काठमाडौँ: पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिनुभयो । प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिन (जेठ २८– भदौ २२) सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको छ । गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए । विपद् प्रभावितको परिवारको सङ्ख्या भने छ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् । गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेलापरेको जानकारी गराइएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलीमिटर वर्षा भएको थियो ।
लमजुङ: पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौं, तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताउनुभयो । विगत तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी सो स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आउँदा यात्री समस्यामा पर्दै आएका छन् । मनाङवासी, बेँसीसहरलगायत स्थानीय, सङ्घीय राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरालगायत स्थानमा पुग्ने एकमात्र यस सडक बेँसीसहरबाट डुम्रे तनहुँसम्म ४२ किलोमिटरको दूरी रहेको छ ।
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ । विभागले आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही भागमा हुरीबतासको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
बाँके: इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन बनेको छ । बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् । “हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले भन्नुभयो, “उहाँको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।” मोहम्मद जयन्तीको अवसरमा आज बिहानैदेखि ¥याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिनुभयो । मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव (यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।
भरतपुर: नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो । आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैँया ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैँया १६ पैसा कायम गरिएको थियो । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार पाउण्ड स्टर्लिङको मूल्य एकको खरिददर एक सय ७५ रुपैँया ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ४८ पैसा कायम गरिएको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैँया ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ४४ पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैँया ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ८२ पैसा कायम गरिएको थियो । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ७८ पैसा र बिक्रीदर ९० रुपैँया १८ पैसा कायम भएको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ६५ पैसा र बिक्रीदर ९० रुपैँया पाँच पैसा कायम भएको थियो । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५८ पैसा र बिक्रीदर ९९ रुपैँया दुई पैसा कायम भएको छ । आइतबार क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५५ पैसा र बिक्रीदर ९८ रुपैँया ९९ पैसा थियो । सिङ्गापुर डलर एकको खरिददर आज एक सय तीन रुपैँया २० पैसा र बिक्रीदर एक सय तीन रुपैँया ६६ पैसा निर्धारण गरिएको छ । आइतबार सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैँया सात पैसा र बिक्रीदर एक सय तीन रुपैँया ५४ पैसा कायम भएको थियो । जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५६ पैसा कायम गरिएको थियो । चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८८ पैसा र बिक्रीदर १८ रुपैँया ९६ पैसा कायम भएको छ । सोही मूल्य आइतबार पनि कायम थियो । साउदी अरेबियन रियाल पनि आइतबारको मूल्यमा घटबढ भएन । आइतबारझैँ साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ६९ पैसा र बिक्रीदर ३५ रुपैँया ८५ पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैँया ७४ पैसा र बिक्रीदर ३६ रुपैँया ९० पैसा कायम भएको छ । यो मूल्य पनि आइतबारकै सरह हो । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ०३ पैसा र बिक्रीदर चार रुपैँया ०४ पैसा कायम भएको छ । आइतबार थाइ भाट एकको खरिददर चार रुपैँया एक पैसा र बिक्रीदर चार रुपैँया तीन पैसा कायम भएको थियो । युएई दिराम एकको खरिददर ३६ रुपैँया ४६ पैसा र बिक्रीदर ३६ रुपैँया ६३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम थियो । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १४ पैसा र बिक्रीदर ३१ रुपैँया २८ पैसा कायम भएको छ । मलेसियन रिङ्गेटको मूल्यमा सोमबार घटबढ भएन । