काठमाडौँको खुल्लामञ्चको स्तरोन्नतीक्रममा माटो सम्याउँदै काठमाडौँ महानगरको डोजर । तस्बिर: प्रदीपराज वन्त /रासस
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
म्याग्दी: पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम मोलेर पहिरो पारगरी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबार साँझदेखि अवरुद्ध भएको हो । यस सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ । यस सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताउनुभयो । पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् । यात्रुहरु जोखिम मोलेर पैदल नै आआफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङमा हरिकृष्ण पौडेलले बताउनुभयो । ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो त बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।
काठमाडौं: ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको हो । जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले उल्लेख गरेको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ, यो खस्दै जाँदा घुमिरहेको छ। एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए ।
हुम्ला: हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा गएको बाढीपहिरामा परी ५० वटा भेडा मरेका छन् । बुधबार दिउँसो अविरल वर्षासँगै गएको बाढीपहिराले राया गाउँका दुई किसानका ५० वटा भेडा मरेका हुन् । यहाँ वर्खायाममा चरिचरनका लागि उच्च लेकका भेडीखर्कमा लिने चलन छ । यसपटक पनि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेकमा लिएका भेडा पहिरोमा परी मरेका पीडित सुरेन्द्र बोहराले जानकारी दिनुभयो । वनमा चरिचरनका लागि लिएका समयमा बुधबार दिउँसोको समयमा एक्कासी सुक्खा खोलामा आएको पहिरोसहितको बाढीले स्थानीय धुन बोहराका २५ र आफ्ना २५ भेडा मरेका उहाँले बताउनुभयो । “लामो समयदेखि भेडा यही व्यवसाय गर्दै आएको थिए । घर खर्चका साथै छोराछोरी पढाउन पुगेकै थियो तर पहिरामा परी भेडा मरेपछि आम्दानीको स्रोत नै गुमेको छ”, बोहराले भन्नुभयो । हुम्लामा स्थानीय जातका प्रति भेडाको मूल्य रु ३० हजार पर्ने गरेको छ । २५ वटा भेडा बाढीपहिरामा परी मरेपछि रु सात लाख ५० हजार बराबरको क्षति भएको पीडित धुन बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“दिउँसो चरिचरनका लागि जङ्गलमा लिएका बेला सुख्खा खोलामा एक्कासी आएको बाढी तथा पहिराले ठूलो नोक्सानी ग¥यो । हाम्रा लागि भेडा नै आयआर्जनका स्रोत थिए । सबै सखाप भए”, उहाँले दुःखेसो पोख्नुभयो ।
ललितपुर: मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गर्नुभएको थियो । प्रवचनका क्रममा आचार्य कृष्णले भन्नुभयो, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।” उहाँले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राख्नुभयो । “दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ । मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन ।” सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्नुहुँदै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले अगाडि भन्नुभयो, “हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरूरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नुपर्छ ।” मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“दमाइ परिवारबाट आचार्य गर्नुभएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनुपर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो ।” एक महिना अर्थात साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएका त्यस अवसरमा जानकारी दिइयो । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गर्नुभयो । “सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई निजी क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”, प्रधानमन्त्रीले भन्नुभयो । बिरामीलाई अस्पतालमा भर्ना नगरेसम्म उपचार नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उहाँले स्वास्थ्य बीमालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गर्नुभयो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कायमुकायम मुख्यसचिव, स्वास्थ्य मन्त्रालयका सचिवलगायत उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ३० निर्धारण भएको छ ।
जुम्ला: तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो । उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ सङ्कलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उहाँले बताउनुभयो । यसअघि गाउँपालिकाले आगामी भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न तथा काँचो स्याउ नटिप्न सूचना जारी गरेको थियो । स्याउ बिक्री गर्न व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यापालिकाबाट निर्णय गरिएको उपाध्यक्ष बुढाको भनाइ छ । लुकिछिपी स्याउ बिक्री भइरहेको सूचना प्राप्त भपछि स्याउ भण्डार गरिएका ६ गोदाम सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिनुभयो । तिलाका विभिन्न वडा तथा बस्तीमा पालिकाको निर्णयविपरीत स्याउ सङ्कलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको रारालिही प्रहरी चौकीका इन्चार्ज टिबी घर्तीमगरले बताउनुभयो । कृषि विकास कार्यालय जुम्लाले पनि सार्वजनिक सूचनामार्फत काँचो स्याउ बजारमा नपठाउन जिल्लाका किसान र व्यापारीलाई आग्रह गरेको छ ।

