काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाच...

काठमाडौं:   गृहसचिव गोकर्णमणि दुवाडीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिबिधिका बारेमा जानकारी लिनुभएको छ ।  सो अवसरमा उहाँले सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायत देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनको समस्या तथा चुनौतीका बारेमा जानकारी लिनुभएको थियो ।  सोही अवसरमा गृहसचिव दुवाडीले सशस्त्र प्रहरील स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको बताउनुभयो । उहाँले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूित दिलाउन सकेमा मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताउनुभयो ।      सशस्त्र प्रहरी बल नेपालमा श्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरुको सेवा, सुविधा र वृत्तिविकासमा मन्त्रालयको सदैव साथ रहने जनाउँदै उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिता र जवाफदेहितासहित थप प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो ।      कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दुवाडीबाट भएको निर्देशन लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू परिचालित कार्यक्षेत्रमा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका सम्पुूर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।      निरीक्षण भ्रमणकाक्रममा गृहसचिव दुवाडीले प्रधान कार्यालयमा रहेको बोर्डर रिसोर्स एण्ड रिसर्च सेन्टर, केन्द्रीय परिचालन कक्ष, एपिएफ म्युजियम र सशस्त्र प्रहरी बल नेपालद्धारा हाल प्रयोगमा ल्याइरहेका विपद् उद्धार सामाग्रीहरुको अवलोकन गर्नुभएको थियो ।कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम र वंशिराज दाहाल, गृह मन्त्रालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

काठमाडौं:     नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ ।      चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।”   यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो ।      ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारीखेती गरिएको थियो । त्यहाँका किसानले उत्पादन गरेका तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने विश्वास लिइएको छ ।  तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो ।       कतारमा नेपाली ताजा तरकारी निर्यात समारोहमा चीनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालको कृषि विकासमा महत्वपूर्ण पहल भएको बताइएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको कृषि प्रवद्र्धन कार्यक्रमद्वारा समर्थित किसानले खेती गरेका विभिन्न बाली समावेश भएका जनाइएको छ । आज कतार पठाइएका तरकारीमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन् ।       दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गर्दै कतारको बजारमा मनपर्ने नेपालका लागि कतारी राजदूत अन्सारीले बताउनुभयो ।  चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडि) नेपालको कार्यालय चीनबाट सफल ग्रामीण विकास अभ्यासलाई नेपाली समुदायमा हस्तान्तरण गर्न अग्रपङ्क्तिमा रहेको छ ।       नेपाली समुदायभित्र जीवनस्तर उकास्ने मुख्य लक्ष्यका साथ सिएफआरडिले सुरुमा प्लम्बिङ र इलेक्ट्रीशियनको व्यावसायिक तालिममार्फत सीप विकासमा ध्यान केन्द्रित गरेको जनाइएको थियो ।  यसैगरी २०२३ मा उक्त फाउन्डेसनले काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम प्रदान गरेर दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग गरेको आजको कार्यक्रममा जानकारी दिइएको थियो ।

काठमाडौं:   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।       आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज आयोजित सम्झौता कार्यक्रममा उहाँले भन्नुभयो, “हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार छ ।”      मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिनुभयो ।   उहाँले यो सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको सङ्केत गरेको उल्लेख गर्नुभयो ।      “यो नयाँ सूचना र प्रविधि उद्यमको स्थापनाको साक्षी हुँदा हामीले व्यापार सम्झौतामा हस्ताक्षर मात्र गर्दैनौ, हामी नेपाल र जापानबीच पुल निर्माण गरिरहेका छौं, प्रत्यक्ष वैदेशिक लगानीले आर्थिक वृद्धि, रोजगारी सृजना र प्रविधि तथा ज्ञानको हस्तान्तरणमा सहजिकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्छ, यसले विशेष गरी हाम्रो द्रुत गतिमा अन्तर्राष्ट्रिय लगानी र नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्ने नेपालको साझेदारी प्रतिबद्धतालाई मूर्त रूप दिन्छ”, मन्त्री भण्डारीले सो कार्यक्रममा सम्बोधनका क्रममा भन्नुभयो ।       आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत ९सीइओ० सतोशी सातोले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गर्नुभयो । दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।      आइजीसीका अध्यक्ष लामाले आजको कार्यक्रम केवल सम्झौतापत्रमा हस्ताक्षरको मात्र नभइ नेपाल र जापानबीच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा भएको बताउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्याउने बताउनुभयो ।      केइरिनकनका अध्यक्ष तथा सीईओ श्री सतोशी सातोले पनि यस संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभइ नेपाल र जापानबीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताउनुभयो । उहाँले यस साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो ।

