काभ्रे: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पञ्चवर्षिय परिलक्ष्य सहित एक दिने कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ ।  महासंघले आर्थिक सामाजिक समृद्धिको आधार, स्वदेशी रत्न आभुषणको विस्तार” भन्ने मूल...

काठमाडौं:     तेस्रो लगानी सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचनण्डले शुभारम्भ गर्नुभएको हो । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता हुनेछ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । १० सत्रमा सञ्चालन हुने सम्मेलनमा पचासभन्दा बढी वक्ता रहने वोर्डले जनाएको छ ।

काठमाडौं:    जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो । जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री कामीकावा वैशाख २३ गते काठमाडौँ आइपुग्ने छिन् ।   विदेशमन्त्री कामीकावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूतावासले जनाएको छ ।

इलाम:     इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना हुनेछ । वडागत रुपमा १ नम्बर वडाबाट मतगणना सुरु गरिने छ । जसमा फाकफोकथुमबाट सुरु गरी क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति भएको छ । सर्वदलीय सहमतिअनुसार एउटा वडाको मत गनिसकेपछि परिणाम सार्वजनिक गरिने छ । मत गणनामा इलाम क्षत्र नम्बर २ का मतदाता मात्र उम्मेदवारको प्रतिनिधि बस्न पाउने छन् । इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।

गुल्मी:     गुल्मीमा गएराती मलामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।  गएराती जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–४ मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणी बाट मलामी लिएर लिम्घा तर्फ फर्कीने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यस बहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्ष पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी घाइते भएका छन् । ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना, चालक जिल्ला गुल्मी सत्यवती गा.पा.४ लिम्घा बस्ने २९ वर्षका शंकर बि।क घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ४ जनालाई थप उपचारको लागी पाल्पा पठाइएको छ । अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ । घाइते मध्ये केहिको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप ब्रेक फेल भई सडकदेखी अन्दाजी ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । जीपमा १३ जना सवार रहेका थिए । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खत्रीको कमाण्डमा ट्राफिक सहित ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:     मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी(का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरा:   बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । बागलुङबाट तनहुँ जाँदै गरेको गरेको ग १ ख ९२९७ नम्बरको बस आज (शनिबार) साँझ ७ः३० बजे अनियन्त्रित भई पोखरा महानगर–२५ हेमजामा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  बस दुर्घटना हुँदा बसमा सवार ३६ जना यात्रु मध्य १६जना यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक नीलबहादुर खड्काले जानकारी दिए ।  घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  तनहुँबाट बागलुङको पञ्चकोटका लागि गएको बस बागलुङबाट फर्किने क्रममा दुर्घटना भएको  जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।    सच्चाइएको: बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं । 

इलाम:    इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।  मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिए ।  अहिले मतपेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले बताए । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो । मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए ।  मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिनेछ । मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल)मा हुनेछ । वि.सं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गरेका थिए ।  एमाले र काँग्रेसजस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता भर्खर जन्मिएका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवार समेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैँक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो ।   सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताउनुभयो ।   उहाँले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिनुभयो ।   भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।

काठमाडौंः    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् ।   यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिनुभएको हो ।   त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौंमा बस्नेछ ।   यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलोपटक हो । यसअघि उक्त बैठक थाइल्याण्डको राजधानी बैँककमा बस्ने गरेको थियो ।   बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि आउनुहुनेछ । त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।   यस्तै विग्नाराजासहितको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रको भ्रमणमा जानेछ । त्यहाँ इम्जा ताल निरीषण गर्ने कार्यक्रम छ ।   यूएनडीपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त जोखिम घटाएको थियो । तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि यूएनडीपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराई बढाएको थियो ।