' एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छौं'

काठमाडाैं | जेठ ४, २०८०

' एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छौं'

काठमाडौं:   प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्न सोध्ने र जवाफ दिनेक्रम सुरु भएको छ। 

 

बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २० जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ दिनुभएको छ। 

 

बैठकमा ईश्वरीदेवी न्यौपाने, पदम गिरी, पूर्णबहादुर घर्ती, शिशिर खनाल, ज्ञानबहादुर शाही, दीपक कार्की,  शेरबहादुर कुँवर, अनिता देवी, सर्वेन्द्रनाथ शुक्ल,  गंगाराम चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभू साह, डा अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, दीपक गिरी, रघुजी पन्त, दिलेन्द्रप्रसाद बडू, विद्या भट्टराई, रामहरि खतिवडाले प्रश्न सोधेका छन् । 

 

 बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन्, छिटो नागरिकता दिनेगरी व्यवस्था गर्न सकिन्छ कि सकिन्न भनी गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहनुभएकाले समस्या समाधान हुने आशा गरिएको बताएका छन्।   

 

 नागरिकतासम्बन्धी उक्त विधेयक मृत भन्ने तर्कलाई लिने अवस्थामा पनि पुनः शून्यबाट सदनमा प्रक्रिया सुरु गरी एक महिनाभित्र समाधान गरिने उनको प्रतिबद्धता थियोे। प्रम नियुक्त हुँदा छ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनी दाहालले बोलेको विषय पनि सांसदहरुले स्मरण गराएका थिए। 

 

भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही 

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छने र दोषी कोही उम्कन नपाओस्, निर्दोष कोही नपरोस् भन्ने भावनाले सरकारले काम गरिरहेको उनले बताए।

 

 “स्वतन्त्र र निष्पक्षरुपमा सरकारले छानबिन गरिरहेको छ, अपराधीलाई कानुनको दायरामा ल्याउने काम भएको छ, यस विषयमा दृढतापूर्वक छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छु, शरणार्थी प्रकरण देशकै निम्ति गम्भीर र संवेदनशील विषय बनेकाले यसमा संलग्न कसैलाई पनि माफी दिइने छैन”, प्रधानमन्त्री प्रचण्डले भने। 

 

प्रधानमन्त्री प्रचण्डले मौसमी प्रणालीमा आधारित कृषि रहेकाले समयमै मल, बीउ उपलब्ध गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् र  यस वर्षको नीति कार्यक्रम र बजेटमा पनि कृषिलाई प्राथमिकता दिइने उनको प्रतिबद्धता छ।

 

जनमत पार्टीका तर्फबाट निर्वाचित सांसद अनिता देवीले धानको बीउ छर्ने बेला भइसक्यो, मल र बीउ एकैपटक पाइन्छ कि पाइन्न ? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले मल कारखाना खोल्नेलगायत कार्यक्रमलाई आगामी वर्ष प्राथमिकतामा राखिएको बताएका थिए।

 


भ्रष्टाचारमा सरकारको शून्य सहनशीलता

प्रम दाहालले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताएका छन्। शरणार्थी प्रकरणमात्र होइन, सम्पत्ति शुद्धीकरणका ठूला घटनालगायत अन्य ठूला प्रकरणका बारेमा आवश्यक परेमा कानुन संशोधन गरेर पनि कारबाही हुने प्रतिबद्धता उनले जनाए । 

 

सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रष्टाचारविरुद्धका काम कारबाही फलदायीरुपमा अघि बढ्न सकेको छैन रु यसमा सरकारको कार्यक्रम के छ ? भन्ने प्रश्नको जवाफमा “अहिलेको अवस्थालाई सच्याउने अवसरका रुपमा सबै दल लाग्नुपर्ने अवस्थामा हामी छौँ, देशमा सुशासनका लागि यो अवसरलाई गुम्न दिनुहुन्न”, प्रम प्रचण्डले भने।

 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ

प्रधानमन्त्री प्रचण्डले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको बताउएका छन्। सांसद गङ्गाराम चौधरीले विसं २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पहिचानसहितको अधिकार माग गर्दा घुसपैठ गरी हिंसा गराइएकाले न्याय भयो त , रेशम चौधरीलगायत अन्यायमा परेका विषयमा सरकारले के गर्छ ,  भनी गर्नुभएको प्रश्नमा उक्त जवाफ दिएका हुन। 

 

सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश किन कार्यान्वयन भएन , किन बाधा, अड्चन आयो ? भनी उहाँले प्रश्न राखेका थिए। टीकापुरलगायत पहिचानका लागि भएका अन्य आन्दोलनमा संलग्न बन्दीलाई रिहा गर्न विधेयक तयार भएको जवाफ प्रधानमन्त्री दाहालले दिए। रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट नै सरकारले काम गरिरहेको उनको भनाइ छ । 

 

 प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीले पहिले भारतबाटै भ्रमण गर्नुपर्ने बाध्यता नभएको स्पष्ट गर्नुभएको छ। सांसद चित्रबहादुर केसीले नेपाली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के छ ? भनी गर्नुभएको प्रश्नको जवाफमा उनले यस्तो उत्तर दिएका हुन।

 

 सांसद प्रभु साहले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको सङ्ख्या कति छ , उनीहरुको सम्पत्ति के भएको छ , भन्ने प्रश्नको जवाफमा प्रम दाहालले नेपालबाट सम्पत्ति बेचेर विदेश लैजान नपाइने बताए। 

 

 गौरलगायत विभत्स हत्याकाण्ड र दरबारबार हत्याकाण्डको पनि नयाँ शिराबाट छानविन हुनुपर्छ भनी सरकार लागेको प्रधानमन्त्री दाहालले बताए। गौर हत्याकाण्डको छानबिनमा के काम के भइरहेको छ ,भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हृन। मदनआश्रित हत्याकाण्डको पनि फेरि छानविन गरिनुपर्नेमा उनको जोड छ। सांसद अमरेशकुमार सिंहले विभिन्न भ्रष्टाचार काण्डको छानविन कहिलेदेखि सुरु हुन्छ , नेपालीले मल, बीउ समयमै कहिले पाउँछन् ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन।

 

 सांसद योगेन्द्र मण्डलले छ महिनाभित्र नागरिकता दिने प्रधानमन्त्रीको भनाइमा कसरी विश्वास गर्ने , भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधि सभाको  बैठकमा प्रधानमन्त्री प्रचण्डले बैठकमा प्रश्नोत्तर कार्यक्रममा नियम निलम्बन गर्नुपर्ने अवस्था नमिठो लागे पनि सर्वसम्मत भएकामा खुसी लागेको बताउछन्। संसद्‍मा प्रश्न–उत्तर प्रारम्भ गर्न सहमति जुटाउनका लागि झण्डै दुई घण्टा समय लागेको थियो।  रासस  

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्