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया सात पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको छ । आइतबार साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया आठ पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको थियो । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया ०९ पैसा र बिक्रीदर १३ रुपैँया १५ पैसा कायम भएको छ । आइतबार स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया छ पैसा र बिक्रीदर १३ रुपैँया १२ पैसा कायम भएको थियो । डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ८८ पैसा र बिक्रीदर १९ रुपैँया ९७ पैसा कायम भएको छ । आइतबार डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ९० पैसा र बिक्रीदर १९ रुपैँइा ९९ पैसा कायम भएको थियो । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया १७ पैसा र बिक्रीदर १७ रुपैँया २५ पैसा तोकेको छ । यो मुल्यमा पनि आज घटबढ भएन । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८९ कायम भएको थियो । बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९३ पैसा कायम थियो । राष्ट्र बैंकले भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
उदयपुर: उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागार्इंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए । राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध रु आठ अर्ब ४० करोड छ लाख ४९ हजार चार सय सात बराबरको बिगो मागदाबी गरिएको छ । आयोगले आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा कुल दुई सय एकवटा मुद्दा दर्ता गरेको छ । त्यसमा गैरकानुनी लाभ हानिसँग सम्बन्धित ५८, घूससँग सम्बन्धित ४८, नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीसँग सम्बन्धित ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ र विविध विषयका चारवटा छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०८०/८१० पेस गर्नुभएको थियो । आयोगले आफ्नो टङ्गालस्थित कार्यालय एवम् आयोग मातहतका कार्यालयहरू इटहरी, बर्दिबास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुर तथा बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट कार्यसम्पादन गर्दै आइरहेको छ । हाल आयोगमा कुल नौ सय ९० कर्मचारीको दरबन्दी रहेको छ । यस्तै, आयोगले ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धानसम्बन्धी अधिकारसमेत प्रत्यायोजन गरेको प्रतिवेदनमा उल्लेख छ । आयोगले भ्रष्टाचारसम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान तथा भ्रष्टाचार देखिएका उजुरीमाथि विशेष अदालतमा आरोपपत्र दायर गर्ने र सो अदालतबाट भएको फैसलाउपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्दै आएको छ । आव २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २६ हजार नौ सय १८ उजुरी प्राप्त भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३६ हजार एक सय ८६ रहेको छ । तीमध्ये ७६ दशमलव ५९ प्रतिशत उजुरी अर्थात् २७ हजार सात सय १४ उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्छ्यौट गरिएका छन् । सङ्घीय मामिलाको उजुरी सबैभन्दा बढी प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत छन् । यस्तै, शिक्षा (स्थानीय तहसमेत) १५ दशमलव ७९ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन छ दशमलव ९८, भूमि प्रशासन छ दशमलव ४९, नक्कली शैक्षिक प्रमाणपत्र चार दशमलव ७१, वन तथा वातावरण तीन दशमलव ८२, स्वास्थ्य तथा जनसङ्ख्या तीन दशमलव ६८, भौतिक पूर्वाधार तथा यातायात तीन दशमलव ६१, गृह प्रशासन तीन दशमलव ५२ प्रतिशत र अर्थतर्फ दुई दशमलव १३ प्रतिशत उजुरी छन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ दुई दशमलव १०, खानेपानी तथा सहरी विकास एक दशमलव ६१ र अन्य निकायरक्षेत्रसँग सम्बन्धित उजुरीहरू छ दशमलव ६५ प्रतिशत रहेका छन् । आयोगले कुलमध्ये नौ सय ३२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गरेको, १३ हजार पाँच सय उजुरी तामेलीमा राखिएको, चार सय ९६ उजुरीउपर सुझाव दिई तामेलीमा र १२ हजार सात सय ८६ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको जनाएको छ । आव २०८०/८१ मा एक हजार ५० वटा फाइलको विस्तृत अनुसन्धान सम्पन्न गरी आयोगमा पेस भएकामा कुल ८६ वटा बैठक बसी दुई सय एकवटा मुद्दा दायर गर्ने निर्णय गरिएका थिए । विभिन्न विषयमा एक हजार दुई सय ९४ वटा निर्णय भएका प्रतिवेनमा उल्लेख छ । आयोगका प्रवक्ता नरहरि घिमिरेकानुसार प्रतिवादी बनाएकामध्ये सरकारी कर्मचारी पाँच सय २०, निर्वाचित जनप्रतिनिधि एक सय छ, मनोनीत पदाधिकारी एक सय ४८, राजनीतिक नियुक्ति ३२, लेखापढी व्यवसायी, विचौलिया, सङ्घसंस्था र अन्य व्यक्तिहरू सात सय ३९ जना छन् । यस्तै, सरकारी कर्मचारीमध्ये विशिष्ट श्रेणीका छ, सहसचिव वा सो सरहका ३०, उपसचिव ८२, शाखा अधिकृत दुई सय दुई र सहायक स्तरका दुई सय जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

