भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।   नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो...

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।  राजधानीको मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमीद्वारा यस वर्षको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले युवाको सीप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो ।    शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने र विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठन, परीषालगायत काम क्यालेण्डरअनुसार तोकिएको समयमा हुने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकास र गुणस्तर वृद्धि गर्न राजनीतिक स्थिरता आवश्यक पर्दछ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले संसद्मा पहिलो र दोस्रो ठूला दल मिलेर बनेको गठबन्धनले राजनीतिक स्थिरताका साथै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आफूले रोजेको विषय वा क्षेत्रमा पूर्ण मेहनत र लगाबका साथ अध्ययन गरे असफल हुनु नपर्ने बताउनुभयो । विद्यार्थीलाई विज्ञान तथा प्राविधिक वा व्यवस्थापन वा कुनै पनि विषयमा विज्ञता हासिल गर्नेतर्फ लाग्न उहाँले आह्वान गर्नुभयो ।  “यसका लागि मेहनत र लगाब चाहिन्छ । मेहनत ग¥यो भने सफलता प्राप्त गर्न सम्भव छ । दुवैखुट्टा नभएकाले पनि सगरमाथा चढेकाको उहाहरण छन्”, मन्त्री गुरुङले भन्नुभयो । विद्यार्थीलाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्नेतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो ।   बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले आफ्नो लक्ष्यप्राप्तिका लागि दृढ भएर लाग्न सबै विद्यार्थीलाई आग्रह गर्नुभयो ।  कार्यक्रममा मन्त्री गुरुङले एसइईमा उत्तीर्ण विद्यार्थीलाई समान्न पत्र प्रदान गर्नुभएको थियो । विद्यालयबाट एसइईमा सहभागी ५७ जना नै उत्तीर्ण भएका थिए । ए प्लस हासिल गर्ने विद्यार्थी १३ जना रहेका विद्यालयले जनाएको छ । 

गोरखा:    धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो । लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ । पहिरोमा ज्यान गुमाएकाहरूका र घाइतेका ४० परिवारलाई सिरक, डसना वितरण गरिएको छ । रेसेफाँटमा यही साउन १३ गते पहिरोमा परी एकै परिवारका तीनजनासहित पाँचजनाको मत्यु भएको थियो ।

भोजपुर:    इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ ।  यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन  कष्टकर भएको हो ।   बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनभयो । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताउनुभयो ।  बढीबाट रु पाँच करोड बराबरको क्षति भएको उहाँको अनुमान छ ।  गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने  तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो ।  गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उहाँले बताउनुभयो । बाटो बनाउन रु १० करोड लाग्ने उहाँको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु विकल्प आफूहरूसँग नभएको पनि उहाँले बताउनुभयो ।  बढीले वडा नं १ गौडेनी पुलमा रु एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु।एक करोड र भमला ढाँडगाउँ पुलमा रु १० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा  निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा रु ४० लाख बढीको क्षति भएको  छ । 

बागलुङ (ढोरपाटन):    बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।  हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ ।  स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो रासस प्रतिनिधिसँग पोख्नुभयो । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उहाँले बताउनुभयो ।  विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो ।  गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उहाँले बताउनुभयो । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । 

काठमाडौं:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल  बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका   एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना  छ ।  आज राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा  भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । 

नवलपरासी:    यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ ।       गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व सङ्कलन आव २०७९/८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताउनुभयो ।        “गत आवमा सवारीसाधन करवापत रु २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत रु पाँच करोड छ लाख ५२ हजार नौ सय १८, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु ३८ लाख ४६ हजार चार सय ३० र अन्य प्रशासनिक सेवा शुल्कवापत रु आठ लाख दुई हजार छ सय ९० राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो ।       प्रमुख केसीका अनुसार गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सात सय २७ सवारीसाधन दर्ता भएका छन् । आव २०७९/८० मा कूल सात हजार आठ सय ३८ सवारीसाधन दर्ता भएकामा गत आव छ हजार एक सय ११ वटा सवारीसाधन कम दर्ता भएका उहाँले जानकारी दिनुभयो ।      “गत आवमा दुई पाङ्ग्रे सवारीसाधन एक हजार चार ८९, निजी कार भ्यान २८, सरकारी मोटरसाइकल तीन, निजी बस तथा ट्रक १३, सरकारी बस पाँच, सरकारी गाडी छ, पिकअप भ्यान दुई, सार्वजनिक बस तथा ट्रक २४, ट्याक्टर चार, भाडाका ट्याम्पो ७४ र निजी ट्याम्पो ७९ वटा दर्ता भएका छन्”, प्रमुख केसीले भन्नुभयो । उहाँका अनुसार आव २०७९/८० मा छ हजार छ सय ८३ दुई पाङ्ग्रे सवारीसाधन दर्ता भएकामा गत आवमा एक हजार चार सय ८९ वटा दर्ता भएका छन् ।      जिल्लास्थित यातायात व्यवस्था कार्यालयमा गत आवमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित परीक्षामा सहभागी भएकामध्ये ७० दशमलव ७२ प्रतिशतले चालक अनुमतिपत्र पास गरेका कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । चालक अनुमति पत्र नयाँ एवं नवीकरण गरेकामध्ये गत पुस १५ गतेसम्मका सबै छापिएर आएका उहाँले बताउनुभयो ।       छापिएर आएका चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अहिले सेवाग्राहीलाई वितरण गर्न थालिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । 

