ ।” मल्लको भगवतीमा रहेको पुख्यौली घर पुरानो भएकाले जीर्णोद्धार थालिएको थियो । पुख्यौली जग्गामा खेतीपाती र पशुपालन गरेर सेवा निवृत्त जीवन बिताउने मल्लको योजना अधुरै रहेको छ । अरुणका एक जना दाजु र तीन जना दिदिबहिनी छन् । बेनीकी चन्नु मल्लसँग विवाह गरेका अरुणका दुई छोरी छन् । उनीहरूको पनि विबाह भइसकेको छ । अरुणको परिवार हाल ललितपुरमा बस्ने गरेका उहाँका साथी कर्णबहादुर भण्डारी (के.बी) ले बताउनुभयो । “म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पु¥याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्ति नै अरुण मल्ल हुनुहुन्थ्यो”, भण्डारीले भन्नुभयो, “रघुगङ्गा गाउँपालिका र म्याग्दी जिल्लाले मात्र नभएर नेपालले एक जना अनुभवी, साहसी पाइलट गुमाएको महसुस भएको छ ।” करिब ३० वर्षदेखि हेलिकप्टर उडाउँदै आउनुभएका अरुणले म्याग्दीबाट विसं २०५६ मा निर्वाचित सांसद रहेका स्वर्गीय नारायणसिंहको कर्णाली एयरको हेलिकप्टर उडाउनुभएको थियो । द्वन्द्वकालमा हेलिकप्टर उडाएका मल्लले हेली उद्धारका काममा प्राथमिकता दिने गरेको भण्डारीले स्मरण गर्नुभयो । गत वैशाख २८ गते मनाङको नासो गाउँपालिकास्थित भिस्ताङ भ्यालीमा बिरामी उद्धारका लागि अरुणले उडाएको हेलिकप्टर चढेर जानुभएका जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन नायब सुब्बा ज्ञानदीप विश्वकर्मा (कुशल) ले उहाँ अनुभवी र शाहसी पाइलट भएको स्मरण गर्नुभयो । मृदुभाषी र आँटिला स्वभावका अरुणको निधनले जन्मथलो राखु भगवती शोकमा डुबेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुवेसी उडेको एयर डाइनेष्टिको उक्त हेलिकप्टर मल्लले उडाउनुभएको थियो । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको छ ।
धादिङ: भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका–६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उहाँकै श्रीमान्ले पेटमा निर्घात कुटपिट गर्दा बच्चा नै बाहिर निस्केको र उहाँको मृत्यु भएको हो । निशा र प्रकाश गल्छी गाउँपालिका–६ खैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए । साउन १८ गते राति हत्या गरिएको अवस्थामा निशाको शव फेला परेपछि अनुसन्धानको क्रममा उहाँकै श्रीमान् प्रकाश मगरलाई प्रहरीले साउन २० गते पक्राउ गरी अनुसन्धान गरेको थियो । निशाको हत्या प्रकाशले नै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मिश्रले जानकारी दिनुभयो । पटकपटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुङ्गानाटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राति महेश दोभानमा आएर श्रीमतीको हत्या गरेको छिमेकीहरूले आशङ्का गरेका छन् । निशाको शव परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाएको छ ।
काठमाडौं: एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार सुरु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको छ । साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको उहाँले जानकारी दिनुभयो । खोज तथा उद्धारका लागि काठमाडौँबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको क्यानले जनाएको छ ।
गुल्मी: गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका‐१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कर गरिएको हो । मङ्गलबार बिहान ९ बजे बिसौनाका विष्णु विकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी विक, दुई वर्षीया छोरी रियन्सी विक, ६७ वर्षीय हुकुम विक र ४६ वर्षीय गोरे विकको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट चिकित्सक पठाएर घटनास्लथलमै शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको थियो । उक्त शवलाई आज बिहान हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको हो । उक्त घटनामा परि विष्णु विक र उहाँकी श्रीमती मुना विक गम्भीर घाइते हुनुभएको थियो । उहाँहरुको अहिले मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि गत आसार १४ गते गुल्मीको मालिका गाउँपालिका‐६ अर्जेमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।
काठमाडौं: नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । यो पनि पढ्नुहोस नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन््”, उहाँले भन्नुभयो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।
काठमाडौं: नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी गाँउपालिका–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन् । घटनास्थलमा प्रहरीहरु पुगि सकेकाले अहिले आगो निभाउने र उद्धार कार्य जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनु भयो । उक्त हेलिकप्टरमा चार जना यात्रु र चालक दलका सदस्य सवार रहेको प्रारम्भिक विवरण आफुहरुलाई प्राप्त भएको प्रजिअ अधिकारीले बताउनु भयो । घटनाको थप विवरण आउन बाँकी छ ।

