वर्षायामसँगै सुनसान बन्दै अन्नपूर्ण पदमार्ग

पाेखरा | असार २८, २०८०

वर्षायामसँगै सुनसान बन्दै अन्नपूर्ण पदमार्ग

पाेखरा:      विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउण्ड अन्नपूर्ण क्षेत्र वर्षायामसँगै सुनसान बन्दै गएको छ ।


तीन साताअघिसम्म पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या ह्वात्तै घटेको स्थानीय व्यवसायीहरु बताउँछन् । केही हप्ताअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बनेको पर्यटन व्यवसायी दुर्गादेवी भण्डारीले बताउनुभयो ।


कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात फस्टाउन थालेको पर्यटन क्षेत्र पुनःवर्षायाम सँगै समस्यामा परेको हो । विदेशी पर्यटक यतिबेला फाट्टफुट्ट आउने गरेको भण्डारीले बताउनुभयो ।

 


व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनःपर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश भएको उहाँको भनाइ छ । अब ‘अफसिजन’ सुरु भयो भण्डारीले भन्नुभयो, “भदौ अन्तिम सातादेखि पुनःचहलपहल सुरु हुन्छ ।”


यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँ पुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घारेपानी–मुस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका वि
भिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् ।


बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका प्रमुख युक्त गुरुङले जानकारी दिनुभयो ।

 


पर्यटक नआउँदा पर्यटन व्यवसायीमात्र नभई आफू पनि फुर्सदिलो बन्न पुगेको पर्यटक प्रहरी शन्तलाल कोहारले बताउनुभयो । बर्खा लागेसँगै पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । एक जना पर्यटकले कम्तीमा पाँच दिनदेखि बढीमा १४ दिनसम्म यस क्षेत्रमा बिताउने तथा दैनिक पाँच सय डलरभन्दा बढी खर्च गर्ने गरेको पर्यटक गाइड पासाङ दावा शेर्पाले बताउनुभयो ।


बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण मानिने यस क्षेत्रमा कोरोना सङ्क्रमणपछि यस वर्ष बढी पर्यटकको चहलपहल बढेको थियो । भर्खरै मात्र पर्यटक आउन सुरु गरे पनि पुनःवर्ष सुरु भएपछि भने सुनसान बनेको र व्यापार व्यवसाय पनि ह्वात्तै घटेकोे व्यवसायी कमला गुरुङ बताउनुहुन्छ ।


राउण्ड अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार रहेको नयाँपुलबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक कास्कीको घान्द्रुक, म्याग्दीको घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रमा जाने गरेका छन् । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटक आउने गर्दछन् ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्