कास्की:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।       पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।       हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेकै बेला यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो ।  दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।        “पुरानो ढर्राबाट अब हुलाक सेवा चल्ने वाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, विस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने छु, मन्त्री गुरुङले भन्नुभयो–हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री सिक्न  जरुरी छ ।”      निर्देशनालयका प्रमुख कीर्तनराज पौडेलले पर्याप्त जनशक्ति र यातायातका साधनको अभावमा पनि हुलाकका कर्मचारीले सेवा प्रवाह गरिरहेका बताउनुभयो । नब्बे जनाको दरबन्दी भएको निर्देशनालयमा ४२ कर्मचारीबाट काम भइरहेको बताउनुभयो ।

पोखरा:    रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा निर्देशन कुमार चुल्याजु चयन भएका छन् । रोटरी क्लब अफ गण्डकीको २०२४/२५ को अध्यक्षमा चुल्याजु चयन भएका हुन् ।  क्लबको प्रेसिडेन्ट नोमिनीमा नवराज आचार्य, भाइस प्रेसिडेन्टमा डा. डिनेश कुमार विक, भाइस प्रेसिडेन्टमा कृष्ण प्रसाद तिमिल्सिना, सेक्रेटरीमा राजु कुमार पौडेल, ट्रिजरमा डा. सन्तोष कुमार विक, चेयर योङ जेनेरेशनमा कृष्ण बहादुर खड्का, चेयर मेम्बरसीपमा सिए अमित गडाल, चेयर द रोटरी फाउण्डेशनमा मनबहादुर विक, चेयर पब्लिक इमेजमा प्रकाश राज पौडेल रहेका छन् ।      यस्तै  चेयर सर्भिस प्रोजेक्टमा मनोज रसाइली, मेम्बरमा कमल विश्वकर्मा, मेम्बरमा सकुन्तला श्रेष्ठ, चेयर पब्लिक इमेजमा ई.लक्ष्मी प्रसाद शर्मा, कार्यकारी सेक्रेटरीमा गौतम सुनार, न्यू जेनेरेशन कोडिनेटरमा जीवन अधिकारी, भोकेसनल सर्भिस कोडिनेटरमा ज्ञानबहादुर नेपाली, इन्ट्याक्ट कोडिनेटर इन्द्र प्रसाद भुवाई रहेका छन् ।  यस्तै एक्टिभ मेम्बर डिल प्रसाद पोखरेल, एक्टिभ मेम्बर जिवन ढुङ्गाना, एक्टिभ मेम्बर हरी न्यौपाने, एक्टिभ मेम्बर डिल्लीराज पाण्डे, प्रोफेसर मेम्बर विजय थापा, प्रोफेसर मेम्बर विवेक काजी चुल्याजु, प्रोफेसर मेम्बर पोस राज पौडेल, प्रोफेसर मेम्बर अनिल खड्का, प्रोफेसर मेम्बर प्रविण विजुक्छे, प्रोफेसर मेम्बर शिव अधिकारी, प्रोफेसर मेम्बर रामचन्द्र रानाभाट र प्रोफेसर मेम्बर प्रमोद वाग्ले चयन भएका छन् ।   

बाजुरा:    अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।      पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले जानकारी दिनुभयो ।  तीस परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण सङ्कलन नभएको उहाँले बताउनुभयो । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।      पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  अहिलेसम्म उक्त टोली घटनास्थल पुगी नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।  पहिरोमा परी चारजना घाइते भएका र केही पशुचौपाया पुरिएको जानकारी आएको भन्दै प्रहरीको उद्धार टोली घटनास्थल पुगेपछि यकिन विवरण सङ्कलन गरिने उहाँले बताउनुभयो ।