काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाच...

पोखरा:     प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनुभएको हो ।        शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।”      प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ । “बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज हामी ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रुपमा मनाइरहेका छौ, यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बालबालिका तथा बालबालिका अभिभावकहरुलाई हार्दिक बधाई तथा शुभकामना”, उहाँले भन्नुभयो, “हामी ६०औँ बाल दिवस मनाइरहँदा बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन पाउन सकिरहेका छैनन् ।”      उहाँले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिनुभएको छ ।  “पोषणयुक्त खाना, न्यानो नाना, विद्यालय जाने र गुणस्तरीय शिक्षा पाउने अवसर, स्वस्थ्य रहन पाउने अधिकार उपलब्ध गराउनैपर्छ । बालविकास विभिन्न कार्यक्रम सञ्चालन भए पनि ती प्रभावकारी हुन सकेका छैनन्,” उहाँले भन्नुभयो ।      गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उहाँको भनाइ छ । “बालबालिका मानव जातिका भविष्य हुन् । हाम्रा तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो, “आमा बालबालिका लागि पहिलो गुरु हुन् । बालमैत्री वातावरण बनाइयोस् । बालबालिकालाई  माया गरौं । सही आचारण सिकाउँदै जानुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गर्नुपर्छ, उनिहरुलाई भविष्यको योग्य नागरिक बनाउन सक्छौँ ।”

पोखरा:    बागलुङको गल्कोट नगरपालिका वडा नं २ नरेठाँटीको भुङ्खानी भन्ने स्थानमा आज बिहान भएको जीप दुर्घटनाप्रति गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शोक व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री पाठकले तीन जनाको दुःखद निधन भएको र एक जना घाइते भएको खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् । उनले भनेका छन् – ‘उक्त दुर्घटनाबाट ज्यान गुमाउनुभएका गाउँपालिका उपाध्यक्षसहित ३ जना मृतकप्रति भावपूर्ण श्रदान्जली व्यक्त गर्दछु । यस दुःखद घटनामा परी परिवारका सदस्यको निधनबाट शोकमा पर्नुभएका आफन्तजनहरुप्रति हार्दिक समावेदना प्रकट गर्दछु । साथै, यस दुर्घटनावाट घाइते हुनुहुने वर्ष २९ का सवारी चालक प्रेमवहादुर पुनको हाल धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेकोमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ उनले यस दुःखद घटनामा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको तर्फवाट आवस्यक सहयोग र सहकार्यको लागी प्रतिवद्दतासहित सम्पूर्ण सरोकारवाला निकायमा आवश्यक सहयोगको लागि अपिल पनि गरेका छन् ।  

पोखरा:    गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त  भएकी छन् ।   शुक्रबार बसेको मन्त्री परिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको हो । भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् । रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थिए।   सर्ट लिष्टमा तीन जना परेका थिए ।

बैतडी:     वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।  यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो  ।   विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ ।       विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।”      नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या  भएको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब  मुख्य फेडरबाट लाइन चलिरहेको छैन । लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।”      यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ ।       लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।”

रुकुम पश्चिम:   रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ ।  आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।       मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ ।  गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभयो ।       उहाँका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । आज बिहान रा१झ २०० नम्बरको गाडी सडकदेखि तीन सय मिटर तल खेसेको थियो । दुई महिलाको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो भने एक पुरुषको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो ।       उक्त गाडी काठमाडौँबाट रुकुमपूर्व आउने क्रममा बागलुङको गलकोट–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण गाउँपालिकाले नसोचको क्षति बेहोर्नुपरेको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।       “सुरुमा घटना भएको खबर मात्र थाहा भएको थियो, त्यसपश्चात् पालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना प¥र्यो भन्ने खबर पायौँ सामान्य दुर्घटना होला घाइते हुनुभएको होला भन्ने लागेको थियो, केहीबेरमा मृत्युको खबर प्राप्त गर्यौं, हामी स्तब्ध भएका छौँ, पालिकालाई अतुलनीय क्षति पुगेको छ”, उहाँले भन्नुभयो ।       अहिले अध्यक्ष घर्तीसहित गाउँपालिको टोली घटनास्थल गएको छ । बागलुङको बुर्तिवाङ पुगेको र दुई÷तीन घण्टामा घटनास्थल पुगिने गाउँपालिका अध्यक्ष घर्र्तीले जानकारी दिनुभयो । घटनास्थल पुगेपश्चात् शव रुकुमपूर्व नै ल्याइने उहाँले बताउनुभयो ।

काठमाडौं:   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।      उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराउनुभयो ।       मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।       उहाँले भन्नुभयो, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ, यसका लागि नेपाल सरकार तत्पर छ ।”      जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उहाँले बताउनुभयो ।       राजदूत चन्दाले जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि नेपाली रु ६० हजार करोड बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।  उहाँले भन्नुभयो, “नेपालमा पनि खानी र खनिजको सम्भावना अत्यन्त राम्रो छ, छिट्टै जाम्बिया र नेपालका दुवै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर सहयोग आदानप्रदान गर्नुपर्छ ।”      सो क्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।  साथै उक्त अवसरमा मन्त्रालयका द्विपक्षीय व्यापार महाशाखा प्रमुख एवं प्रवक्ता बाबुराम अधिकारी र बहुपक्षीय व्यापार महाशाखा प्रमुख देवराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो । 

काठमाडौं:   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।   यो पनि पढ्नुहोस   बागलुङ जीप दुर्घटना अपडेट: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी निधन भएको खबरले स्तब्ध भएको बताउनुभएको छ ।  अध्यक्ष दाहालले मृतक तीनैजनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ ।      ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।       उहाँका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो ।  पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।  यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो । 

सुर्खेत:     खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।  उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।  सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।  कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च  मागलाई ध्यान दिएर  यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ । सल्ल्यानमा  कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो । अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन उहाँले बताउनुभयो ।