मल र मजदुर अभावमा कृषकलाई समस्या
म्याग्दी | असार १, २०७९
म्याग्दी : म्याग्दीमा मल र मजदुर नपाउँदा यहाँका कृषकलाई धानबाली लगाउन समस्या भएको छ । प्रमुख खाद्यबाली धान लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषक चिन्तित भएका हुन् । उच्च पहाडी र सिँचाइको सुविधा पुगेको क्षेत्रमा जेठको अन्तिम सातादेखि धान रोपाइ शुरु भएको छ ।
मल अभावमा यसपाली मकै र धानको उत्पादन प्रभावित हुने मंगला गाउँपालिका–२ का कृषक रामकुमारी खत्रीले चिन्ता गर्नुभयो । “मकैमा रासायनिक मल हाल्न पाइएन”, उहाँले भन्नुभयो “धान रोप्ने समय भएपनि मल नपाउँदा उत्पादन घट्ने चिन्ता छ ।”
गाउँमा युवा जनशक्ति नहुँदा धान लगायत खेतीबाली लगाउन मजदुर अभावको समस्या देखिएको छ । अर्म, पर्म जस्ता खेतीबाली लगाउने गरिने सामाजिक परम्परा हराउँदै गएको मंगला–५ का मनबहादुर मगरले बताउनुभयो ।
“मजदुर पाइन छाडेपछि समथर फाँटमा गोरुको विकल्पमा ट्रयाक्टर र मिनिट्रेलरले खेतबारी खनजोत गर्न थालेका छौ”, उहाँले भन्नुभयो “खेतीबाली लगाउन र भित्र्याउन मजदुर नपाएर दुःख हुन थाल्यो ।” मजदुरलाई ज्याला दिएर लगाएको खेतीबाली मल अभाव, असिना, रोगकिराले उत्पादन बढाउन चुनौती भएको कृषक मगरको भनाइ छ ।
म्याग्दीको रणवाङ, छिसवाङ, पिपलबोट, घतान, पिप्ले, भगवती, घार, बरञ्जा, देविस्थान, ताकम लगायतका ठाउँका कृषक धानबाली लगाउन मलको प्रतिक्षामा छन् । धानसँगै बारीमा कोदो रोप्न थालेका छन् ।
तीन हजार ८८५ हेक्टरमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । नियमित वर्षा भएकाले सिँचाइ सुविधा पुगेको र पहाडी क्षेत्रमा कृषक धान रोपाइमा जुटेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताउनुभयो । वर्षा नियमित भएकाले कृषकलाई धान रोप्न सजिलो भएको उहाँको भनाइ छ ।
म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