गोरखा:    विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।      आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।      “सुरजकी जेठी श्रीमती रिता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको हो ।”      कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको भन्ने प्रहरीले सूचना पाएपछि आवश्यक समन्वय गरी विमानस्थलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । सुरजकी जेठी श्रीमती रिताले आफु हुँदाहुँदै श्रीमान्ले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिनुभएको थियो ।      “उजुरी परेपछि गत सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिएर सोही दिन पक्राउ गरी गोरखा ल्याइएको हो”, श्रेष्ठले भन्नुभयो । निजलाई आज अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरिने उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ ।      यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “सुरक्षा जाँचका क्रममा यात्रुले लगाएका खादा र माला नलगाउन आज एक सूचना जारी आग्रह गरेका छौँ, अन्य बेला लगाए पनि सुरक्षा जाँचका क्रममा खादा र माला झोलामा राख्नुपर्ने छ ।”      यसैगरी यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाडी जाने गर्नाले समेत विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर पुग्ने गरेको महाप्रबन्धक निरौलाको भनाइ छ । खादा र माला आफैसँग लैजानै परे यात्रुले झोलाभित्र राखेर लैजानसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

बागलुङ (गलकोट):   बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।      जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो ।       बेपत्ता अमृतालाई भारततर्फ लैजादै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरी प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको विद्यालयलका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिनुभयो । सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो । 

काठमाडौँ:    नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।   राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो ।   “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।”   सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सक्नेछन् ।       विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।   सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो ।        दसैँको मुखमा सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।   विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् ।   ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रँने तथा कुहिने अवस्था सिर्जना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हुने भन्दै राष्ट्र बैंकले चलनचल्तीकै सुकिलो र सफा नोट साट्न लागेको हो ।       चाडबाडका समयमा मुख्यतय: रु पाँच, १०, २०, ५० र १०० दरका नोटहरुको माग अत्यधिक हुने गरेको छ ।   साना दरका यस्ता नोटको होल्डिङ लागत न्यून हुनेहुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटहीगरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलनसमेत रहेको पाइन्छ ।   पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबारअनुरुप माग हुने गरेको छ ।       देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ ।   मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो । आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना मैला नोटहरु खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो ।   बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट विदेशमा हुने गरेको छ । नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुने भएकाले त्यसमा कमी ल्याउनका लागि पनि नोट सफा राखिराख्नु आवश्यक छ ।   चलन चल्तीमा गुणस्तरीय, विश्वस्त र सफा नोटमात्र चलन चल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरु प्रशोधन तथा जलान मार्फत चलन चल्तीबाट हटाउँदै लैजाने काम राष्ट्र बैंकले गर्दै आएको छ ।   बैंक तथा वित्तीय संस्थामा रहेका नोटलाई गुणस्तर हेरी वर्गीकरण गरेर राख्नुपर्ने व्यवस्था रहेको र यसलाई कार्यान्वयन गरे नगरेकोबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्ने गरेको सहायक प्रवक्ता पोखरेलले बताउनुभयो ।    झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषता नबुझिने वा बिग्रिनेगरी रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्वीर अङ्कित नोटलाई पुनःनिष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंक नष्ट गर्ने गरेको छ ।

काठमाडौं:   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताउनुभएको छ ।            भारतको नयाँ दिल्लीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उहाँले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताउनुभएको हो ।            पर्यटनमन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँ उक्त प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।                “हाम्रा अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिबद्धता स्पष्ट हुनेछ ।”            नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम ९युएसओएपी० कार्यान्वयनका विषयमा नेपालले सन् २०२२ मै विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गराउनुभयो ।            उहाँले भन्नुभयो, “सन् २०२२ को लेखापरिक्षणमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु । नेपालले ‘ग्लोबल एभियसन सेफ्टी प्लान’का मुख्य सिद्धान्तलाई ‘नेशनल सेफ्टी प्लान’मा सफलतापूर्वक एकीकृत गराइसकेको छ ।”            मन्त्री पाण्डेले सिकागो सम्मेलनको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले नेपालले सम्मेलनका सिद्धान्तलाई स्वीकार गरेको बताउनुभयो । उहाँले दुर्घटना अनुसन्धानको स्वतन्त्र जाँचबुझ गर्न स्थायी निकायको स्थापनाका लागि नयाँ कानुन निर्माणको काम अगाडि बढाइएको जानकारी दिनुभयो ।            उहाँले नेपालमा क्षेत्रीय अनुसन्धान तथा तालिम केन्द्रको स्थापना गर्नुका साथै एयर नेभिगेशन सर्भिस ९एएनएस०सँग सम्बन्धित खोजी तथा उद्धार, मौसमसम्बन्धी सेवा र एयर ट्राफिक फ्लो म्यानेजमेन्टजस्ता विषयमा भएका राम्रा प्रयासको प्रवद्र्धनका लागि संयुक्त रुपमा काम गर्न सकिने धारणा राख्नुभयो ।            नयाँ दिल्लीमा जारी दुईदिने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रुपमा आयोजना गरेको हो । एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले आयोजित सो सम्मेलन बिहीबार समापन हुने छ ।  समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा ।करिब ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

तनहुँ:    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको थियो । दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।  प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ । यसैगरी बसको पछाडिपट्टि बि ४६५० नम्बरको कार ठोक्किएको थियो ।  पुलबाट बस खस्दा ११ घाइते पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय अगाडिको पुलबाट आज बस खस्दा ११ जना घाइते भएका छन् ।  मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो ।  घाइतेहरू सबैलाई आँबुखैरेनी अस्पताल पु¥याइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यस ठाउँमा नयाँ र पुरानो दुई वटा पुल छन् । बीचमा ग्याप छ । बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ ।”