काठमाडौं: ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पु¥याउनु भएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले आज यहाँ आयोजित समारोहमा उहाँलाई अभिनन्दन गर्नुभयो । ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उहाँ सफल हुनुभएको छ । न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा रुइत चिनिनुभएको अभिनन्नद पत्रमा उल्लेख छ । डा रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसक्नुभएको छ । सो अवसरमा सभामुख घिमिरेले हिमाली र पहाडी जिल्लाका रुपमा ताप्लेजुङ सौन्दर्य, मनमोहक र आकर्षणसहित विविधतायुक्त रहेको र अहिलेसम्म आइपुग्दा गरिबी र अभावका कारण पछि परेतापनि यसको भविश्य भने सुन्दर रहेको बताउनुभयो । “यो सुन्दर भविष्य निर्माण गर्ने ताप्लेजुङका जनताका प्रतिनिधित्व गर्ने संस्था र विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्व र राजनीतिक नेतृत्वबाट जिल्लालाई कसरी विकास र समृद्धिमा अघि डोहो¥याउने सफल हुनेछन्”, उहाँले भन्नुभयो । कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण गर्नुभएको थियो । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले देशका प्रमुख दुई राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिन सकियोस् भन्ने हेतुले काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “देशलाई धेरै प्रयोगशाला नबनाऔँ, यी दुई दल इतिहासका निर्मातासँगै एकआपसका प्रतिस्पर्धी पनि हुन्, लोकतन्त्र प्राप्ति, शान्ति प्रक्रिया, संविधान निर्माणलगायत इतिहासका कठिन मोडमा मुलुकलाई अग्रगमनमा लैजान योगदान दिएका दल हुन् ।” अस्थिर राजनीतिका कारण इतिहासको महत्वपूर्ण क्षणमा एक ठाउँमा आउनुपरेको उल्लेख गर्दै एमाले सांसद भट्टराईले वर्तमान सरकार गठन भएसँगै सकारात्मक सन्देश आमजनतामा गएकाले राष्ट्रिय आत्मविश्वास बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । ताप्लेजुङवासीका रुपमा डा रुइतले खेल्नुभएको भूमिकाका आधारमा उहाँ सम्मानित हुनुभएको प्रसङ्ग उल्लेख गर्दै सभामुख घिमिरेले डा रुइतको योगदान र व्यक्तित्व स्वदेशमा भन्दा विदेशमा उच्च रहेको बताउनुभयो । सम्मानित व्यक्तित्व डा रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पु¥याउन सरकार, संसद् र राजनीतिक दललाई सुझाव दिनुभयो । प्राडा सुरेन्द्र केसीले लोकतन्त्र जीवनपद्धति भएकाले समाजलाई सही दिशानिर्देश गर्न र राष्ट्रको गौरव बढाउन यसको मर्म र भावनाअनुसार राजनीतिक दल र सरकारले कार्य सम्पादन गर्नुपर्छ भन्नुभयो । सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले ताप्लेजुङको भाषा, संस्कृति, वेशभूषा, राजनीतिक, आर्थिक, सामाजिक पक्षलाई समेटेर प्रकाशित गरिएको पुस्तकको अध्ययनबाट सो क्षेत्रको इतिहासबारे बुझ्न र बुझाउन सहज हुने बताउनुभयो ।
पोखरा: पत्रकार सुरज थापामगर र बिनु थापामगरमाथि सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पत्रकार माथि सांघातिक आक्रमण गरेको आरोपमा पोखरा महानगरपालिका–१७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । घटनापश्चात फरार भएका १७ वर्षीय किशोरलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । यो पनि पढ्नुहोस फलोअप: पत्रकार सुरज र विनुमाथि सांघातिक आक्रमण गर्ने ४ जना पक्राउ गत आइतबार गण्डकी प्रदेशमा भएको यातायात व्यवसायीको आन्दोलनको रिपोर्टिङ गर्न पोखराको लखन चोक (पृथ्वीचोक) पुगेका पत्रकार बिनु थापामर र सुरज थापामाथि सांघातिक आक्रमण भएको थियो । घटनामा संग्लन पाँच जना गत आइतबार नै पक्राउ परेका थिए । ग २० प ३९७३ नम्बरको स्कूटरको पछाडी सवार बिनाकुमारीले क्यामेराबाट भिडियो खिच्दै गर्दा आन्दोलनरत समूहले पत्रकारमाथि सांघातिक आक्रमण गरेका थिए ।
बर्दिया: कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ । घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताउनुभयो । घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जङ्गल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा छ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीनवटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उहाँको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताउनुभयो । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता हुनुभएको थियो । गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो । पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सुनसरी: सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए । ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ: दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलाले आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चालकको उद्धार यसैबीच दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । बाढीले बगाएका तुलसीपुर–७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।
इलाम: इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा आज साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिनुभयो । मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् । विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ । उनीहरु दवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिनुभयो । मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तनहुँ: पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो । घर नजिकै बसेका बेला राति चितुवाको आक्रमणबाट १३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते उनलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले डेढ वर्षपछि बन्दीपुरमा पुनः चितुवा आक्रमण भएकाले स्थानीयवासी त्रसित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय चितुवा आतङ्क थिएन, डेढ वर्षपछि पुनःआक्रमण भएर बच्चाको मृत्यु भयो । स्थानीयवासी त्रसित छन् ।” साँझ र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराइएको थापाको भनाइ छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो । त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । यसैगरी विसं २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुपिम्र बगाले मगर, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा ११ वर्षीय विना चेपाङ र कात्तिक १५ व्यास नगरपालिका–१२ छिर्कनेमा पाँच वर्षीय अरविन कुँवरको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको सहायक वन अधिकृत पण्डितको भनाइ छ । चितुवाको आक्रमणबाट मृत्यु भएका प्रत्येकका परिवारलाई रु १० लाख राहत उपलब्ध गराउने प्रावधान रहेको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न उहाँले आग्रह गर्नुभएको छ ।

