एकै मञ्चमा सरुभक्त र तीर्थ
पाेखरा | चैत १२, २०७९

गण्डकी: कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किनुभयो । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो ।
‘दौँतरी’ नाम दिइएको कार्यक्रममा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाउनुभयो । सरुभक्तले ‘सपनाले सिसौको बोटमा आत्महत्या गर्दैछ’, ‘चट्टानहरु’, ‘एक किलो अक्षर’, ‘बम खसेको पहाड’ बाटलगायत कविता सुनाउनुभयो ।
तीर्थले ‘हिउँमा लेखिएका नामहरु’, ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’, ‘मातेको बेला’आदि प्रस्तुत गर्नुभयो । सरुभक्तले तीर्थको कविता ‘आमा’ वाचन गर्नुभयो । तीर्थले सुरुभक्तको ‘कसरी नाम दिउँ म तिमीलाई’ सुनाउनुभयो ।
कविता पाठसँगै दुवैले सिर्जन–कर्मका अन्तरकुन्तर पनि खोल्नुभयो । विगततिर फर्किएर आफ्नै कविताका रचना गर्भ कोट्याए । उमेरले चार वर्षले तलमाथि भए पनि सुरुभक्त र तीर्थ पोखराका साहित्यिक दौँतरी हुनुहुन्छ । विसं २०१२ सरुभक्त र २०१६ तीर्थको जन्म वर्ष हो ।
उहाँहरुको मित्रता भने ४५ वर्ष लामो छ । विसं २०३५ देखि तीर्थ र आफूबीच सङ्गत सुरु भएको सरुभक्तले बताउनुभयो । ‘हिउँमा लेखिएका नामहरु’ कविता सुनाउँदै कवि तीर्थले सो कवितालाई सरुभक्तसँगको सम्बन्धको ‘स्मारक’का रुपमा अथ्र्याउनुभयो ।
सरभक्तले पनि तीर्थको उक्त कवितालाई आफूहरुबीचको मित्रताको निशानीका रुपमा लिनुभयो । सरुभक्तसँगै विसं २०५५ तिर पञ्चासे–भञ्ज्याङ पुगेर फर्केपछि तीर्थले उक्त कविता लेख्नुभएको थियो ।
“पञ्चासेबाट फर्किँदा हिउँले बाटो सेताम्मे भएको थियो, गाउँलेले टेक्न दिएको लौरोले हिउँमा सुरुभक्तको नाम लेखेँ”, तीर्थले भन्नुभयो, “त्यो यात्राले कविता जन्मायो, कविता लेख्नै मलाई छ महिना लाग्यो ।” कवि तीर्थको उक्त कवितालाई छोटो तर शक्तिशाली मानिन्छ । साहित्यिक मञ्चमा उहाँले सुनाइरहने कवितामा पर्छ- ‘हिउँमा लेखिएका नामहरु’ ।
हिउँमा रमाउँदै पञ्चासेबाट फर्कँदाको तस्बिर अझै पनि आफूसँग सुरक्षित रहेको सुरुभक्तले बताउनुभयो । संरक्षण कविता आन्दोलनताका आफूसँगै तीर्थ, विक्रम गुरुङ र अनिल रञ्चितकार पञ्चासे पुगेको उहाँले सम्झनुभयो । सुरुभक्तले तीर्थसँगको मित्रताबारे पोखराबाहिर पनि चर्चा हुने गरेको बताउनुभयो । “कुनै विषयमा सहमति–असहमति हुनु बेग्लै कुरा भयो, नत्र हामीबीच जहिल्यै निःस्वार्थ र हार्दिक सम्बन्ध छ”, उहाँले भन्नुभयो ।
कवि तीर्थले सुरुभक्तसँग भेट भएपछि जीवनमा धेरै कुरा भेटिएको बताउनुभयो । पोखरेली युवा सांस्कृतिक परिवारलाई आकार दिनेदेखि कैँयन साहित्यिक अभियान र सिर्जनात्मक काममा आफूहरु सँगसँगै रहेको उहाँले उल्लेख गर्नुभयो ।
पोखरेली वाङ्मयिक जगतमा सरुभक्त र तीर्थ पर्यायवाची जस्तै हुनुहुन्छ । दुवै पोखरामा रहेर पनि राष्ट्रियस्तरमा छवि उठाएका प्रतिभा हुनुहुन्छ । दुई घण्टा बढी चलेको कार्यक्रमको सहजीकरण सङ्घका अध्यक्ष डा ईश्वरमणि अधिकारीले गर्नुभएको थियो ।
‘दौँतरी’ शृङ्खलाको शुभारम्भ दुई प्रसिद्ध कविबाट गर्न पाउँदा गौरवको अनुभूति भएको अध्यक्ष अधिकारीले बताउनुभयो । ‘दौँतरी’को आउँदो भागमा दुई मुक्तककारलाई प्रस्तुत गर्ने सङ्घको तयारी छ । “वर्षमा दुई वटा शृङ्खला चलाउने सोचिरहेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।
RSS
पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता वि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध स...