काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको...

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।  आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिनुभयो ।  “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”, उहाँले भन्नुभयो । सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताउनुभयो । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताउनुभयो । “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”, उहाँले भन्नुभयो, “नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।” अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिनुभयो ।

काठमाडौं:     हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ ।       आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।      आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।        आज राति पनि देशभर  आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बर्दिया:    बर्दियामा सर्पले डस्दा एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ ।       गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको र मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते जनाइएको छ ।       घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पु¥याएकोमा चिकित्सकले सर्पको डसाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।       प्रहरीका अनुसार बालकलाई सर्पले डसेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पु¥याएका थिए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।  सर्पको डसाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो ।  थप उपचारका लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । 

काठमाडौं:    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।            नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।            प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।            काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।            नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ ।            श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।            जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।            नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन ९ब्राह्मण० पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।          आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।           बाल्मिकी क्याम्पसका प्राडा देवमणि भट्टराई दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न उपकारीकार्य गरेकाले प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पुजाअर्चना गर्ने प्रचलन रहेको बताउनुहन्छ । “प्रदूषणयुक्त विषविषालु जीवलाई नागले पान गरेर चराचर जगत्लाई नै कल्याण गर्ने कुरालाई बुझेर ऋषिमुनीहरूले नागको पूजा गर्नुपर्छ भनेर पञ्चमी थिती निर्धारण गरे”, उहाँले भन्नुभयो ।

बागलुङ (ढोरपाटन):    गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो ।  १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उहाँको भनाइ छ । पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंँ लगिएको छ ।

काठमाडौं:    नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ ।  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।  हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । चिनियाँ नागरिकको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिनुभयो ।

बागलुङ:    बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।  पहिरोमा परेका  सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको  संयुक्त टोलीले खोजी गरिरहेको छ ।  पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो ।  अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । झब्रिखेत बस्ती जोखिममा  यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ । त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो । हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताउनुभयो । पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन् ।  

काठमाडौं:     सरकारले ओमान सरकारसँग काठमाडौंमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो । नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताउनुभयो । मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो । बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत सबै क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले जनस्तरको सम्बन्ध अभिवृद्धि तथा पारस्परिक लाभका खातिर आर्थिक लाभका अवसरहरूको उपयोग गर्ने सम्बन्धमा पनि सहमति जनाएका छन् ।  परराष्ट्र सचिव लम्सालले नेपालीलाई रोजगारीका अवसर प्रदान गरेकामा ओमान सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै ओमानका नरेशको ‘२०४० दृष्टिकोण र रणनीति’का सन्दर्भमा थप अवसरहरूको खोजीका निम्ति आग्रह गर्नुभयो । उहाँले आपसी सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्दै निजी क्षेत्रसँग मिलेर आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा अर्थपूर्ण साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपालमा लगानीका पर्याप्त क्षेत्र रहेका बताउँदै पराष्ट्र सचिवले जलविद्युत्, पर्यटन, हरित हाइड्रोजनलगायत क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो । ओमानी प्रतिनिधिमण्डलका नेता शेख खलिफा बिन अलि बिन इसा अलहार्थीले सहमति गरिएका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तथा सझदारी गर्न बाँकी विषयलाई टुङ्ग्याउन ओमान सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले नेपालीहरूको परिश्रम र इमान्दारीको प्रशंसा गर्नुभयो । दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकमा दुवै पक्षले संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुवै पक्षले बहुपक्षीय क्षेत्रमा सहकार्य एवं साझेदारीलाई अझ घनिभूत तुल्याउन दृढता पनि व्यक्त गरेका छन् ।   परराष्ट्र सचिव लम्सालले बुधबार नै ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अली वाओइनसँग शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको थियो । सन् २०१७ मा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा आयोजना गरिनेछ ।

काठमाडौं:    देशभर मनसुनी वायुको प्रभाव रहेको र  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छभने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने विभागको पूर्वानुमान छ ।  त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै विभागले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।